s

८ बालबालिकाको उद्धार

सप्तरीका विनोद यादव पत्नी सोनादेवी र तीन छोरोछोरी भारतको चण्डीगढमा छाडेर वैदेशिक रोजगारीमा गए । तर, सोनादेवीको आकस्मात मृत्यु भएपछि छोराछोरीको बिचल्ली भयो । उनीहरूलाई भारतस्थित नेपाली दूतावास, माइती इन्डिया र विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरिएको छ ।
 
आमाको मृत्युपछि ११ वर्षीय ओम यादव, १० वर्षीय बिग यादव र ४ वर्षीया काजलले निकै सास्ती खेपेको उद्धारकर्ताहरूले जनाएका छन् । माइती इन्डियाले उनीहरूसँगै भारतका विभिन्न स्थानमा अलपत्र ८ नेपाली बालबालिकालाई उद्धार गरी नेपाल पठाएको हो । उनीहरूलाई बिहीबार नेपालगन्ज ल्याइएको छ । 
 
उद्धार गरिएका अन्यमा सर्लाहीका १३ वर्षीय अमिर तामाङ, १४ वर्षीय सुरेश रम्तेल, रोल्पाका १४ वर्षीय ऐते विक र १२ वर्षीय होमे विक छन् । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भारतको दिल्ली, उडिसा, चन्डीगढलगायत स्थानबाट उद्धार गरिएका यी बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बताए । तर, आमाको मृत्यु भइसकेका र बुबा वैदेशिक रोजगारीमा रहेका तीन बालबालिकाको हकमा समस्या देखिएको छ ।
 
बालिका अपहरणमुक्त
 
धादिङको थाक्रे गाउँपालिकाबाट प्रहरीले एक बालिकाको उद्धार गरेको छ । पोखराको चिप्लेढुंगाबाट अपहरणमा परेकी दुई वर्षीया रोशनी भुजेललाई बुधबार राति प्रहरीले सकुशल उद्धार गरेको हो । बालिका बजारमा घुमिरहेको अवस्थामा स्थानीयलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले धुनीबेंसी नगरपालिका धार्केस्थित चालिसे घर भएका २७ वर्षीय सन्तोष सापकोटालाई पक्राउ गरेको छ । सापकोटाले बालिकालाई गत २० गते पोखराबाट धादिङ ल्याएको खुलेको छ । बालिकाकी आमा चिप्लेढुंगामा कवाडी संकलन गर्छिन् । सापकोटाले दिउँसो रेखदेख गरिदिने बहानामा अपहरण गरी ल्याइएको स्वीकारेको प्रहरीले जनायो ।
 
Published on: 8 September 2017 | Kantipur

Back to list

;