s

अनि कोरियाबाट निकालिए नेपाली

अनमोलमणि

कुनै दिन यस्तो थियो 'स्टप क्रयाक डाउन २००३' ब्यान्डका गायक मिनु (मिनोद) मोक्तान स्टेज चढ्दा कोरियामा काम गर्ने मजदुर जुरुकजुरुक हुन्थे । 

नेपाल, कोरिया, म्यान्मार र इन्डोनेसियाका चार सदस्य रहेको कोरियाली ब्यान्डले गाउन थालेपछि दर्शकदीर्घा चिच्याउँदै गीत दोहोर्‍याउँथ्यो, 'स्टप स्टप क्रयाक डाउन वी आर लेबर । वी वान्ट लेबर राइट ।' 
 
बीसवर्षे उमेरमा दक्षिण कोरिया छिरेर १८ वर्ष त्यहाँ बिताएका मिनु कोरियाको सांगीतिक बजारमा विस्तारै लोकपि्रय हुँदै थिए । कोरियामा कार्यरत मजदुर मात्रै होइन स्थानीयले पनि उनको गीत चाख मानेर सुन्थ्यो । विभिन्न सञ्चारमाध्यम र सार्वजानिक समारोहमा उनीहरूको कन्सर्ट जम्दै गएको थियो । दुर्भाग्य, लोकपि्रय हुँदै गएका तिनै गायकलाई कोरिया सरकारले मजदुरका पक्षमा गीत गाएकै कारण दुई वर्षअघि नेपाल फिर्ता गरिदियो । ब्यान्डका तीन सदस्य अहिले कोरियामा मिनुको अभाव टार्ने प्रयास गरिरहेका छन् । क्रयाक डाउन आप्रवासी कामदारलाई उसकै देश फिर्ता पठाउने कोरिया सरकारको अभियान हो । 
 
अठारवर्षे कोरिया बसाइमा उनले आप्रवासी मजदुरका दुःख देखेनन् मात्रै आफैंले भोगे पनि । त्यो दुःख सबैलाई सुनाउन कोरियामा काम गरिरहेका चार दुखियाले रोजे सांगीतिक बाटो । ओझपूर्ण गला भएका पोखरेली ठिटोको जिम्मा गायकीमा पर्‍यो । नेपाली ठिटो कोरियन गीत । ब्यान्डले 'नीलो आकाश, फराकिलो समुद्र स्वतन्त्र छ, हामी सबै मिलेर खुला दुनियाँका लागि अगाडि बढौं', 'तिमीलाई थाहा छ, तिमीले गाउँदा संसार सुन्दर हुन्छ, तिमी हाँस्दा यो संसार झन् सुन्दर हुन्छ' जस्ता गीत बनाएर मजदुरका दुःख बाहिर ल्याउन थाल्यो । मालिक र मजदुरबीचको विभेद अन्त्यको माग पनि संगीतमार्फत् नै हुन थाल्यो । भव्य कन्सर्ट हुन थाले । लोकपि्रय हँुदै गएको ब्यान्डले दुईवटा एल्बम पनि निकाल्यो ।
 
१५ लाख विदेशी रहेको कोरियामा ६ लाख आप्रवासी कामदार छन् । जसलाई कोरिया सरकार 'अनडकुमेन्टेड' भनिरहेको छ । 'दुई वर्षअघि नेपाल फर्काइएपछि मलाई लाग्यो मेरो देश म धेरै पहिले आउनुपथ्र्यो,' राजधानीमा आइतबार भेटिएका मोक्तानले कान्तिपुरसितको कुराकानीमा भने, 'अठार वर्ष बसेको ठाउँ, हिँडेको बाटो, साथीभाइ र फ्यानहरू सम्भिmँदा मलाई सपनाजस्तो लाग्छ । मेरो गल्ती यत्ति हो मैले जसरी बसे पनि संसारका मान्छेहरू मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज संगीतमार्फत् बाहिर ल्याएँ । मनोरञ्जनका लागि भन्दा पनि हामी आप्रवासी मजदुरको आवाज बाहिर ल्याउन कन्सर्ट गथ्र्यौं ।'
 
उनको अनुभवमा एक संस्कृति, भाषा र जात भएको कोरियामा अन्यमाथि ठूलो विभेद छ । ब्यान्डले गीत ल्याउनुअघि कामदार त्यसबारे बोल्न डराउँथे । अहिले बोल्छन् तर तिनको सुरक्षा समस्या छ । कन्जरभेटिभ पार्टीको सरकार बन्नुअघि उनीहरूमाथि त्यस्तो कुनै दबाब थिएन । 'त्यसपछि हामी टार्गेटमा पर्‍यौं,' उनले भने, 'संगीतकर्मी र मिडिया एक्टिभिस्ट भएकाले ममाथि बढी निगरानी भयो म कोरियाबाट निकालिएँ ।' मजदुर र मालिक भएकैले विभेद गर्न नहुने उनीहरूको माग अहिले पनि यथावत् छ । 
 
नौ वर्षदेखि कोरिया बस्दै आएका अशोक थापाले पछिल्लो पाँच वर्ष लगाएर यो सबै जानकारी क्यामेरामा कैद गरे । मिनुलाई निकाल्दा कोरियामा उर्लेको जुलुस, मानवअधिकारका क्षेत्रमा कार्यरत संस्थाको विभार र त्यहाँका सञ्चारमाध्यमले दिएको समाचारसहित । राजधानीमा चलिरहेको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल -किम्फ) मा पहिलोपल्ट 'बरिड इन टियर' शीर्षकको वृत्तचित्रका रूपमा प्रदर्शन हुँदा बल्ल दुनियाँले यो कुरा चाल पायो । खचाखच भरिएको राष्ट्रिय सभागृहमा मिनुको दुःखभरे कहानी हेरेर सबका आँखा रसाए । दृश्यमा देखाइयो उता कोरियामा उनीविनाको टुहुरो ब्यान्डका सदस्य पनि भक्कानिएका छन् । फ्यान र दर्शक पनि । वृत्तचित्रको प्रदर्शनीपछिको अन्तरक्रियामा मिनु भने, 'दुई वर्ष भयो गाएको छैन । अवसर पाए नेपालीमा गाउनुपर्ला । फेरि कोरिया गएर गाउने अवसर त मिल्ला तर मलाई त्यो रहर छैन ।'
उनले आफ्नो सुरिलो स्वरमा आप्रवासी मजदुरको आवाज नेपाली दर्शकलाई पनि सुनाए, 'नीलो आकाश र फराकिलो समुद्र स्वतन्त्र छ । हामी सबै मिलेर खुला दुनियाँका लागि अगाडि बढौं ।'
 
Published on: 11 December 2011 | Kantipur

Back to list

;