s

८ देशका कामदार युएइ जाँदा प्रहरी रिपोर्ट नचाहिने

प्रकाश ढुंगाना

सरकारले पहल नथाल्दा नेपालीमाथिको नियम यथावत

युएइमा काम गर्न जाने भारतसहित ८ देशका कामदारलाई प्रहरी रिपोर्ट नचाहिने भएको छ।

भारत, श्रीलंका इन्डोनेसिया, इजिष्ट, सेनेगल, नाइजेरिया र ट्युनिसियाका कामदारले युएइ प्रवेशका लागि अब प्रहरी रिपोर्ट बनाउन नपर्ने युएइ सरकारले जनाएको छ।
 
युएइ सरकारले गत फेब्रुअरी ५ तारिखदेखि सबै देशका कामदारहरू आफ्नो देश प्रवेश गर्दा प्रहरी रिपोर्ट अनिवार्य चाहिने नयाँ नियम लगाएको थियो।
 
भारतसहितका ८ देशहरूले यस विषयमा असन्तुष्ट जनाएपछि युएइले ती देशका कामदारलाई प्रहरी रिपोर्ट नचाहिने बताएको हो। भारतसहितका ८ देशको कुटनीतिक पहलपछि ती देशका कामदारलाई प्रहरी रिपोर्ट बनाउन नपर्ने सहमति भएको हो।
 
तर नेपालबाट जाने कामदारहरूले भने प्रहरी रिपोर्ट बनाउनु पर्नेछ। प्रहरी रिपोर्टलाई सम्बन्धित देशको राजदूतावासबाट प्रमाणिकरण गर्नुपर्ने भएता पनि पछिल्लो समय २ वटा निजी कम्पनीलाई त्यसको जिम्मा दिइएको छ।
 
प्रमाणिकरणका लागि कामदारले थप ४२ सय तिर्नुपर्ने छ। यस विषयमा नेपाल सरकारले कुटनीतिक पहल नथाल्दा नेपाली कामदारहरूले प्रहरी रिपोर्ट बनाउनुपर्ने अवस्था सिर्जना भएको हो।
 
‘सरकारले बिर्सियो भनौं भने हामीले पटक पटक जानकारी गराएकै छौं,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने, ‘सरकारी लाचारीका कारण कामदारले थप आर्थिक भार ब्यहोर्नु परेको छ।’
 
युएइमा १ वर्षमा कम्तीमा १ लाख कामदार जाने गरेका छन्।
 
Published on: 27 March 2018 | Setopati
 
 

Back to list

;