s

अर्की कुमारी आमाको कथा

होम कार्की

लेबनानको राजधानी बेरुतस्थित कारितासको सेल्टरमा ३० बषिर्य गर्भवती नेपालीका बिषयमा केही अघि एकजना त्यही रहेकी नेपालीले बताएकी थिइन् । खत्री आफै श्रीमानको मृत्यु भएको बर्ष दिन बितिसक्दा पनि घर जान पाएकी थिइनन् । 

दुबै जना उद्धारको पखाईमा थिए । लेबनानमा भेट्न नसकिए पनि ती ३० वर्षीयासँग एक बिहान काठमाडौंको सेल्टरमा भेट भयो । 'आफ्नै खुट्टामा उभिन' विदेशिएकी उनी जटिल भबिश्य रोज्दै स्वदेश फर्केकी छिन् । चार महिने छोरीलाई लिएर आएकी उनले 'कुमारी आमाको कथा' सुनाइन् ।

सात दिदीबहिनीमध्ये म अन्तरीमा पर्छु । पाँच दिदी र एक बहिनीको बिबाह भइसक्यो । बिकट गाँउमा जन्मेकोले पढ्न पाइएन । बाख्राभैसीको पछाडि झुन्डिदै समय बित्यो । ठुलो परिवार भएकोले अभाव थियो । सानै उमेरमा गलैचा बुन्न काठमाडौं आएँ । पहिलो महिना पाँच सय रुपैया ज्याला पाएँ । सीप बढ्दै गएकोले ज्याला पनि ६ सय, ७ सय हुदै १५ सय पुग्यो । कान्छी बहिनीलाई पनि ल्याएँ । जान्ने भएपछि ठेकेदारसँग तान मागेर आफैले ठेक्का लिएर काम थालेँ । महिनामा ९/१० हजार कमाइन्थ्यो ।

११ बर्ष गलैंचामा जीवन बितेको पत्तै पाइएन । घरमा बिहेको कुरो चल्न थाल्यो । बुबाले मेरो फोटो देखाई पुङ पनि खाइसक्नु भएछ । हाम्रो रितिरिबाज अनुुसार पुङ खानु भनेको छोरी दिन राजी हुनु हो । त्यतिखेर माओवादीको बिगबिगी थियो । बुबाले केटालाई काठमाडौं लिएर आउनुभयो । 'मैले यो केटाको तर्फबाट पुङ खाइसकेको छु । अब यिनीसँग बिहे गर्नुपर्छ । यो माओवादीको मान्छे हो । नमान्दा गार्‍हो हुन्छ,' भन्नु भयो । मैले मानिनँ । घरबाट 'बिहे गर्न घर आउ' भनी लगातार चिठीपत्र आयो । मैले बिहे गर्न मानिन भनेर त्यो केटाले मेरो दाईलाई पिटेछ । तर पनि म मानिनँ ।

केही महिनापछि फेरी मामा छोरोले बिहेको प्रस्ताब लिएर आयो । आफ्नो हक लाग्ने भन्दै उसले जसरी पनि लैजाने ढिपी कस्यो । मैले फेरि मानिनँ । एकदिन त पत्तै नदिई घरमा जन्ती लिएर आयो । बिहे नगर्ने मेरो ढिप्पीले कान्छी बहिनीलाई दिएर पठायौं ।

फेरी त्यस्तै पुङ बुबाले खाइदिनुभयो भने अर्को आपत आइपर्छ भनेर बिदेश जाने योजना बनाएँ । धेरै साथीसंगिनी घरको काम गर्न बिदेश गइरहेका थिए । यसमा काकाले साथ दिनुभयो । पासपोर्ट बनाएँ । म्यानपावर कम्पनीलाई २५ हजार रुपैया र फोटो दिएँ । फोटो पठाएको केही दिनमा घरको काम गर्न लेबनान जाने पक्का भयो । त्रिभुबन बिमानस्थलबाट लेबनानका लागि उडेँ । घरमालिक्नी र उसको छोरो लिन आएका रहेछन् । उनीहरुको गाडीमा चढेर गएँ ।

गाउँमा जन्मे हुर्केकी म लेबनानको राजधानी पुग्दा दंग परेँ । अग्ला घर, फराकिलो बाटो-पुल, सुन्दर शहर हेर्दा हेर्दै घर पुगियो । एकातिर अनौठो लागिरहेको थियो भने अर्कोतिर मनमा डर पनि त्यतिकै थियो । घरमा मसहित चार जना थियौँ । कार्यकालिका बन्यो, बिहान ९ बजे पसलको सरसफाई, त्यसपछि १२ बजेभित्र घरको सरसफाई । त्यसबाहेक छोरीको घर पनि भ्याउनुपथ्र्यो । काम गर्ने समय निश्चित भएन । शरीरलाई मेसिन जसरी चलाउनुपर्ने । भाषा नबुझ्दा झन समस्या । उसले भनेको मैले नुबझ्ने, मैले भनेको उसले नबुझ्ने । अर्कोतर्फ कामको लोड त्यतिकै । तलब भने एकसय डलर -सम्झौता गरेको भन्दा ५० डलर कम) । जत्ति घोटिदा पनि चित्त बुझाउन सकिनँ । चार/चार वटा घरमा काम गर्थेँ तर स्वाबासीको बदला पिटाइ खानुपर्थ्यो । घरमालिक्नी र उसकी छोरीबाट बारम्बार पिटिएँ  ।

