s

८१ म्यानपावर कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा एक वर्षमा ८५ लाख जरिवाना असुली

पीडितबाट १ हजार २६३ उजुरी

५६ करोडको दाबी

वैदेशिक रोजगार विभागले श्रमिकलाई विभिन्न बहानामा ठगी गर्ने, झुक्याउने ८१ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । कारबाहीबाट ८५ लाख रुपैयाँ जरिवाना असुली गरेको छ । त्यस्तै, विभागसमक्ष पीडितले ५६ करोडको दाबी पनि गरेका छन् । सबैभन्दा धेरै असारमा ४२ संस्था कारबाहीमा परेका हुन् । त्यस्तै, गत साउनमा ५, असोजमा ७ र पुसमा ८ संस्थालाई कारबाही गरिएको थियो । विभागले गत आव ३९ संंस्थाको अनुगमन गरेको थियो । गत असारमा मात्रै विभागले १३ वटा संस्थाको अनुगमन गरेको थियो ।

विभागमा ५६ करोड २१ लाखको दाबी

वैदेशिक रोजगारीमा ठगिएको भन्दै गत आवमा विभागमा ५६ करोड २१ लाखको जाहेरी दाबी परेको छ । त्यसमध्ये अदालतले २४ करोड ५० लाख माग दाबीको फैसला गरेको छ । जेठमा सबैभन्दा बढी जाहेरी दाबीसहितको उजुरी परेको थियो । सो महिना मात्रै विभागमा ७ करोड १६ लाख जाहेरी दाबी परेको थियो । गत वर्ष विभगमा कुल ८१९ वटा व्यक्तिगत उजुरी परेका थिए । यसमध्ये विभागले २१९ मुद्दा दायर गरेको छ ।

१२६३ विरुद्ध उजुरी

त्यस्तै, विभागमा १ हजार २ सय ६३ संस्थाविरुद्धमा उजुरी परेको छ । त्यसमध्ये ४२९ उजुरीको फरकफारक प¥यो । गत आवको पछिल्लो तीन महिनामा विभागले उजुरी सुनुवाइ, मुद्दा दायर, अनुगमन र जरिवानालाई कडाइ गरेको तथ्यांकले देखाएको छ । ‘चैत वैशाखामा उजुरी पनि बढेको छ, दाबी पनि बढेको छ,’ विभागका महानिर्देशक डा.भिष्मकुमार भुसालले भने, ‘उजुरी गर्नेले प्रमाण पनि जुटाउन थालेका छन् ।’ विभागले जतिसक्दो छिटो उजुरीलाई अदालतमा लैजाने गरेको उनले बताए । त्यस्तै, अनुगमनको पाटोलाई पनि उत्तिकै प्राथमिकता राखेको उनले बताए ।

तराईका ९ जिल्लाका युवा बढी विदेसिने

तराईका नौ जिल्लाका युवा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार धनुषा, सिराहा, झापा, मोरङ, महोत्तरी, सुनसरी, सर्लाही, नवलपरासी र सप्तरीबाट सबैभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन् । गत आर्थिक वर्ष ५ लाख ३० हजार वैदेशिक रोजगारीमा गएका थिए । त्यसमध्ये ती ९ जिल्लाबाट करिब ७८ हजार ९६२ कामदार विदेसिए । यो संख्या वैदेशिक रोजगारीमा जानेको १५ प्रतिशत हो । तथ्यांकअनुसार धनुषाबाट मात्रै १३ हजार ७२३ जना रोजगारीमा गए । त्यस्तै, सिराहाबाट ११ हजार ५५६, झापाबाट १० हजार ९२८, मोरङबाट ९ हजार २२७, महोत्तरीबाट ८ हजार ८०३, सुनसरीबाट ६ हजार ६९२, सर्लाहीबाट ६ हजार ४४५, नवलपरासीबाट ६ हजार २३६ र सप्तरीबाट ५ हजार ३५२ जना रोजगारीमा गएका छन् । तराई जिल्ला युवाको पहिल्यैदेखि रोजगारीका लागि जाने गर्थे । त्यतिवेला उनीहरूको रोजाइ भारत थियो । वैदेशिक रोजगारविद् गणेश गुरुङका अनुसार त्यसवेला नेपाली युवा भारतको पञ्जाव र हरियाणामा कृषि कामका लागि जान्थे । पछिल्लो समय त्यस्तै कामका लागि युवा खाडी मुलुकमा जाने गरेका छन् ।

प्रमुख १० गन्तव्यमा श्रम स्वीकृति

नेपाली युवा विशेष गरी १० मुलुकमा जाने गर्छन् । विभागको तथ्यांकअनुसार कतार, युएई, साउदी अरब, कुबेत, मलेसिया, बहराइन, ओमन, साइप्रस, जोर्डन र टर्की परेको छ । म्यानपावर एजेन्सीबाट जाने धेरै कामदार उक्त मुलुकका लागि श्रम स्वीकृति लिएका छन् । गत आवमा ६८ हजार ९५५ जनाले कतारका लागि श्रम स्वीकृति लिएका छन् । ५४ हजार ५०५ ले युएईका लागि स्वीकृति लिएका छन् । ४५ हजार ३८६ ले साउदी अरब, १५ हजार ५९ ले कुबेत, ९ हजार २६१ ले मलेसिया, ४ हजार १८३ ले बहराइन, २ हजार १२९ ले ओमन, १ हजार ७०७ ले साइप्रस, १ हजार ४५० ले जोर्डन र १ हजार ३७१ ले टर्कीका लागि श्रम स्वीकृति लिएका छन् । त्यसैगरी गत आवमा कतारका लागि पुन: श्रम स्वीकृति लिनेको संख्या ८६ हजार १९१ छ । केएसएका लागि ७१ हजार ८२४, युएईका लागि ५७ हजार ७९, मलेसियाका लागि ३२ हजार १४७, कुबेतका लागि १० हजार १, बहराइनका लागि ४ हजार ४१, जापानका लागि ३ हजार ३०५ र ओमनका लागि २ हजार ७१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जाने महिला २ प्रतिशतले बढे

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या २ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार गत आवमा वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये महिलाको हिस्सा ८ प्रतिशत छ । यसअघि महिलाको हिस्सा ६ प्रतिशत मात्रै थियो ।

Published on: 11 August 2019 | Naya Patrika

Back to list

;