s

८२७ कामदारका समस्या समाधान गर्न सिफारिस

कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।
 
दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो । दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ । पीडितमा तीन महिनाभन्दा बढी तलब तथा सेवासुविधा नपाउनेहरू छन् ।
 
दूतावास आफैंले ५ सय ३० नेपाली कामदारको समस्या समाधान गरेको जनाएको छ । ‘कम्पनीबाट भागेर अन्यत्र काम गरिरहेका, कतारी परिचयपत्र नलगाएका तथा परिचयपत्रको म्याद सकिएको ६ महिनाभन्दा बढी भइसकेका ४ सय १६ नेपालीलाई कतार सरकारको खोज तथा अनुगमन विभागबाट नेपाल पठाइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विभागको डिपोर्टेसन सेन्टरमा १ सय ४१ नेपाली छन् । उनीहरूलाई प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।
 
विभिन्न मुद्दामा जेल सजाय पाएका ४७ नेपाली कामदार भने केन्द्रीय कारागारमा छन् । ‘आकस्मिक अवस्था परी नेपाल जानुपर्ने तर कम्पनीले सहजै जान स्वीकृति नदिएका एक सय ४१ कामदारलाई ‘इमर्जेन्सी एक्जिट कमिटी’ मा पठाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
 
Published on: 17 May 2018 | Kantipur

Back to list

;