s

९३७ गार्डको करार रद्द

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरेको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करार रद्द गर्दा नेपाली पनि परेका हुन् ।

हिमायाले आफ्नो व्यवस्थापनलाई पुन:संरचना गर्न सुरक्षागार्डको करार सेवा रद्द गरेको जनाएको छ । रद्द भएका सुरक्षागार्डहरूको सेवा अवधि अप्रिल १ मा सकिनेछ । कम्पनीले रद्दमा परेका सबै सुरक्षागार्डलाई सूचना दिइसकेको छ । करार सेवा रद्दमा परेका कामदार भने चिन्तित छन् । ‘तीनवर्षे करार अवधि सकिएकाले नथपेको हामीलाई भनियो,’ बुटवलका कुमार सापकोटाले भने, ‘नयाँ कामदार ल्याउनभन्दा हामीलाई नै मौका दिन अनुरोध गरेका छौं ।’ 

हिमायाले नयाँ सम्झौता गरेका १ सय २४ जना नेपाली सुरक्षागार्डलाई समेत काम दिएको छैन । हिमायाको व्यवस्थापनले नेपाली दूतावासका अधिकारीहरूलाई पुराना सुरक्षाकर्मीको पनि करार अवधि रद्द गरेको जानकारी दिएको छ । हिमायामा झन्डै ८ हजार सुरक्षाकर्मी कार्यरत छन् । त्यसमा झन्डै ३ हजार नेपाली सुरक्षागार्ड छन् । हिमायामा सबभन्दा बढी एसआरएस म्यानपावर कम्पनीमार्फत कामदार गएका थिए । दलालले अवैध बाटो प्रयोग गरी त्यस कम्पनीमा कामदार लगेका थिए । नेपाली दूतावासले हिमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका कामदारलाई स्वदेश नपठाउन अनुरोध गरेको छ । 


Published on: 7 January 2017 | Kantipur

Back to list

;