s

७५ हजारमा इजरायल

लौं, इजरायल खुल्यो रे ! फेरि बन्द भयो रे ! म्यानपावर कम्पनीले धमाधम पैसा उठाई इजरायलमा पठाउन थालिसक्यो रे ! 

तीन महिनायता यस्तै हल्ला दिनहुँ सुनिए । अझ बढी चासोको विषय अर्को थियो, इजरायल जाने लागत खर्च कति तोकिएला ? सामान्य आयस्ता भएकाका लागि पहुँच होला कि नहोला ?  

शुक्रबारबाट यी सबै कौतुहलता टुंगिएका छन् । सुरक्षित र आकर्षक गन्तव्य मानिएको इजरायल जान सरकारले हवाई भाडाबाहेक ७५ हजार रुपैयाँ लागत खर्च तोकेको छ । 

श्रममन्त्री सरिता गिरीले झन्डै एक साता सबै पक्षको अध्ययन गरेर इजरायल जाने लागत खर्च तोकिएको बताइन् । 'अब इजरायल जान ७५ हजार रुपैयाँभन्दा माथि लाग्दैन,' श्रम मन्त्रीको जिम्मेवारी समालेपछिको आफ्नो पहिलो महत्त्वपूर्ण निर्णय उनले खुसी हुँदै सुनाइन्, 'यो लागत खर्च सबैको हितमा छ ।' 

इजरायलमा बूढाबूढीको स्याहार-सुसारको काम (केयरगिभर) मा जानमात्रै खुलेको हो । त्यहाँ सबैभन्दा बढी माग महिला कामदारको छ । कामदारले ८ सयदेखि १२ सय डलर कमाउने गरेका छन् । उनका अनुसार व्यवसायीहरूका लागि पर्याप्त प्रवर्द्धन खर्च छुट्याइएको छ । 'हामीले व्यवसायीका लागि ५० हजार रुपैयाँ सेवा शुल्क छुट्याइएका छौं,' उनीले भनिन्, 'जापानका लागि पनि यत्ति नै हो । यो उहाँहरूका लागि धेरै हो ।'  

बाँकी २५ हजार रुपैयाँ भने कामदारको बिमा, तालिम खर्च, कल्याणकारी कोषका लागि हो । इजरायलको लागत खर्च यति सस्तो हुनुका कारण सरकारले भिसा शुल्क लिन नपाउने व्यवस्था हो । 'इजरायल सरकारले कामदारलाई दिइने निःशुल्क भिसामा कसैले शुल्क लिन पाउँदैन,' मन्त्री गिरीले भनिन्, 'जुन भिसा निःशुल्क छ, त्यो कामदारसँग शुल्क लिन पाइँदैन ।' 

मन्त्रीका अनुसार यो लागत खर्च पनि इजरायल सरकारले तोकेको सबैभन्दा उच्च हो । व्यवसायीले भने भिसा र कमिसन शुल्कका कारण लागत खर्च महँगो पर्न गएको बताउँदै आएका छन् । यसअघि श्रम मन्त्रालयकै श्रम सम्बन्ध महाशाखाले व्यवसायीसँग छलफल गरी भिसा, कमिसन र हवाई भाडा जोडी २ हजार ९ सय २५ अमेरिकी डलर -२ लाख २९ हजार रुपैयाँ) लागत खर्च तोक्न मन्त्रीसमक्ष सिफारिस गरेको थियो । 

उनले व्यवसायीको सेवा खर्च नघटाएकाले यही लागत खर्चभित्र रहेर काम गर्नुपर्ने बताइन् । 'यसअघि दुई पटक बन्द भएको कुरालाई व्यवसायीले बिर्सन मिल्दैन,' उनीले भनिन्, 'यहाँ बढ्ता लागत खर्च लिइदिँदा इजरायलमा पुगेका कामदारहरू निकै तनावमा काम गरे । उनीहरूले भनेजस्तो भएन । जसले उजुरीहरू बढ्यो । परिणामस्वरूप आकर्षक गन्तव्य बन्द भयो । यसबाट सबैले पाठ सिक्नुपर्छ ।'

यसअघि १२ लाख रुपैयाँसम्म सेवा शुल्क लिई म्यानपावर कम्पनीले इजरायल पठाएको थियो । गत भदौमा खुल्ला गरेको इजरायल पठाउन श्रम मन्त्रालयले कार्यविधिसमेत बनाएर कामदार पठाउन लागेको हो । कार्यविधिभित्र परेको २ सय ६ म्यानपावर कम्पनीलाई इजरायलमा कामदार पठाउन वैदेशिक रोजगार विभागले अनुमति दिएको छ । 'महिलाका लागि सबैभन्दा सुरक्षित र आकर्षक यो क्षेत्रलाई जोगाउनुपर्छ,' आप्रवासी महिलाहरूको संस्था पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले भनिन्, 'किन भने सबैले खाडीमा काम गर्ने महिलाको अवस्था बुझ्न जरुरी छ ।' 

मन्त्री गिरीले व्यवसायीहरूलाई स्वच्छ रूपमा काम गर्न अनुरोध गरेकी छिन् । 'हामी व्यवसायीको पनि भलो चाहन्छौं । सबैले पारदर्शी भएर काम गर्न जरुरी छ,' उनको भनाइ थियो, 'योभन्दा बाहिर गएर काम गरेको पाइएमा कारबाही त अवश्य हुन्छ, त्योभन्दा महत्त्वपूर्ण एउटा गरिब नेपाली महिलाले न्यून लागतमा सुरक्षित भई आकर्षक कमाई हुने गन्तव्य जोगाउन जरुरी छ ।' 

Published on: 26 November 2011 | Kantipur

Back to list

;