s

९८९, जो फर्केनन्

दिनेश रेग्मी

त्रिभुवन विमानस्थलमा जसरी कामका लागि विदेशिनेको भीड छ, उसैगरी मनै चसक्क हुने गरी दिनहुँ बाकसमा नेपाली कामदारको शव काठमाडौं उत्रिरहेछन् । पछिल्लो एक वर्षमा मात्रै वैदेशिक रोजगारका क्रममा परदेशमा ज्यान गुमाउने करिब हजार छन् ।  

सबैभन्दा बढी मलेसियामा, त्यसपछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, दक्षिण कोरिया, बहराइन, ओमान र इराकमा नेपाली कामदारको मृत्यु भएको छ । मलेसिया र दक्षिण कोरियाबाहेक अरू सबै मध्यपूर्वका मुलुक हुन् । यसरी ज्यान गुमाउनेको संख्या सन् २०१३ मा ९ सय ८९ छ ।

विदेशस्थित नेपाली दूतावासमा सम्पर्क गरी १६ देशबाट प्राप्त तथ्यांकअनुसार मलेसियामा ३ सय ४१ नेपाली कामदारले ज्यान गुमाएका हुन् । मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक हो, जहाँ ५ लाख बढी नेपाली कार्यरत छन् । मलेसियामा २०१२ मा २ सय ५२ को मृत्यु भएको थियो ।

२०१३ मा साउदी अरबमा २ सय ९०, कतारमा १ सय ८९, यूएईमा ५ महिलासहित ७०, कुवेतमा ११ महिलासहित ४०, दक्षिण कोरियामा १९, बहराइनमा २ महिलासहित १७, इराकमा ७, अफगानिस्तानमा २, पाकिस्तान एक र इरान नजिकैको पर्सियन खाडीमा एक र साइप्रसमा एक नेपालीको ज्यान गएको छ ।

साउदीमा ज्यान गुमाएका नेपाली कामदारमध्ये ६ जनाको ठाउँ/ठेगाना र एकको पहिचान हुन सकेको छैन । दूतावासले गैरकानुनी हैसियतका ती कामदारको र अरू २९ जनाको शव साउदीमै रहेको जनाएको छ । ओमनमा मृत्यु हुनेको तथ्यांक त एनआरएन उपाध्यक्ष योगेन्द्रकुमार श्रेष्ठ (दीपक) ले उपलब्ध गराएका हुन् ।

नेपाली दूतावास इजरायल र इजिप्टमा भने २०१३ मा नेपालीको मृत्यु भएको जानकारीमा आएको छैन ।

 

तथ्यांक फरक-फरक

तथ्यांक व्यवस्थापन साझा संयन्त्र नहुँदा सरकारी कार्यालयहरूले नै मृतकको संख्या फरक-फरक बताउने गरेका छन् । भारतस्थित नेपाली दूतावासले त मृतक कामदारको रेकर्ड लिने र राख्नेसमेत गरेको छैन । परराष्ट्रको कन्सुलर विभागका अनुसार सबैभन्दा बढी २०१३ मा मलेसियामा ३ सय ४१, साउदी अरबमा २ सय ८१ र कतारमा १ सय ९१ को मृत्यु भएको छ । विभागमा अन्य देशमा मृत्यु भएका नेपालीको रेकर्ड छैन ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार २०१३ मा ८ सय १४ पुरुष र १६ महिलासहित ८ सय ३० कामदारको मृत्यु भएको छ । यो अघिल्लो वर्षभन्दा १ सय ५८ ले बढी हो ।

'हामीले मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मितिका आधारमा तथ्यांक राखेका हौं,' बोर्डको हकहित शाखाका सहायक नरेश धमेनाले कान्तिपुरसँग भने, 'आर्थिक सहायता नपाउने तथ्यांक यसमा समावेश छैन ।'

रेडर्कको अभावमा मृत्युको कारण राम्ररी खुल्न सकेको छैन । केही दूतावासको तथ्यांकअनुसार हृदयाघात, सवारी तथा कार्यस्थल दुर्घटना र आत्महत्या प्रमुख छन् । साउदीमा भने सुतेको सुत्यै (हृदयाघात) र सडक दुर्घटना बढिरहेको राजदूत उदयराज पाण्डेले बताए ।

मृत्युको लाइनमा बसेजस्तै: डा. शाक्य विदेशमा नेपालीको मृत्युबारे कसैले चासो नदिँदा कामदारहरू मृत्युको लाइनमा पालो कुरेको जस्तै स्थितिमा भएको कतारमा साढे ४ वर्षदेखि कार्यरत चिकित्सक डा. नरेन्द्रकुमार शाक्यले बताए । उनले सरकार, म्यानपावर, कामदार संवेदनशील हुन नसकेको उल्लेख गरे ।

उनले दुर्घटना र आत्महत्यालाई छाडेर ९९ दशमलव ९ प्रतिशत मृत्यु हृदयाघात, उच्च रक्तचापजस्ता मुटुजन्य समस्याले भएको बताए । 'मृत्युको लाइनमा बसेजस्तै छ, भोलि को मर्छ थाहा छैन,' डा. शाक्यले भने, 'सरकारले चेकअप नै नगरी बिरामीलाई किन मर्न पठाउँछ ?'

शाक्यले कतिपय व्यक्तिमा मुटुरोग पहिल्यैदेखि हुन सक्ने भएकाले त्यसलाई प्याकेजका रूपमा चेकअप गरेर ठीक भए मात्र कामदारलाई पठाउनुपर्ने बताए । वंशानुगत रोग, खानपिन, बसाइ, तनाव, कार्यशैली, मधुमेहजस्ता कारणले पनि मुटुरोग, उच्च रक्तचाप उत्पन्न गरेकाले त्यसको परीक्षण र उपचार आवश्यक रहेको उनले उल्लेख गरे ।

Published on: 5 February 2014 | Kantipur

Back to list

;