s

६० प्रतिशत ट्रेकिङ गाइड अवैध

नेपालको पदयात्रा क्षेत्रमा काम गर्ने ६० प्रतिशत ट्रेकिङ गाइड अवैध रहेको पाइएको छ। ट्रेकिङ-ट्राभल-र्‍याफ्टिङ-एअरलाइन्स मजदुर संघ नेपाल (युनिट्राभ) ले गरेको अनुगमनमा इजाजतबिनाका गाइडले काम गरिरहेको फेला परेको हो।

युनिट्राभले शनिबार र आइतबार गरेको यस्तो अनुगमनबाट इजाजतपत्र तथा तालिम नपाएका, पारिश्रमिक कम पाएका र विद्यार्थीले गाइड गरेको भेटिएको छ। युनिट्राभका महासचिव सुमन पराजुलीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने अधिकांश कर्मचारीले न्यूनतम पारिश्रमिक पनि पाएका छैनन्।

मजदुरले तोकिएको पारिश्रमिक पाउनुगर्ने विषयमा युनिट्राभले आवाज उठाइरहेको छ। व्यावसायिक कम्पनी आफैंले अवैधानिक गतविधि बढाएको आरोप पराजुलीले लगाए। हाल पर्यटन क्षेत्रमा न्यूनतम पारिश्रमिक नपाउने मजदुरको संख्या करिब एक लाख रहेको युनिट्राभले जनाएको छ। युनिट्राभले अवैध कार्यलाई पूर्ण निरुत्साहित पार्न अभियान थाल्ने पराजुलीले बताए। युनिट्राभले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पर्यटक प्रहरी र अखिल पर्यटन मजदुर संघसँगको सहकार्यमा पोखराको अन्नपूर्ण पदायात्रामा जाने तीन सय समूहमा अनुगमन गरेको जनाएको छ।

नेपालका नाम चलेका ट्रेकिङ कम्पनीले नै अवैधानिक गतिविधि गर्न प्रोत्साहन गरेको युनिट्राभ पोखरा क्षेत्रीय समन्वय समितिका अध्यक्ष विजय केसीले बताए। उनका अनुसार शनिबार अनुगमन गरिएका एक सय दुईमध्ये ६४ वटा र आइतबार एक सय समूहमा अनुगमन गरिएकोमा ५५ वटा समूहका गाइडले लाइसेन्स र परिचयपत्र नलिएका, न्यूनतम पारिश्रमिक नपाएका र होटेलबाट ट्रेकिङ गाइडका रूपमा सामान्य कर्मचारीलाई खटाएको फेला परेको छ।

गत वर्षको पर्यटकीय सिजनयता मजदुर तथा गाइडले पाउनुपर्ने बढेको पारिश्रमिक पनि कम्पनीले नदिएको फेला परेको केसीले जानकारी दिए। केसीका अनुसार अन्नपूर्ण क्षेत्रमा गाइडले एक हजार र मजदुरले आठ सय ५० पाउनुपर्ने भए पनि योभन्दा न्यून पाश्रिमिक दिएको भेटियो। ट्रेकिङ व्यवसायीको यस्तो अवैध पर्यटकीय गतिविधि निरुत्साहित गर्न एक सातासम्म अनुगमनलाई निरन्तरता दिने केसीले बताए।

नेपालमा हाल पर्यटन मन्त्रालयबाट इजाजत लिएका आठ हजारभन्दा बढी ट्रेकिङ गाइड छन्। यीमध्ये ८० प्रतिशतले इजाजतपत्र नवीकरण गरेको पर्यटन मन्त्रालयका अधिकृत तिलक पाण्डेले बताए। इजाजत लिएका गाइडले नै काम नपाएको गुनासो आइरहेका बेलामा अवैधानिक गतिविधि हुनु व्यावसायिक कम्पनीकै लापर्बाही भएको पनि पाण्डेको बुझाइ छ।

Published on: 7 October 2013 | Annapurna Post

Back to list

;