s

८ करोड उठाएर सञ्चालक फरार चीनमा डाक्टरी पढ्न गएका ७० विद्यार्थी बिचल्लीमा

अनमोलमणि पौडेल

विद्यार्थीबाट करिब ८ करोड उठाएर फरार मदरल्यान्ड च्यारिटेबल फाउन्डेसन नेपाल र एक्टिभ इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ नपर्दा उनीहरूमार्फत चीनमा एमबीबीएस र एमडी पढ्न गएका ७० विद्यार्थी बिचल्लीमा परेका छन् । उठाएको शुल्क सम्बन्धित कलेजमा नपठाई ठगी गरेपछि ५ वर्षका लागि चिकित्साशास्त्र अध्ययन गर्न गएका विद्यार्थीको बिचल्ली भएको हो । फाउन्डेसनले आंशिक छात्रवृत्ति भन्दै एमबीबीएस अध्ययनका लागि १२ लाख र एमडीका लागि ७ लाख ५० हजार रुपैयाँ लिएर चीनका विभिन्न मेडिकल कलेज पठाएको थियो । संस्थाका सबै सञ्चालक अहिले फरार छन् । 
 
कालिमाटीस्थित फाउन्डेसनको कार्यालयमा प्रहरीले सिल गरेको छ । फाउन्डेसनमार्फत ठगिएका ५१ विद्यार्थीको परिचय खुलेको छ । पीडितहरूका अनुसार ठगिने विद्यार्थी ७० भन्दा बढी छन् । केही विद्यार्थीको ६ महिना र कसैको एक वर्षको केही शुल्क कलेज पठाएर भर्ना गरिदिए पनि नियमित पठाउनुपर्ने शुल्क नपठाएपछि चीनका कलेजले ती विद्यार्थीलाई मार्चभित्रमा पूरै शुल्क -३० लाख रुपैयाँ) बुझाउन या कलेज छाड्न चेतावनी दिएका छन् । नेपालमा सामान्य आर्थिक अवस्था भएका विद्यार्थीहरू पैसा थपेर पढ्न सक्ने अवस्थामा छैनन् । उनीहरू हाल चीनको साउथर्न, लाउनिङ, चाउचाङ, क्विङदाव, ग्वान्जाउ र ताइन्जिनका मेडिकल कलेजमा अध्ययनरत छन् । 
 
विद्यार्थीले करोडौंको ठगीमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाउन र आफूहरूलाई नियमित अध्ययनको वातावरण मिलाइदिन सरकारसित आग्रह गरेका छन् ।
 
'हामी पैसा थपेर पढ्न सक्ने अवस्थामा छैनौं । हामीबाट पैसा लिएर फाउन्डेसनले सम्बन्धित कलेजमा पैसा नपठाउँदा बिचल्ली भएको छ,' क्विनदावमा एमबीबीएस पढ्न गएका आशिष खनालले कान्तिपुरसित भने, 'कलेजले फी नतिरेको र तिर्न ताकेता गर्दै सूचना निकालेको निकाल्यै छ । हामीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको छ । केही व्यक्तिको ठगीले हामी मारमा परेका छौं । मानसिक रूपमै हामीलाई चर्को दबाब पर्दै गएको छ ।'
 
फाउन्डेसनले सार्वजनिक सूचना गरेर विद्यार्थी छनोट गरेको थियो । २०६७ भदौ ३ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको संस्थाका सञ्चालक महोत्तरी निर्गौलका मुकेश झा, राजबहादुर झा, काठमाडौं २१ की अनिता शाक्य, प्रविना खोलाली र ललितपुर १३ की सुषमा ढुंगाना छन् । उनीहरूले चीनका कलेजमा आंशिक छात्रवृत्ति उपलब्ध गराउने भन्दै विद्यार्थीसित रकम उठाएका थिए । 
 
फरार रहेकामध्ये राजबहादुर झालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । 'मुकेश झाले आफ्नो संस्थाको फेसबुक चलाइरहेका छन् । केही साथीलाई धम्क्याइरहेका छन् । प्रहरीले गिरफ्तार गर्न सकेको छैन,' लाउनिङमा एमडी अध्ययनरत डा. नीरज अर्यालकी श्रीमती नीलाले भनिन्, 'काठमाडौंमै रहेका शाक्य र खोलालीलाई पनि प्रहरीले गिरफ्तार गरेको छैन । उनीहरू निरन्तर परिवारको सम्पर्कमा छन् भन्ने सूचना पाएका छौं । प्रशासन र प्रहरीले चासो दिएन ।' विद्यार्थीहरूका अनुसार चीनका सरकारी कलेज भएकाले नेपालको सरकारी तहले लिखित अनुरोध गरिदिए उनीहरूको अध्ययन निरन्तर हुन सक्छ । यसबारे परराष्ट्र मन्त्रालयले चासो राख्दै चीनस्थित नेपाली दूतावासलाई पत्र भने पठाएको छ । 'ठगको फन्दाले हाम्रो लाखौं रुपैयाँ सकियो, पढाइ अपूरो भयो । सरकारले चासो दिए हाम्रा केटाकेटीले पढाइ पूरा गर्न पाउने थिए,' साउथर्नमा छोरीलाई एमबीबीएस गर्न पठाएका हरेन्द्र ठाकुरले भने, 'दर्जनौं विद्यार्थीलाई बिचल्ली बनाएर करोडौं ठग्नेहरूलाई गिरफ्तार गर्न कसैले गम्भीर चासो देखाएको छैन । सामान्यजस्तो ठान्दैछन् ।'
 
शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाका एक अधिकारीले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको बताए । 'थप प्रक्रिया त्यहाँबाट हुनेछ,' उनले भने । पीडित परिवारले भने परराष्ट्रका कर्मचारीले गुनासो सुन्ने समय नभएको भन्दै पन्छिने गरेको बताए । उक्त फाउन्डेसनले डा. सवनम जावेद, अख्तर खान र डा. विवता शाहलाई एमडीको अध्ययनका लागि सम्बन्धित विश्वविद्यालय र कलेजको कागजात दिएर शुल्क लिए पनि उक्त कागजात नै नक्कली फेला परेको छ ।
 
Published on: 6 February 2013 | Kantipur
 

Back to list

;