s

७५ चिकित्सक करारमा राख्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ७५ जना चिकित्सक करारमा नियुक्ति गर्ने तयारी गरेको छ। करारमा नियुक्तिका लागि मन्त्रालयले आइतबार चिकित्सकको अन्तर्वार्ता सुरु गरेको छ। करारमा नियुक्तिका लागि करिब तीन सय चिकित्सकले आवेदन दिएका थिए।

अन्तर्वार्तापछि साउनको पहिलो साताभित्र कार्यक्षेत्रमा पठाइने गरी नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। करारमा पद पूर्तिका लागि मन्त्रालयले असार ४ गते विज्ञापन गरेको थियो।

मन्त्रालयले ती पदमा कार्यरत चिकित्सक अध्ययन वा अन्य कारणबाट लामो विदामा रहेका, राम्रो अवसर पाई छोडेर जानु र सेवाअवधि पूरा भई रिक्त दरबन्दीमा करारमा चिकित्सक नियुक्त गर्न लागिएको जनाएको छ। ...अहिलेको भन्दा राम्रो अवसर पाए र स्थायी सेवा पाएपछि चिकित्सक करार छोडी जाने भएकाले दरबन्दी छिटो रिक्त हुने गरेको छ। ती रिक्त दरबन्दीमा नै अहिले करारमा लिइने चिकित्सकलाई पठाइन्छ,' मन्त्रालयका शाखा अधिकृत गगनसिंह बिष्टले भने।

जिल्ला अस्पताल र प्राथमिक केन्द्रमा चिकित्सक नभएको जानकारी मन्त्रालयमा आएको र कतिपय ठाउँमा चिकित्सक माग्दै धर्नासमेत भएपछि रिक्त दरबन्दीमा करार नियुक्त गर्न लागेको बिष्टले जनाए। उनले भने, ...रिक्त दरबन्दीमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक पनि काम गरिरहेका छन्। तर उनीहरूमात्र पर्याप्त नभएकाले करारमा थप चिकित्सक पठाउन लागिएको हो।'

एक वर्षे करारका लागि लोकसेवा दिइसकेका र नदिएका दुवै गरी ३ सय एमबिबिएस चिकित्सकले आवेदन दिएका थिए। रिक्त दरबन्दीमा तुरुन्तै करारमा कर्मचारी पठाउने स्वास्थ्य ऐनको व्यवस्था अनुसार मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाएको हो।

लोक सेवा आयोगले जिल्लामा रिक्त रहेका १ सय ५० दरबन्दीमा करार नियुक्तिका लागि गत चैतमा प्रक्रिया अघि बढाएको थियो।


Published  on: 13 July 2015 | Nagarik
 

Back to list

;