s

६ जनाको हत्या गरी कतार पुगेका हुसेन पक्राउ

नेपालमा ६ जनाको हत्या गरी कतारमा गई रोजगारी गरी लुक्दै बसेका एक नेपाली पक्राउ परेका छन् । सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएको अभियोगमा सप्तरी टिकुलीया ७ का ४२ वर्षीय सकिल हुसेन कतारमा पक्राउ परेका हुन् । हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो ।
 
उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ । शृंखलावद्ध हत्या अभियोगमा सहयोगी र मतियारहरू पक्राउ परेपछि कानूनी प्रक्रृया छल्न हुसेन ४ वर्षअघि कतार पुगेको प्रहरी भनाइ छ ।
 
सकिल माथि २०७० असोजमा जन्डौल–६ की दुलारीदेवी साह, २०७० चैतमा त्रिकोल–५ बस्ने जयराम साहकी पत्नी निर्मलादेवी साह, र सुनसरीमा ३ जनाको हत्या गरेको अभियोग छ । नेपालमा कर्तव्य ज्यान मुद्धामा विपक्षी बनाइएका हुसेनका बारेमा नेपाल प्रहरीले इन्टरपोलसँग नियमित रूपमा समन्वय गर्दै आएको बताएको छ । कतार र साउदीको सीमा क्षेत्रमा एक कतारीको घरमा काम गर्दै आएका हुसेनलाई पक्राउ गर्न गएका बेला मालिकले समेत संरक्षण गरेको बताइएको छ ।
 
उनले कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै आफन्तलाई प्रलोभनमा पारि रकम लिने अनि हत्या गरी गायव बनाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हुसेनमाथि २०६९ असोज १ गते सप्तरीका सहबुद मियाँ र उनकी बुहारी मोहमद आलमकी श्रीमती सगिरा खातुनको हत्या विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरिएको थियो ।
 
Published on: 21 February 2018 | Madhyanha

Back to list

;