s

९५० रोजगारदाता संस्था सूचीकृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गर्न लागेको सामाजिक सुरक्षा कोषमा ९५० वटा रोजगारदाता संस्था सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये २७२ वटालाई प्रमाणपत्र प्रदान गरिसकिएको छ भने बाँकीलाई छिट्टै दिने तयारी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका अनुसार सरकारले गत मङ्सिर ६ गतेदेखि उपत्यकाबाट शुरु गरेको उक्त कार्यक्रममा ९५० वटा कम्पनी सूचीकरण प्रक्रियामा आएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सरकारले गएको मङ्सिर ११ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।

कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचीकरण भएका रोजगारदाता कम्पनीले सूचीकरण भएको तीन महिनाभित्र आ–आफ्नो उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकको सूचीकरण गराउनुपर्ने र केही पठाउन पनि शुरु गरिसकेको जानकारी दिनुभयो सूचीकरण भएका कम्पनीमा कार्यरत श्रमिकको चालु आर्थिक वर्षभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबापत हुने सुविधा दिन शुरु गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

योजना कार्यान्वयनमा आएपछि पहिलो चररणमा प्रतिष्ठानस्तरका श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण भई सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्धावस्था सुरक्षा र सामाजिक सुरक्षा सुविधा पाउने गरी व्यवस्था गरेको छ ।

कार्यविधिमा सामाजिक सुरक्षा योजनामा योगदानका लागि रोजगाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकममा कोषमा जम्मा गुर्नपर्ने व्यवस्था छ । उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्र रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताका लागि मङ्सिर ६ गतेबाट रोजगारदाताको सूचीकरण शुरु भइसकेको छ भने उपत्यका बाहिर प्रदेश ३ का रोजगारदाताले २०७५ मङ्सिर १५ गतेदेखि र सुदूरपश्चिम प्रदेशमा यही माघ १५ गतेदेखि सूचीकरण गर्न थालिएको छ । कार्यकारी निर्देशक अधिकारीका अनुसार आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा कोष सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

Published on: 11 February 2019 । Gorkhapatra

Back to list

;