s

‘७ सय ३४ रियाल पनि लगिदिनुस्’

'तपाइको नागरिकको शव पठाइदिनुपर्‍यो,' कतारको दोहास्थित नेपाली दूतावासमा आइपुगेका मुदिर (म्यानेजर) ले भन्नथाल्यो, 'अनुमति दिनुपर्‍यो ।' मातिम-६, खोटाङका पशुराम खड्काको शव पठाउन उनी कार्यरत कम्पनीका मुदिर दूतावास पुगेका हुन् । 'कम्पनीले दिनुपर्ने बक्यौता तलब र क्षतिपूर्ति दूतावासमा बुझाएपछि मात्रै शव पठाउने अनुमति पाइन्छ,'  हिसाबकिताब हेर्ने सहचारी कृष्ण पन्थीले उसलाई सोधे, 'सबै ल्याउनु भएको छ ?' 'उसले पाउने तलब सात सय ३४ रियाल हो । ल्याइदिएको छु,' मुदिरले हिसाबकिताब देखाए, 'उसको सरसामान बाँकी ब्यागमा छ ।' किन यति मात्रै त ? पन्थीले सोधे, 'अरू क्षतिपूर्ति नि ?'  

'ऊ एक महिनाअघि मात्रै आएको हो । उसले कमाएको यत्ति हो,' मुदिरले भने, 'हृदयाघात भएर उसको मृत्यु भएको हो । यसरी मृत्यु भएकोलाई क्षतिपूर्ति दिने व्यवस्था छैन ।'

३० वर्षीय खड्काको गत भदौ ३० गते काम सकेर आएलगत्तै बेहोस भई ज्यान गएको थियो । त्यतिखेर बेहोस भई अस्पताल लैजाँदा डाक्टरले हृदयाघात भएको जानकारी दिएका थिए ।

यहाँ अल सेप्हिक ट्रान्सपोर्टमा हेल्परमा आएका खड्का विवाहित हुन् । 'उसका बच्चाहरू छैनन् । भर्खरै आएको हो । उता मृत्युको खबरले परिवारमा निकै ठूलो चोट पुगेको छ,' उसका आफन्त खेमबहादुर खड्काले भने, 'ऋणमा आएका उनी पहिलो महिनाको तलब आफैंले बुझ्न नपाउँदै ज्यान गयो ।'

काम गर्दागर्दै पनि बेहोस भई ज्यान गए पनि यसलाई हृदयाघात भन्ने हुँदा धेरै मृतकका परिवारले क्षतिपूर्ति पाउनबाट वञ्चित भएका छन् । गर्मीमा काम गरेर एसीमा बस्दा धेरै सुतेको सुत्यै हुने गरेको छ । दूतावासले पनि डाक्टर हृदयाघात भनेर मेडिकल रिपोर्ट दिएपछि केही गर्न नसक्ने अवस्थामा छ । यो अवस्था बुझेका सहचारी पन्थीले शव लिएर जान लागेका आफन्त खेमबहादुरलाई भने, 'लौ उनको कमाइ ७ सय ३४ रियाल मात्रै रहेछ । यो पनि सँगै लिएर जानुहोला । परिवारले बुझेको प्रमाण ल्याउनुहोला ।' 

Published on: October 2012 | Kantipur

Back to list

;