s

६४ वर्षपछि घर फर्किँदा...

सिन्धुली — दाहिने हातको पाखुरा कन्याउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा एक वृद्ध निजी कारबाट ओर्लिए । शिरमा ढाकाटोपी, जिउमा गन्जी, पाइन्ट, खुट्टामा चप्पल लगाएका उनले चारैतिर हेरे । अनौठो माने । नमानुन् पनि कसरी, ६४ वर्षअघि बालकैमा गाउँ छाडेर मुग्लान भासिएका ७८ वर्षीय काजीमान थिङ (साइँला) जीवनको उत्तरार्द्धमा जीर्ण अवस्थामा फिरेका थिए । साथमा भएको झोलामा एकजोर पुराना कपडा बाहेक केही थिएन । १४ वर्षको उमेरमा घर छाडेर हिँडेका काजीमान आफन्तको खोजीमा जिल्ला प्रशासन कार्यालय आइपुगेका थिए ।

दाद रोगले दाहिने हातको पाखुरा कन्याइरहेका काजीमानलाई बहिनी चन्द्रमायाँ थिङले चिन्न सकिनन् । सुनकोशी गाउँपालिका–६ को गौखर्कका काजीमानले आफ्नो सम्झनामा रहेका पुराना कुराहरु भटाभट सुनाउन थालेपछि बहिनी र गाउँलेहरुले उनलाई ठम्याउन थाले । आफ्नो कुलको एक मात्र दाजु भेटेपछि बहिनी चन्द्रमाया भक्कानिइन् । ‘हामीले त दाइको आश मारेका थियौं,’ उनले भनिन्, ‘जस्तो अवस्थामा भएपनि दाजु भेटियो, धेरै खुसी भएका छौं । आखिर हाम्रो रगत त एउटै हो ।’

काजीमानले घर छोड्दा चन्द्रमाया जन्मिएकी पनि रहिनछन् । ०१६ सालमा दाइ काजीमानले घर छोडेर हिँडेको १० वर्षसम्म पनि कुनै खबर नभएकाले अर्को छोराको आशमा बाबुले ल्याएकी कान्छीबाट ०२७ सालमा जन्मिएकी रहिछिन् चन्द्रमाया । ‘तिमी मपट्टीको बहिनी हैन ?’ भनेर काजीमानले प्रश्न गरेपछि चन्द्रमायाँले ‘म कान्छी आमाकको छोरी हुँ’ भनेर अर्थ्याएकी थिइन् । अनि काजीमानले बुबाले अर्को विवाह गरेको भेउ पाए । घर छोडेर हिँड्दा दुइटा बहिनी र बाबु सनकमान मात्र थिए । आमा सञ्चमाया घाँसदाउरा गर्न जाँदा भीरबाट लडेर मृत्यु भइसकेको थियो । एक बहिनीको मृत्यु भइसकेको र अर्की एक जना गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कमा रहेको काजीमानलाई जानकारी दिइयो ।

रहरमा मुग्लान भासिएका काजीमानले आफ्नो घर बाहिर रहँदाको समयलाई बेलिविस्तार लगाए । 'सहरमा रमाइलो झिलीमिली हुने, गाडी दौडिने, मिठोमिठो खान, राम्रो लगाउन पाइने सुनेपछि बालसुलभ मष्तिस्कमा त्यही छाप बस्यो,' उनले भने, 'बुबा सनकमानले भैंसी बिक्री गरेर राखेको पैसा पाँच सय रुपैयाँ चोरेर मैले घर छाडेँ ।' गौखर्कबाट मझुवा, जलकन्या, गढी आडा भएर सदरमुकाम झरेपछि उनी हिँडेरै धनुषाको लालगढ निस्किए । त्यहाँबाट विराटनगर ट्रक चढेर पुगे । विराटनगर बसाई झरेका छिमेकी डाँडागाउँका कार्कीको घरमा तीन वर्ष काम गरे ।

