s

९ हजार कामदारको भिसा रोकियो

होम कार्की

साउदी अरबले हस्तलिखित राहदानीमा भिसा लगाउन रोक लगाउँदा रोजगारीमा जाने प्रक्रियामा रहेको ९ हजार कामदार मारमा परेका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार बिना जानकारी हस्तलिखित राहदानीलाई मान्यता दिन छाडेपछि साउदीमा रोजगार जाने तयारीमा रहेका करिब ९ हजारले भिसा नपाएका हुन् । 
 
साउदीले गत आइतबारदेखि हस्तलिखित राहदानीलाई मान्यता दिन छाडेको हो । 'कामदारको माग भए पनि चाडबाडका कारण रोकिएको थियो,' संघका अध्यक्ष सोमलाल बटाजूले भने, 'रोजगारका लागि तयार भएका ९ हजारको राहदानीमा भिसा नलाग्दा समस्या बढ्यो ।' 
 
वैदेशिक रोजगार विभागले दिएको पूर्वस्वीकृति अनुसार कामदार छनोट गरेर व्यवसायीले भिसा लगाउन राहदानी पुगेर बंगलादेश पुगेका थिए । हस्तलिखित राहदानीलाई तत्काल अनुमति दिन साउदीस्थित नेपाली दूतावासले पहल गरे पनि साउदी सरकारबाट भने ठोस निर्देशन आइसकेको छैन । 'साउदी परराष्ट्र मन्त्रालयमा गएर हस्तलिखित राहदानीलाई अनुमति दिन अनुरोध गरिसकेका छौं,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'सकारात्मक खबरको पर्खाइमा छौं ।'
 
साउदीको गृह मन्त्रालयबाट छलफल गरेर यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिने छ । खाडीस्थित साउदीको दूतावासले पनि हस्तलिखित राहदानीलाई मान्यता नदिँदा खाडीको बहराइन, कतार, साउदी, ओमन र लेबनानबाट सामान लिएर ओहोरदोहोर गर्ने नेपाली चालकहरूलाई समेत मार परेको छ । 
 
दूतावासले साउदी सरकारलाई हस्तलिखित राहदानीले २०१५ अपि्रलसम्म मान्यता पाउने आइकोवासँगको सम्झौताबारे जानकारी गराएको छ । फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले साउदीले तत्कालै हस्तलिखित राहदानीलाई मान्यता दिए पनि छोटो अवधिका लागि हुने भन्दै सरकारले यसलाई दिगो रूपमा समाधान गर्नुपर्ने बताए । 'साउदीको यो निर्णयलाई खाडीका अन्य मुलुकले पनि लागू गर्न सक्छन्,' उनले भने, 'सरकारले कामदारसँग भएको हस्तलिखित राहदानी फिर्ता गर्न लगाई एमआरपी वितरणमा सहज गराउनुपर्छ ।'
 
Published on: 22 November 2011 | Kantipur

Back to list

;