s

८५ कामदार क्याम्पबाट निकालिए

तापक्रम बढ्दै गएका कतारमा आएदेखि तलबसमेत नपाएका ८५ जना नेपाली कामदारलाई बस्ने ठाउँबाट शनिबार निकालिदिएको छ । उनीहरू रातभर सडकमा बसी आइतबार दिउँसो नेपाली दूतावासमा शरण लिन आइपुगेका छन् ।
 
कम्पनीले क्याम्प भाडासमेत नतिरेपछि उनीहरूलाई क्याम्पका मालिकले आफ्नो क्याम्पबाट निकालिदिएको हो । पीडित कामदार आआफ्नो सामान लिएर दूतावास आइपुगेका थिए । यो समाचार तयार पार्ने बेला आइतबार साँझसम्म उनीहरूले दुई दिनदेखि खाना पाएका थिएन् ।
'आधाजसो साथीहरू क्याम्प बाहिर बसेका छन्,' सर्लाहीका सुरेश महतोले भने, 'आधाजसो केही उपाय नपाएपछि दूतावास आइपुगेका हौं ।' उनीहरू सबै ६ महिनाअघि काठमाडौंस्थित 'सिद्धिदादा म्यानपावर' बाट आएका हुन् । म्यानापावरले समस्या समाधानका लागि बेलैमा पहल नगरिदिँदा यो समस्या आएको हो ।  
 
कतारको एउटा कन्ट्रक्सन कम्पनीमा कार्यरत उनीहरूले आएदेखि तलबसमेत पाएका छैनन् । उनीहरूको परिचयपत्र समेत नभएकाले कानुनी रूपमा अवैधानिक हैसियतमा पुगेका छन् । उनीहरू सबै लेबर हुन् ।
 
'शनिबार बिहान मालिक आएर बिजुली काटिदियो । खानेपानी पानी काटिदियो,' पीडित लीलबहादुर मगरले भने, 'मालिक आएर क्याम्पमा तालाचाबी लगाइदियो ।' उनीहरूले क्याम्पबाट निस्केपछि खानासमेत नपाएको बताएका छन् । 'क्याम्पमा हुँदा दूतावासले उपलब्ध गराएको चामला खाइन्थ्यो,' उनले भने, 'बाहिर खान त पैसा पनि छैन ।'  क्याम्प मालिकले प्रहरीलाई एक महिनाअघि नै पूर्वजानकारी दिइसकेको हुँदा उसलाई सजिलो परेको उनीहरूले बताए । कम्पनी सञ्चालक पीडितको सम्पर्कमा छैनन् ।
 
कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माका अनुसार कम्पनी सञ्चालक प्रहरीको थुनामा रहेको बुझिन आएको बताइन् । 'पीडितहरूको अवस्थामा अध्ययन भइरहेको छ । उहाँहरूलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,' उनले भने । रातभर बाहिर बसेको हुनाले सबै जना थकित देखिन्थे । 'रातभर तातो हावा खाएर बसेका हौं,' महतोले भने, 'गाडी आएपछि बाटो दिनुपथ्र्यो । तनावले गर्दा निद्रा पनि परेन ।'
 
समूहमा सबैभन्दा पाका देखिएका ४८ वषर्ीय दोडीलाल यादवले आफूमाथि ठूलो बज्रपात आइपरेको बताए । 'घरमा तीन वटी छोरीको बिहे गर्दा लागेको ४ लाख ऋण तिर्न कतार आएको थिएँ,' १ लाख लगानी गरेर आएका उनले भने, 'यता आएको ६ महिना भइसक्यो । १ रुपैयाँ हात परेको छैन । के गर्ने होला ?'
 
Published on: 4 June 2013 |  Kantipur

Back to list

;