एकातिर दुईजनाको सहन नसक्ने गाली र पिटाई हुन्थ्यो भने अर्कोतिर साहु र उसको छोराले  एकान्त पाउने बित्तिकै बक्रदृष्टि लगाइहाल्ने । एकदिन मैले भनेँ, 'तिमीहरुबाट म पीडित छु । जर्बजस्ती गर्न खोज्यौ भने बलात्कार गरेको भनेर प्रहरीमा जान्छु । चाहे मेरो ज्यान किन नजाओस् ।'

त्यसरी थर्काएपछि बा-छोरा पछि हटे । तर घरमालिक्नीबाट पिटिने क्रम भने धेरै बढेपछि प्रहरीमा उजुरी दिएँ । दुईपटकसम्म प्रहरीले उनीहरुलाई थानामा लिएर गए । त्यहाँबाट फर्केपछि झन पिटाइ खान्थेँ । नियम झन कडा हुन्थ्यो । साह्रै भएपछि कहिलेकाहीँ म पनि प्रतिकारमा हात उठाउथेँ । ममाथि भइरहेको यातनाको बिषयमा काकालाई बारम्बार जानकारी दिदै उद्धार गरिदिन अनुरोध गर्थेँ  । तर उनले पनि वास्तै गरेनन् । घरबाट फोन आए पनि मैले कुरा गर्न पाउन्नथेँ । फोन गरेको थाहा पाएर घरमालिक्नीले सबै फोन नम्बर च्यातिदिएकी थिई ।

लेबनानमा रहेका एकजना नेपालीलाई पनि मेरो अबस्थाबारे जानकारी दिन सकिनँ । नेपाली कन्सुलरबारे थाहा थिएन । जतिसुकै पिटाइ खाए पनि घर नछाड्नेमा दृढ थिएँ । तर केही लागेन । पिटाईले यति हद नाघ्यो कि मलाई उनीहरु कोठामा थुनेर राख्न थाले । एकदिन कोही नभएको मौकामा मिलाएर राखेको सामान भातङभुतुङ बनाइदिएँ र चार तलामाथिबाट पाइपको साहरा लिई भागेँ । सोचेँ, 'यसै जीवन बिगि्रयो, त्यसै बिगि्रयो । बाँचे नेपाल पुगिन्छ, मरे यहीँ मरिन्छ । एकदुई दिन बाआमा रुनुहोला । त्यसपछि सबै बिर्सिहालिन्छ ।'

लेबनान पुगेको १५ महिना त्यस घरमा कष्टकर रुपमा बिताएँ । काम गरेको नौ महिनाको तलब (१४ सय ५० अमेरिकी डलर) पाइनँ । प्रहरी थानामा गएर नेपाल जान्छु भनेर भागेकी भन्ने बयान दिएँ । साथमा पासपोर्ट थिएन । बाटोमा एकजना इथोपिएन केटी भेटेँ । आफु पनि भागेर बाहिर काम गर्दै आएकोले आफुसित हिड्न उनले अनुरोध गरिन् । चिनजानको कोही थिएन । एकहिसाबले 'देउतै मिले' जस्तो भयो । उनी एकजना सुडानी केटासँग बसेकी रहिछिन् । त्यो केटाको भाइ पनि सँगै बस्दो रहेछ । तीन महिनासम्म फाट्टाफुट्ट घरको काम गरेर बसेँ । त्यसपछि भने अफिसमा राम्रै काम पाएँ ।

मासिक ४ सय डलरसम्म कमाइ हुन्थ्यो । तीन महिनापछि इथोपिएन र सुडानी केटो बिहे गर्न घर गए । त्यसपछि उसको भाई र म सँगै भयौं । बाहिर बस्ने अवस्था पनि थिएन । केही समयपछि मेरो गर्भ रहन पुग्यो । बिहे गरी मलाई आफ्नो देश लैजान उ राजी थियो । तर भाषा, संस्कृति केही नमिल्ने । भोली सुडान पुगेपछि नेपाल कसरी आउने भन्ने सोचाइ आयो । फेरि बालबच्चा बढ्दै गएपछि धोका पाएमा झन ठुलो समस्या आइपर्ला जस्तो लाग्यो । त्यसपछि उसैले उद्धार गर्ने संस्था सोधखोज गरेपछि कारितासमा ल्याएर छोडिदियो ।

कारितासमा श्रीलकाली, भारतीय, बंगाली महिलाहरु पनि रहेछन । त्यहाँ घरबाट हामफाल्दा हात खुट्टा भाँचिएका, साहुले बलात्कार गरेका र म जस्तै गर्भ बोकेका दिदीबहिनी रहेछन् । मन असाध्यै रोयो, पहिल्यै यो जानकारी पाएको भए आज यो र्दुगति भोग्नुपर्ने थिएन भनेर । छोरी जन्माएर नेपाल जान लागेकी एकजना अविवाहित बहिनीलाई भेटँ । उनले लेबनानीसँग बिहे गरेको तर सफल नभएको भन्थिन्। मैले पनि कारितासकै सेल्टरमा छोरीलाई जन्म दिएँ । छोरी यतै कसैलाई दिने हो भने मिलाईदिने कुरो भएको थियो । तर मनले मानेन । छोरी नै अब मेरो भविष्य हो । मेरो यस्तो अवस्थाबारे परिवारलाई थाहा छैन । बुबा/दाजुभाईको फोन पनि छैन । सम्र्पक गर्ने प्रयास चाहिँ गरिरहेको छु । हाम्रो समाजमा यसरी अविवाहीतले बच्चा जन्माउँदा सहज रुपमा पचाइहाल्ने अबस्था छैन । परिवारमा पुर्नस्थापना हुन चाहन्छु । त्यसपछि नयाँ जीवन कसरी अगाडि बढ्छ, हेरुँ ?

Published on: 26 November 2011 | Kantipur

Back to list

;