s

६ महिनामा श्रम स्वीकृति लिएर ३ लाख नेपाली विदेश गए

काठमाडौं : वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए। उनले भने, 'पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।'

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौभन्दा मंसिर र पुसमा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन्।

Published on: 22 January 2024 | Annapurna Post

Link

Back to list

;