s

६ वर्षदेखि मलेसियामा बेपत्ता

माधव अर्याल

यहाँस्थित गुम्हा गाउँका ३७ वषर्ीय गोमानसिंह मास्की राना ६ वर्षदेखि बेखवर छन् । उनी ९ वर्षअघि मलेसिया गएका हुन् । परिवारलाई सुखी बनाउन मलेसिया गएका उनी नफर्किंदा परिवार चिन्तित छन् । उनीहरूले खोजी गरिदिन सरकार, अधिकारकर्मी, सञ्चारकर्मी सबैलाई आग्रहसमेत गरेका छन् ।

०६२ सालमा २९ वर्षको छँदा मलेसिया पुगेका उनले उनले तीन वर्षसम्म घरमा सम्पर्क पनि गरे । छरछिमेकी युवा साथीभाइसँग घरमा पैसा, सामान पनि पठाएका थिए । ०६५ देखि भने उनको कुनै खबर छैन । त्यसयता गोमानसिंह परिवारबाट सम्पर्कविहीन छन् । उनले घरमा वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र छोरी छाडेर गएका हुन् । उनी सम्पर्कविहीन भएपछि घरमा पनि संकट आएको छ ।

श्रीमती छलीसराका अनुसार ५ वर्षअघि ससुरा बुबालाई प्यारालाइसिस भयो । उपचार हुंँदाहँुंदै २०६९ वैशाखमा निधन भयो । आमा केशरी पनि ५ वर्षअघि रूखबाट लडेर उपचार गर्न निकै कठिन भयो । सामान्य घर परिवार भएकाले ऋणधन गरेर उपचार गरे । तर आम्दानीको बाटो केही नभएकाले ऋणले परिवारलाई गाँजेकै छ । 'साना छोराछोरी हुर्काउन र पालन पोषण गर्न कम्ती सास्ती छैन,' छलीसराले भनिन्, 'जेनतेज घर चलेको छ । कति सास्ती खेप्नुपरेको छ भन्ने हामीलाई नै थाहा छ ।'

उनको खोजी गर्न घरपरिवार, छिमेकी सबैले धेरै मेहनत गरे । तर अहिलेसम्म कोही, कसैबाट फेला परेको खबर आएको छैन । नौ वर्षअघि कामका लागि गएका उनलाई दुई वर्षसम्म फेला पार्ने केही गाउँकै युवा थिए । तर त्यसपछि ती युवा विदेश गएनन् । 'गएको केही वर्षसम्म फोन सम्पर्क हुन्थ्यो,' श्रीमती छलीसराले भनिन्, 'त्यसपछि फोन सम्पर्क नै भएन ।' तर उनले श्रीमान् गोमानसिंह आउने बाटो हेर्न भने छाडेकी छैनन् ।
५ वर्षदेखि सम्पर्कविहीन बाबा सुटुक्क आउनुहुन्छ भनेर छोराछोरीलाई सम्झाउने गर्छिन् । यति मात्र होइन, उनी आफूसमेत कुनै दिन नपत्याउने गरी श्रीमान् आउने आशामा छिन् ।

श्रीमती, वृद्ध आमा, छोराछोरीको गोमानसिंहलाई कसैले सम्झायो भने भक्कानो छाडेर रुन्छन् । विदेशमा बसेका उनलाई के थाहा ? घरमा आमा, श्रीमती र छोराछोरी कति रोएका होलान् । 'वहाँ -गोमानसिंह) को सम्झना कसैले गरायो भने सबैजनाको आँखा रसाइ हाल्छ' उनले भनिन्, 'के गर्नु हामीले मात्र चिन्ता लिएर नहुने रहेछ ।' गोमानसिंहको जिउँदो मर्दो केही पत्तो छैन । श्रीमान् बेखबर भएपछि श्रीमती छलीसरा पनि कमजोर बन्दै गएकी छन् । वृद्ध सासू र छोराछोरीको भविष्यका लागि बाध्यात्मक गर्जो टारेकी उनी आफैं शारीरिक अशक्त बनेकी छन् । 'सासू र छोराछोरीलाई सम्झाउँछु,' उनले भनिन्, 'तर आफैंलाई सम्झाउने कोही छैन ।'
छलीसराले आफ्नो बैंस मारेर बसेकी छन् ।

उनले सास रहुन्जेल आस भने मारेकी छैनन् । अझै पनि श्रीमान् फर्केर आउने आशमा परिवार नै छन् । छिमेकी लिलबहादुर रानाले जहाँ जुन जस्तो अवस्थामा भए पनि खबर गर्न आग्रह गरे । 'कुनै अप्ठेरोमा परेको हो भने पनि खबर गरे हुन्थ्यो,' उनले भने, 'हामी गाउँले मिलेर जेजस्तो सहयोग गर्न परे पनि गर्न तयार छांै ।' गाउँबासी सबैले उनलाई जहाँ जुन जेजस्तो अवस्थामा भए पनि फर्केर घर आउन आग्रह गरे ।

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेयले मलेसियामा सम्पर्क गर्नसकिने स्थानसम्म खबर पुर्याउइएको बताए । उनले सबै क्षेत्रलाई सहयोगका लागि अपिलसमेत गरिएको बताए । 'सकेसम्म उनको खोजीको प्रयास गरेका छौं,' पाण्डेयले भने, 'सम्पर्कमा ल्याउन सकिन्छ कि भन्ने आशा गरिएको छ ।'

Published on: 12 June 2013 | Kantipur

Back to list

;