s

भारतमा ३ नेपालीको मृत्यु

दार्चुला, असार २४ -
भारतको महाराष्ट्र जलापुरमा रेलले किचेर ३ नेपालीको मृत्यु भएको छ । बेंग्लोर जाने क्रममा मंगलबार बिहान ४ बजेतिर रेलले किचेर उनीहरूको मृत्यु भएको हो । घटनामा एक सख्त घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुलाको अपि नगरपालिका(४ कोटका ५९ वर्षीय देवदत्त भट्ट, ५ नम्बर वडा कोटकौतलीका ३५ वर्षीय किशनसिंह कुँवर र उक्त स्थानका २५ वर्षीय लालसिंह कँुवर रहेको किशनका दाइ कम्मानसिंह कँुवरले बताए । सख्त घाइते भएका अपि नगरपालिका(७ काटैका मन्या लोथ्यालको जलापुर अस्पतालमा उपचार भइरहेको छ ।

जलापुर जंगलमा रेल चलिरहेका बेला लोथ्याल हामफालेपछि ८ किलोमिटर पर गएर रेल रोकिएको थियो । त्यसपछि पथ्याललाई खोज्न हिँडेका तीनैजना रेलको पटरीमा हेरिरहेका बेला एक्कासि रेल आएर किचेको जनाइएको छ । उनीहरूको मोबाइलबाट बेंग्लोरमा सँगै काम गर्ने कैलाशलाई महाराष्ट्र प्रहरीले फोन गरेपछि घटनाबारे थाहा पाएको किशनका दाइ कम्मानले बताए । रेलले कुच्दा उनीहरूको शरीर क्षतविक्षत भएको थियो । बिहीबार उनीहरूको शवलाई जलापुर जंगलमा दाहसंस्कार गरिएको छ । घरबाट असार १९ गते हिँडेका उनीहरू काममा फर्कंदै थिए । केही कमाएर परिवार पाल्न भारतमा मजदुरी गर्न गएका उनीहरूको मृत्युपछि घरमा रुवाबासी चलेको छ ।



Published 10 July 2015. Kantipur.
 

Back to list

;