s

अवैध कामदारलाई मलेसियाले भन्यो: 'अक्टोबर ३१ सम्म स्वदेश फर्क’

रामचन्द्र गिरी

बायोमेटि्रक प्रणालीसहित 'आममाफी कार्यक्रम' ल्याएको मलेसियाले घर र्फकन चाहने अवैध विदेशी कामदारले अक्टोबर ३१ सम्ममा मुलुक छाड्नुपर्ने निर्णय गरेको छ । 

मलेसियाली उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै यहाँस्थित नेपाली दूतावासले बिहीबार सूचना जारी गरी यसअघि 'घर र्फकन्छु' भनी बायोमेटि्रक प्रणालीमा दर्ता भएका र दर्ता हुन छुटेका सबैलाई अक्टोबर ३१ भित्रै नेपाल र्फकन सूचित गरेको हो । 

यसअघि बायोमेटि्रक प्रणालीमा दर्ता हुन छुटेकाका लागि के गर्ने ? भन्नेबारे मलेसियाले कुनै ठोस निर्णय गरेको थिएन ।

मलेसिया सरकारले तोकेको उक्त समयावधिभित्र नेपाल फर्किए कुनै कारबाहीको भागेदार हुन नपर्ने भएकाले अविलम्ब र्फकन तयार हुनसमेत दूतावासले अवैध नेपालीलाई आग्रह गरेको छ । 'नेपाल र्फकन्छु भनी बायोमेटि्रक गरेका अवैधानिक नेपाली कामदारले अक्टोबर ३१ भित्र मलेसिया छाडिसक्नुपर्ने भएको हुँदा नेपाल र्फकन अविलम्ब आवश्यक कागजपत्र तयार गर्न अनुरोध गरिन्छ,' दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

यो अवधिभित्र नर्फकने अवैध कामदारलाई कडा कारबाही हुने जनाइएको छ । 'यदि बेवास्ता गरी नफर्किए जरिवाना तिराउने र कडा कारबाहीसमेत गर्ने जानकारी आएको छ,' दूतावास स्रोतले भन्यो । 

सूचनाअनुसार बायोमेटि्रक प्रणालीअनुरूप दर्ता हुन छुटेका अवैध नेपाली कामदारले पुत्रजयास्थित अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरे बिनाकारबाही नेपाल र्फकन पाउनेछन् । घर र्फकन चाहने अवैध कामदारले बढीमा १४ दिनभित्रको हवाई टिकट र ट्राभल डकुमेन्ट लिई तोकिएको मितिभित्र र्फकनुपर्ने भएकाले ढिलो नगरी यो मितिभित्रै र्फकन दूतावासले अनुरोध गरेको हो । यो मितिभित्र घर र्फकन चाहने अवैध कामदारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र राहदानीको प्रतिलिपिसहित अन्य केही प्रक्रिया पूरा गरी दूतावासबाट एकतर्फी ट्राभल डकुमेन्ट लिन सक्नेछन् । ट्राभल डकुमेन्ट लिन यसअघि सक्कल नागरिकताको प्रमाणपत्र अनिवार्य थियो ।

मलेसियाले घर र्फकन चाहने अवैध कामदारका लागि मलेसिया छाड्न दिएको पछिल्लो मिति सकिन अब एक सातामात्रै बाँकी छ । मलेसियाले घर र्फकन दिएको यो अवधि पर्याप्त नभएको कतिपयले टिप्पणी गरेका छन् । यसअघि मलेसियाले डिसेम्बरसम्मको अवधि दिएको जनाइएको थियो । 

आममाफी कार्यक्रमको यसअघि भएको दर्ता चरणमा करिब ३३ हजार नेपाली सामेल भएका थिए । तीमध्ये बहुसंख्यक वैध भई काम गर्ने तयारीमा रहेको जनाइएको छ । हाल घर र्फकनका लागि ट्राभल डकुमेन्ट लिन दूतावास जाने नेपालीहरूको चाप बढ्न थालेको छ । आममाफी कार्यक्रम सुरु भएयता करिब २१ सय नेपालीले एकतर्फी ट्राभल डकुमेन्ट लिइसकेका छन् ।

Published on: 23 October 2011 | Kantipur

Back to list

;