s

८ सयलाई रोजगारी

राजेन्द्र मानन्धर

अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने दक्षिण एसियाको सबैभन्दा ठूलो खरिढुंगा म्याग्नेसाइट उद्योग पुनः सञ्चालन हुने भएको छ । पटकपटक सञ्चान हुँदै बन्द हुने गरेको खानीको सफल परीक्षणपछि पुनः सञ्चालन गर्न लागिएको हो ।

स्टील उत्पादन गर्ने कम्पनीलगायतमा उच्च तापक्रम थेग्न सक्ने भट्टीमा प्रयोग गर्न र कृषि, पशु खाद्य उद्योग, निर्माण सामग्रीहरू बनाउन प्रयोग हुने म्याग्नेसाइट उद्योग सञ्चालन तयारी भइरहेको यसका अवैतनिक कार्यकारी निर्देशक दिनेशराज भट्टराईले बताए । 'हाल गरिएको परीक्षणमा सफल भयो, अब ठूलो मात्रामा उत्पादन बाटो खुलेको छ,' नेपालका म्याग्नेसाइट विज्ञ भट्टराईले भने । नेपाल सरकारको ७५ प्रतिशत, खेतान ग्रुप १२ दशलमव ५ र इन्डियास्थित ओरिसा इन्ड्रस्ट्रीको १२ दशमलव ५ प्रतिशत सेयर लगानी रहेको खरी ढुंगा उद्योग विगत चार दशकदेखि खुल्दै बन्द हुँदै गरेको छ । उक्त खानीमा ०४८ देखि नेपाल सरकारका तर्फबाट कार्यरत भई हाल विज्ञताको हैसियतले जिम्मेवारी पाएका भट्टराईले स्वदेश र भारतीय बजार केन्दि्रत गरी पूर्णक्षमता उद्योग सञ्चालन गरिने जानकारी दिए ।

दोलखाको लाकुरीडाँडास्थित करिब दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खानीमा १८ करोड टन म्याग्नेसाइट भएको अनुमान छ । भारतको रक्सौल पुर्‍याउदा डेटबर्नट म्याग्नेसाइट -डिविएम) को करिब २५ हजार र कस्टिक क्याल्साइन म्याग्नेसाइट -सिसिएम) को प्रतिटन १६ हजार रुपैयाँ पर्छ ।

कच्चा म्याग्नेसाइटलाई नौ सय डिग्रीसम्म पोलेर बनाएको कस्टिक क्याल्साइन म्ग्याग्नेसाइन पशुको दाना, रासायनिक मल, एन्टी पोलुसन एजेन्ट, औषधि र नजल्ने पार्टेसन बोर्ड आदि निर्माणमा प्रयोग हुन्छ । म्याग्नेसाइटलाई एक हजार डिग्री सेल्सियसमा पोलेर बनाएको डिविएम उच्च तापक्रम थेग्न सक्ने भट्टाहरू बनाउन प्रयोग हुन्छ ।

उक्त पदार्थ नेपाल र भारतमा प्रशस्त मात्रामा खपत हुने हुँदा बजारको कुनै खाँचो नभएको भट्टराईले बताए ।

व्यवस्थापनको कमजोरीले बन्द रहेको खानीलाई नेपाल सरकार र यसका साझेदारले ०५५ मा पुनः सञ्चालन प्रयास गरेका थिए । त्यस बेला चिनियाँ कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर छोटो समयमै उद्योग बन्द गर्न परेको थियो । ''रक्सौलमा हामीलाई एकसय ६० युएस डलर प्रतिटन पर्ने डिविएम भिजगा पट्टम पोर्टमा चाइनिजले एकसय २० डलरमा उपलब्ध गराएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो,' भट्टराईले भने । त्यस बेला उद्योगले अस्टियन टेक्नोलोजी प्रयोग गरेको थियो । अहिले भने दुई चरणमा पोल्ने (डबल स्टेज फायरिङ) प्रविधि अपनाएर उक्त पदार्थहरू उत्पादन गर्ने तयारी भइरहेको छ । उद्योग सञ्चालनपछि दैनिक करिब ८० टनसम्म उत्पादन हुने भट्टा बनाइने छ र उद्योग १२ महिनै सञ्चालन हुने छ ।

स्थापनाताका उद्योगको व्यवस्थापनमा भारतीय लगानीकर्ता ओडिसाको सक्रियता थियो । ०५५ मा नेपाल सरकारको सक्रियतामा उक्त उद्योग सञ्चालन गरिएको थियो । अहिले भने उद्योगको व्यवस्थापनमा नेपाली उद्यमी खेतान ग्रुपको सक्रियता रहने छ । उद्योग पूर्णक्षमतामा सञ्चालन भएपछि प्रत्यक्ष आठ सय जनाले रोजगारी पाउन सक्ने छन् भने अप्रत्यक्ष हजारौंले पाउने सञ्चालन प्रतिवेदनमा उल्लेख छ । खानी सञ्चालन अत्यावश्यक भएको तर दोलखा र सिन्धुपाल्चोक क्षेत्रमा वातावरणीय र सामाजिक विकासको कार्य पनि सँगै लानुपर्ने लाकुरीडाँडा गाविसका पूर्वउपाध्यक्ष जीतबहादुर बताउँछन् ।

Published on: 25 January 2014 | Kantipur 

Back to list

;