s

९ नेपाली साउदीमा १८ महिनादेखि अलपत्र

रोजगारीका लागि ३ वर्षअघि साउदीअरब पुगेका ९ नेपाली कामदार अलपत्र परेका छन् । उनीहरूको भिसा सकिए पनि कम्पनीले तलब र छुट्टी दिएको छैन ।

साउदीमा कार्यरत योगेन्द्र गिरीका अनुसार सोलुखुम्बुका पावल राई, मिथुन राई, जेशश राई, दाङका शंकर विश्वकर्मा, मोरङका नगेन्द्र मगर, सिराहाका प्रमोद मण्डल, भोजपुरका अमर कार्की, धनुषाका शीतल साह र तनहुँका शेरबहादुर नेपाली चाहेर पनि स्वदेश र्फकन सकेका छैनन् । उनीहरू सबैलाई काठमाडौंको अक्सफोर्ड म्यानपावर कम्पनीले २००९ जुन २७ मा साउदीको अल सोहया कम्पनी पठाएको थियो । उनीहरूलाई कम्पनीले बिमालगायत आवश्यक कागजात उपलब्ध गराएको छैन । उनीहरूलाई कम्पनीले तलब ढिलो दिने, बिमा, स्वास्कथ्य उपचारसमेत नदिएको ती कामदारको गुनासो छ । कम्पनीले सम्पूर्ण सुविधा दिने आश्वासन दिए पनि तलबसमेत ६ महिनामा दिने र भिसा नवीकरण गर्न नदिँदा समस्या परेको उनी बताउँछन् । 'साथीहरूलाई निकै समस्या परेको छ तर सम्बन्धित निकायले चासो दिएको छैन,' गिरीले भने ।

पीडितले साउदीको रियादस्थित नेपाली दूताबासमा गुहार माग्दा पनि सहयोग नपाएको गुनासो गरे । कम्पनीले पठाइदिने भनेकाले नआत्तिनु भन्दै दूताबासले बेवास्ता गरेको आरोप छ । पुराना कामदारले भने बिमालगायत अन्य सुविधा नपाएकाले श्रम अदालतमा कम्पनीविरुद्ध मुद्दा हालेपछि ४ महिनाको तलब दिएर नेपाल पठाइसकेको बताएको छ ।

Published on: 22 January 2013 | Kantipur

Back to list

;