s

८८ हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे

झण्डै अढाइ दशकदेखि नेपालस्थित शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थीमध्ये ८८ हजारलाई अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) मार्फत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा तेस्रो मुलुकमा पुनः स्थापना गरिएको छ ।

बेलडागी शिविरस्थित आफ्नो छाप्रोबाट चिहाउँदै भुटानी शरणार्थी । तस्वीर: एएफपी

आइओएमले पुनःस्थापना कार्यक्रम अन्तर्गत विगत सात वर्षदेखि शरणार्थीलाई तेस्रो मुलुकमा पठाउँदै आएको छ । सबैभन्दा धेरै शरणार्थी लिने मुलुक अमेरिका हो । ८५ हजार छ सय ५१ जना भुटानी शरणार्थी उक्त देश पुगिसकेका छन् । गृह मन्त्रालयका अनुसार अष्ट्रेलियामा ४ हजार ८१९, क्यानाडामा ५ हजार ७७८, डेनमार्कमा ८५२, नेदरल्याण्डस्मा ३२६, नर्वेमा ५५० जना शरणार्थी पुनःस्थापित भइसकेका छन् । बाँकीलाई पनि क्रमशः पुनःस्थापित गर्ने प्रक्रियालाई आइओएमले जारी राखेको छ ।

शुरुमा १ लाखको हाराहारीमा रहेका शरणार्थीको सङ्ख्या दुई दशकको अवधिमा आठ हजारले वृद्धि भएको हो । नेपाल र भुटानबीच विभिन्न तहमा १५ चरणमा भएका शरणार्थी समस्या समाधानसम्बन्धी वार्ता असफल भएपछि अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायले मानवीयताका आधारमा आश्रयका निम्ति प्रयास गरेपछि तेस्रो मुलुक पुनः स्थापना कार्यक्रम कार्यान्वयन भएको हो ।

स्वस्फूर्त रुपमा उक्त कार्यक्रममा सहभागी भएका शरणार्थीमात्र ती देश गएका हुन् । शिविरमा रहेका अधिकांशले अझै पनि ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग दोहोर्‍याउँदै आएका छन् । वि.सं.२०६३ मा नेपाल आइओएमको सदस्य भएको हो ।

Published on: 26 March 2014 | Himal Khabarpatrika

Back to list

;