s

अर्घाखाँचीमा दैनिक ६ करोड रेमिट्यान्स

वीरेन्द्र केसी

दसैं नजिकिँदै जाँदा जिल्लामा दैनिक ६ करोड रुपैयाँ रेमिट्यान्स  भित्रिन थालेको छ । रोजगारको लागि विदेश पुगेकाहरूले दसैं मनाउन खर्च पठाएकाले रेमिट्यान्स वृद्धि भएको हो । 

जिल्लामा सञ्चालित बैंक तथा मनी ट्रान्सफरहरूमा रकम झिक्नेको भीड लागेको छ । साइन डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक बुद्धिजीवन भुसालका अनुसार दसैंमा रेमिट्यान्स निकै बढेको छ । 'यतिबेला बैंकमा सबैभन्दा बढी रेमिट्यान्स आउने गरेको छ,' उनले भने, 'दैनिक ६५ लाखभन्दा बढी रकम बैंकले वितरण गर्दै आएको छ । दैनिक ३० देखी सय जनासम्मले रकम लिने गरेका छन् ।' 

जिल्लाका वाणिज्य बैंक र सात विकास बैंकले रेमिट्यान्स सुविधा दिँदै आएका छन् । वाणिज्य बैंकले दैनिक १ करोड र अन्य बैंकहरूले ३ करोड रुपैयाँ रेमिट्यान्स वितरण गरिरहेको जनाएका छन् । जिल्लामा वाणिज्य, साइन, भृकुटी, एभरेस्ट, बैंक अफ काठमाडौं, आइएमई, एनआइसी, मेगालगायत बैंक तथा वित्तीय संस्था र एक दर्जन मनी टान्सफरहरूले रेमिट्यान्स वितरण गर्दै आएका छन् ।
एनआइसी बैंकका शाखा प्रबन्धक डिल्लीराज खनालका अनुसार दैनिक २५ लाख रुपैयाँ जति रेमिट्यान्स भित्रिने गरेको छ । आइएमईले दैनिक ४० लाख रुपैयाँसम्म वितरण भइरहेको जनाएको छ । सबैभन्दा बढी कतार, मलेसिया, दुबई, भारत साउदी अरब, अमेरिका जापान, कोरिया लगायत देशबाट रकम भित्रिने गरेको उनले बताए । 'दसैंमा बढी रेमिट्यान्स भित्रिने गरेको छ,' एभरेस्ट बैंकका शाखा प्रबन्धक राजन ज्ञवालीले भने, 'दैनिक २० लाखभन्दा बढी रकम भुक्तानी भइरहेको छ ।' सबैभन्दा बढी भारतबाट रकम आउने गरेको उनले बताए । लुम्बिनी अञ्चलमै अर्घाखाँची बढी रेमिट्यान्स भित्रिने जिल्लामा  पर्छ । यहाँबाट घरैपिच्छेका पुरुष तथा महिलाहरू रोजगारका लागि बिदेसिएका छन् ।  दसैंमा घरमा आउनेहरूले पनि बैंकमा रकम पठाएर आउने गरेका छन् । बैंकमा सुरक्षित भएकाले रकम बैंकमार्फत पठाएर आफू रित्तै आउने गरेका हुन् ।

Published on: 3 October 2011 | Kantipur

Back to list

;