s

७२ घर, ६२ युवा विदेश

गगनशिला खड्का

गुल्मी — मालिका गाउँपालिका–५ बाँसारुखका भीम गिरी मलेसिया गएको १५ वर्ष भयो । घरमा ६१ वर्षीय बुबा, ५७ वर्षीया आमा र सानी बहिनी छन् । एक्लो छोरा विदेश गएपछि सघाउने कोही छैन । 

सोही वडाको राउतटोलका ८० वर्षीय धनबहादुर र भक्तिमाया राउतका एकमात्र छोरा लोकेन्द्र पनि रोजगारीका लागि क्रोएसिया पुगेका छन् । छोरा विदेशिएपछि बुढेसकालमा उनीहरूलाई खेती किसानी, मेलापात सबै धान्ने बाध्यता आइलागेको छ । श्रीमान् जितेन्द्र गिरी रोजगारीका लागि मलेसिया गएपछि काफलपाटाकी टीकाको घरमा मेलापात, खेतीपातीमा सघाउने कोही छैन ।

मुलुकमा हातमुख जोर्ने कुनै उपाय नभएपछि भीम, जितेन्द्र र लोकेन्द्रजस्तै विदेश जाने युवाहरूको लर्को जारी छ । स्थानीय प्रेमबहादुर जीसीका अनुसार वडा ५ को एउटा टोल छाप, बाटामुनि, फलेताका रूख, काभ्राका रूख, ठूलापाटा, खोरबारा, बाँसारूख, निरचौर, राउतटोला, एकपाखे, छापहिलेमा मात्रै ६२ जना रोजगारीका लागि विदेश गएका छन् ।

टोलका ७२ घरबाट ६२ युवा विदेशिएपछि गाउँ वृद्धवृद्धा र महिलाको जिम्मामा छ । ‘खेतीपातीका लागि जोतबाह गर्ने त बूढाबूढी मात्रै छन्,’ जीसीले भने, ‘हामी गाउँमा भएका दस–आठ जना युवा पनि कामको सिलसिलामा कहिले कता कहिले कता पुग्दा गाउँमा मर्दापर्दा सहयोग गर्नेसम्म युवा छैनन् ।’

मंगलबार रातिदेखि नाकबाट लगातार रगत बगेर बिरामी परेका ७२ वर्षीय खिमबहादुर बस्नेतलाई तत्काल अस्पताल पुर्‍याउने कोही भएन । बिहान ७ बजेमात्रै ७० वर्षीया श्रीमतीले उनलाई उपचारका लागि गुल्मी अस्पताल पुर्‍याइन् ।

‘बूढाबूढी एक्लै हुँदा बिरामी पर्दा उपचार गर्नेसम्म कोही भएन,’ बस्नेतकी श्रीमतीले भनिन्, ‘पाल्पा लैजानका लागि छिमेकीलाई बोलाउनुपर्‍यो ।’ छापहिलेदेखि सदरमुकाम तम्घास जिप सञ्चालन गर्दै आएका स्थानीय लोकबहादुर थापा गाउँमा धेरैको उपचारका लागि अस्पताल लैजाने मान्छेसमेत नभएको बताउँछन् । ‘नियमित जिप चलाउने भएकाले हामी नै गाउँका धेरैका छोराजस्तै भएका छौं,’ उनले भने, ‘उपचारका लागि ल्याउने लैजाने, ऋण खोजिदिने काम हामीले नै गर्छौं ।’

देशमा रोजगारी नपाएपछि गर्जो टार्न कमाउनका लागि युवा विदेश जानु बाध्यता भएको उनीहरू बताउँछन् । घरको मूली विदेश पसेसँगै घरमा आवश्यकता पनि बढेका छन् । छोराछोरी पढाउन भन्दै बच्चाबच्ची लिएर बुहारी सहर पसेपछि गाउँमा वृद्धवृद्धा मात्रै छन् । बुढेसकालमा खेतीपाती गरेर सहर बस्नेहरूलाई अन्न र तरकारी पुर्‍याउनुपर्ने बाध्यता रहेको चिसापानीका नरसिंह जीसीले बताए ।

‘साँवाको भन्दा ब्याजको माया भनेको यही त होला,’ उनले भने, ‘जति दुःख गर्न परे पनि नाति–नातिनाको मायाले उनीहरूले नखाएसम्म हाम्लाई खान मन लाग्दैन । सक्ने बेलासम्म खेती गरेरै पठाउनुपर्‍यो । सदरमुकाम तम्घासमा रहेकी बुहारी र नाति–नातिनालाई तरकारी पठाउन उनी मंगलबार गाडी कुरिरहेका थिए ।

निर्वाचनका बेला विदेश गएका युवालाई गाउँ फर्काउने र यतै रोक्ने भाषण गरेर नथाक्ने नेताले चुनावपछि आफ्नै वाचा बिर्सिएको धनबहादुर जीसीले बताए । वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका उनले आफ्नो जिन्दगी विदेशी भूमिमा सेवा गर्दागर्दै बितेको दुखेसो पोखे । ‘चुनावताका त आकाशका तारा पनि भुइँमा झार्छौं भन्थे नि, अहिले कसले के गर्‍यो र आखिर ?’ उनले भने, ‘बुढेसकाल लाग्दा पनि विदेश नआई भएको छैन ।’

दैनिक रूपमा विदेश जाने युवाको संख्या बढे पनि स्थानीय सरकारले उनीहरूलाई रोक्न नसकेको मालिका गाउँपालिकाका प्रवक्ता अर्जुन बुढा स्विकार्छन् । ‘गाउँपालिकाले पञ्चवर्षीय योजनाका रूपमा कृषि र पशुपालनका लागि युवा लक्षित कार्यक्रम ल्याएको छ तर विदेश जाने युवालाई रोक्न नसकेको साँचो हो,’ उनले भने, ‘युवाहरूले आत्मनिर्भर हुन रुचाएनन्, थारै तलबमा भए पनि विदेश गएर कमाइन्छ भन्ने सोच बनाए ।’

Published on: 7 March 2023 | Kantipur

Link

Back to list

;