s

६ करोड धरौटीमा व्यवसायीबीच नै लफडा, अध्यक्षको राजीनामा माग

सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्‍याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायीबीच नै विवाद उत्पन्न भएको छ । बुधबार भएकोे म्यानपावर व्यवसायीको वृहत भेलामा वैदेशिक रोजगार व्यवसायी संघ नै सरकारको ६ करोड धरौटी पुर्‍याउने पक्षमा रहेको आरोप लगाउँदै व्यवसायीले बिरोध गरेका छन् ।
 
भेलामा अध्यक्ष रोहन गुरुङले बोल्दै गर्दा कांग्रेस पक्षधर व्यवसायीले कार्यक्रममा प्रदर्शन गरेका छन् । उनीहरुले अध्यक्ष नै मन्त्रीको निर्णयको पक्षमा रहेको आरेप लगाउँदै आफू बसेको स्थानबाट उठेर बिरोध जनाए । गुरूङ नेकपा निकट व्यवसायी हुन् ।
 
व्यवसायीको पक्षबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य रहेकी सीता देवकोटाले संघको भूमका शंकास्पद रहेको भन्दै अध्यक्षको राजीनामा माग गरिन् । उनले ६ करोड रुपैयाँ धरौटी र्पुयाइए म्यानपावर व्यवसाय नै ध्वस्त हुने दावी गरिन् ।
 
व्यवसायीहरूले अध्यक्ष गुरुङले व्यवसायी हितमा काम गर्न नसकेको र सरकारले पेल्न खोजेको अारोप लगाएका छन् ।६ करोड धरौटी पुर्‍याउने प्रस्तावका विरुद्धमा म्यानपावर कम्पनी बन्द गरेर लाइसेन्स सरकारलाई नै बुझाउने तयारीमा छन् ।वर्तमान सरकारले वैदेशिक रोजगारीबारे निर्णय गर्दा व्यवसायीसँग कुनै छलफल नगरेको भन्दै म्यानपावरवाला आक्रोशित छन् ।
 
सरकारले म्यानपावर कम्पनीहरुको धरौटी बढाएको मर्ज गर्न दिने व्यवस्था ल्याउनेे तयारी गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावरलाई मर्जरमा लैजान ६ करोड धरौटी र्पुयाउन गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
 
अहिले म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी ल्याउनुपर्ने व्यवस्था छ । अब नगद धरौटी मात्रै २ देखि अढाइ करोड पुर्‍याउन प्रस्ताव गरेको छ । बैंक ग्यारेन्टी ४ करोड राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ । धरौटी बढाउन नसक्नेलाई मर्जका लागि निश्चित अवधिको समय दिन प्रस्ताव गरिएको छ ।
 
श्रम मन्त्री गोकर्ण बिष्टले ‘नाङ्लो पसल’ थापेजस्तो म्यानपावर व्यवसाय चलाउने क्रमलाई बन्द गर्ने यस्तो नीति लिन लागेका हुन् । धरौटी कम हुँदा म्यानपावर दर्ता गरी ठगी गर्दै लाइसेन्स बेच्ने गरिरहेका छन् ।
 
धरौटी रकम कम हुँदा ठूलो ठगी गर्ने म्यानपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन नसकिने अवस्था छ । जथाभावी म्यानपावर कम्पनी खुल्दा सँगै अनुगमन गर्न पनि सरकारलाई हम्मे-हम्मे परेको छ । यस्ता समस्यालाई समाधान गर्ने गरी सरकारले धरौटी वृद्धि र मर्जरको प्रस्ताव ल्याएको हो ।
 
Published on: 1 August 2018 | Onlinekhabar

Back to list

;