s

७५३ रोजगार संयोजकका लागि २४ हजारको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न ७५३ स्थानीय तहमा नियुक्त गर्न भन्दै आव्हान भएको विज्ञापनमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको छ। माघ ३ गतेदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गरेको थियो। गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरेको थियो ।

आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश ३ मा परेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको जानकारीअनुसार उक्त प्रदेशमा ४ हजार ९९४ जनाको आवेदन परेको छ। त्यस्तै सुदूरपश्चिममा ४ हजार ४, प्रदेश २ मा ३ हजार ६७१, प्रदेश १ मा ३ हजार ६६५, कर्णालीमा ३ हजार ३७८, प्रदेश ५ मा २ हजार ३०१ र सबैभन्दा कम गण्डकी प्रदेशमा १ हजार ९५५ जनाकाे आवेदन परेको छ।

कूल आवेदनमध्ये ५ हजार ८०५ जना आवेदकहरुले आफ्नो ईमेलमा गई आवेदन भेरीफाइ गरेका छैनन्। तोकिएको समयसीमाभित्र आवदेन दिएका तर भेरीफाइ नगरेका आवेदकहरुलाई भोली मिति आज राती १२.००बजेसम्म भेरीफाइका लागि खबर पठाइएकाे छ। दरखास्तहरुको तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यताक्रमको प्रारम्भिक सूची आजका मितिले १० दिनभित्र तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np मा सूचना सार्वजनिक गरिने कार्यक्रमले जानकारी दिएको छ।

रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाटै परीक्षा लिने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको प्रारम्भिक छनोटमा परेका उम्मेदवारसँग सातै प्रदेशमा तोकिएको स्थानमा कम्पयुटरबाट परीक्षा लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले जानकारी दिए।

“रोजगार संयोजकको छनोटमा कुनै दबाब र प्रभावले काम नगरोस् भनेर अनलाइन प्रणालीको विकास गरिएको हो ” उनले भने। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसअघि नै कुनै राजनीतिक दबाब तथा प्रभाव नपर्ने गरी अनलाइन प्रणालीको विकास गरेर निश्पक्ष रुपमा रोजगार संयोजकको छनोट गर्न निर्देशन दिएका थिए।

रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् । त्यसैगरी रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन्

Published on:  2 February 2019 । Setopati 

Back to list

;