त्यहाँबाट भुटानको फुन्चोलिङ पुगेर दैनिक दुई रुपैयाँ ५० पैसा हाजिरामा बिजुली कारखानामा तीन वर्ष काम गरे । त्यहाँको रोजगारी पनि छोडेर आसाम हुँदै भारतको पश्चिम बंगालको काल्चिनीमा पुगियो । लामो समय खेतीपाती गरेर बसेपछि घरजम भयो । तर सन्तान भएनन् । काजीमानले सन्जुमाया बाइवालाई ४५ वर्षको उमेरमा भित्राएका थिए । १२ वर्षजसो जोइपोइ मिलेर जीवन धानियो । मदिराको लतमा परेकी सन्जुमाया विष परेर बितेको उनी सुनाउँछन् । ‘श्रीमतीको मृत्यु भएपछि म एक्लिएँ । विस्तारै खेतीको काम गर्न नसक्ने भएर रोगले समात्यो,'उनले भने, ‘काल्चिनमा जमिन, घर सबै छ । काम गर्न नसक्ने भएपछि त्यो काम लागेन ।’ काल्चिनका छिमेकीहरु नेपाल घर भएको थाहा पाएकाले रोगले थलिएका काजीमानलाई विर्तामोडसम्म ल्याइदिए ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सुरज कार्की र रामेछाप घर भएका सुरेश सुवेदीको पहलमा काजीमानलाई इटहरीमा रहेको मायाघरमा आफन्त नभेटिएसम्मका लागि शरणमा राखियो । मायाघरमा नै काजीमानले उपचार र खान, लाउन पाए । १५ दिनमा नै राम्रोसँग बोल्न र आफ्नो घर ठेगाना भनेपछि उनलाई आफ्नो थातथलोमा पुनर्मिलन गराउन ल्याइएको मायाघर संस्थाका व्यवस्थापक बाबुराम सुवेदीले बताए ।

‘उहाँको बहिनीलाई हामीले पालनपोषणका लागि जिम्मा लगाएका छौं, अरु आफन्त खोजबिन हुँदै गर्ला भनेका छौं, अप्ठेरो परेमा सम्झनुस् हामी सघाउँछौं भनेका छौं’, व्यवस्थापक सुवेदीले भने, ‘हामीसँग १४३ जना सहाराविहीनहरु छन् । हामी एकअर्काको सहयोगमा उनीहरुको व्यवस्थापन गरिरहेका छौं ।’

काजीमान नफर्किएपछि किरिया भाग समेत छुट्याएको जग्गाजमिन आफ्नो पट्टिकी बहिनी विष्णुमायाले बिक्री गरेको चन्द्रमायाले सुनाएपछि काजीमानले आफूलाई सम्पतीको लोभ नभएको र आफ्नै भूमिमा प्राण त्याग्ने हुटहुटीले यहाँसम्म ल्याइ पुर्‍याएको बताए ।

‘लाहुरे बन्न मुग्लान पसियो, चाउरे बनेर फिर्किएँ’ भन्दै काजीमानले खित्का छोडेर हाँसे । नेपाली, तामाङ, हिन्दी, बंगला भाषा बोल्ने काजीमानलाई घिम खालाङ भनेर तामाङ भाषामा जिल्ला समन्वय समितिका संयोजक समेत रहेका कारसाङ लामाले सोधेका थिए । काजीमानले सहजै गौखर्क भनेर जवाफ फर्काए । उनीहरुको केहीबेर आफ्नै भाषामा कुराकानी भयो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफन्तहरु भेटिने क्रममा भएको र भारतको कागजपत्र केही बनाएको भए त्यसलाई त्यागेर नेपाली नागरिकता प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने र त्यसबाट लालनपालनमा मदत मिल्ने बताइन् ।

Published on: 2 August 2023 | Kantipur

Link

Back to list

;