s

९० हजारलाई सहुलियत कर्जा

तुलसी सुवेदी

 

काठमाडौं : कोरोना भाइरस (कोभिड—१९) का कारण बेरोजगारी बढिरहेको अवस्थामा सहुलियत कर्जा लिने बढेका छन्। यसले उद्यमशीलताका साथै रोजगारी सिर्जना गर्न टेवा पुगेको छ।

गत वर्षको तुलनामा चार गुणा बढीले सहुलियत कर्जा उपयोग गरेका छन्। सरकारले चालू आर्थिक वर्षको बजेट तथा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कर्जामा कडा नीति अवलम्बन गरेपछि चार गुणा बढीले सहुलियत कर्जा पाएका हुन्।

 नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत्रसम्म ८९ हजार ८ सय ७९ जनाले सहुलियत कर्जा पाएका छन्। उनीहरूले १ खर्ब ४२ अर्ब २ करोड ३० लाख कर्जा पाएका छन्। जबकि २०७६ चैत्रसम्म २० हजार ७ सय ९२ जनाले ४७ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ सहुलियत कर्जा पाएका थिए।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाबाट कम्तीमा १० जना र विकास बैंकबाट कम्तीमा ५ जनालाई सहुलियत कर्जा दिनुपर्ने व्यवस्था गरिएको थियो। उक्त व्यवस्थाअनुसार गत वर्षको तुलनामा ६९ हजार ८७ जनाले सहुलियत कर्जा पाएका हुन्।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पछिल्लो समयमा सहुलियत कर्जा लिएर उद्यमी बन्ने बढेको बताए। कर्जा प्रवाहमा मापदण्ड तोकिएपछि बैंकहरूले पनि सरकारले अनुदान दिने सहुलियत कर्जा प्रवाह गर्न चासो दिन थालेका छन्। उद्यमशीलता विकास गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले पछिल्लो समयमा विभिन्न १० शीर्षकमा ५ र ६ प्रतिशत ब्याज अनुदानमा सहुलियत कर्जा दिँदै आएको छ।  ५ र ६ प्रतिशत कर्जामा अनुदान दिएपछि ऋणीले केही प्रतिशतमा मात्रै कर्जा उपयोग गर्न पाउँछन्। बैंकले आधार दरभन्दा २ प्रतिशत बढीमा ऋण प्रवाह गर्न सक्छन्। सरकारले ५ वर्षसम्म कर्जामा अनुदान दिन्छ।

सहुलियत कर्जा उपयोग गर्न महिलाहरू अघि देखिएका छन्। सरकारले महिला उद्यमशीलता बढाउन १५ लाखसम्म सहुलियत कर्जा दिँदै आएको छ। महिला उद्यमशील कर्जामा सरकारले ६ प्रतिशत अनुदान दिन्छ। चालू आर्थिक वर्षमा यस शीर्षकमा ४५ हजार १ सय २१ जनाले ४२ अर्ब १५ करोड ७८ लाख रकम कर्जा प्रयोग गरेका छन्। महिला उद्यमशील कर्जा शीर्षकमा गत वर्षको चैत्रसम्म १ हजार ९ सय ८५ जनाले १ अर्ब ३० करोड ५५ लाख मात्रै उपयोग गरेका थिए।

महिला उद्यमी कर्जापछि दोस्रोमा व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा शीर्षकमा धेरै कर्जा प्रवाह भएको छ। अघिल्ला वर्षहरूमा यस शीर्षकमा अन्यको तुलनामा अधिकमात्र कर्जा प्रवाह हुने गरे पनि यस वर्ष दोस्रोमा झरेको छ। कृषिमा चैत्रसम्म ४२ हजार ४ सय ४७ जनाले कर्जा उपयोग गरेका छन्। उनीहरूले ९६ अर्ब ६० करोड ३० लाख रुपैयाँ उपयोग गरेका छन्। गत वर्ष १८ हजार ३ सय ५५ जनाले ४४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ कर्जा लगेका छन्। तर यसबाहेक अन्य शीर्षकमा थोरैले मात्रै सहुलियत कर्जा पाएका छन्।

१० शीर्षकमध्ये सबैभन्दा कम कर्जा प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम र युवा वर्ग स्वरोजगार कर्जा प्रवाह भएको छ। तालिमका लागि २ जनाले ३ लाख ७८ हजार र स्वरोजगार कर्जा ३ जनाले १२ लाख २८ हजार ऋण लिएका छन्।  उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ८५ जनाले १ करोड ९३ लाख, शिक्षित युवा स्वरोजगार कर्जा १ सय ३९ जनाले ६ करोड ५१ लाख, भूकम्पपीडितहरूको निजी आवास कर्जा शीर्षकमा २ सय ३६ जनाले ५ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

कपडा उद्योग सञ्चालनका लागि २ सय ९५ जनाले २ अर्ब ८ करोड ६३ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा ७ सय ४४ जनाले ५५ करोड १२ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा ७ सय ९९ जनाले ४८ करोड ४३ लाख रुपैयाँ कर्जा लगेका छन्।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनदुानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बिनाधितो कर्जाको प्रकृतिअनुसार ३ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था छ ।  महिला उद्यमशीलताका लागि अधिकतम १५ लाख र व्यावसायिक कृषि तथा पशुपंक्षीपालन र कपडा उद्योग सञ्चालनका लागि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था छ। महिला उद्यमशील कर्जाबाहेक अन्य सबै सहुलियत कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ।

Published on: 11 May 2021 | Annapurna Post

Link

Back to list

;