s

तातोपानी आयात व्यापार, नौ दिनपछि काममा फर्के मजदुर

सिन्धुपाल्चोक-स्थानीय ज्ञानीराज ठकुरीको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका चालक र परिचालक ‘निर्दोष' पाइएपछि चिनियाँ सामग्रीको आयात ठप्प पारेर हडतालमा उत्रिएका मजदुर काममा फर्केका छन्।

काभ्रे प्रहरीले शुक्रबार धुलिखेलमा पत्रकार सम्मेलन गरी हत्यामा चालक, परिचालकको संलग्नता नभेटिएको जनाएपछि मजदुरले काममा फर्कने निर्णय गरेका हुन्। निर्णयसँगै नौ दिनदेखि रोकिएको आयात खुलेको छ। भन्सार जाँचपास भई रोकिएका कन्टेनर शनिबारबाट राजधानी भित्रन थाल्ने छन् भने औपचारिक रूपमा भन्सार कारोबार आइतबारदेखि मात्र सुरु हुनेछ। 


‘हाम्रा मजदुरको घटनामा संलग्नता नरहेको प्रहरीले सार्वजनिक गरेको छ, कानुनी प्रक्रिया पूरा गरेर छाड्ने भनिएको छ, त्यसैले हडताल फिर्ता लिएका छौं,' आन्दोलनको अगुवाइ गरिरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाइका अध्यक्ष दूर्गाबहादुर श्रेष्ठले भने। 


पुस १९ गते अरनिको राजमार्गको पाँचखालनजिक २७ वर्षीय ठकुरी मृत फेला परेका थिए। मृतकका परिवारले ‘हत्या भएको' भन्दै छानबिन गर्न दबाब दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। साताभित्र सत्य, तथ्य सार्वजनिक गर्न प्रहरी प्रधान कार्यालयका डिआइजी माधवप्रसाद नेपालको संयोजकत्वमा अनुसन्धान समिति बनाइएको थियो। मृतकको शवनजिक टायरको डोब देखिएपछि प्रहरीले सवारीसाधनमाथि अनुसन्धान केन्द्रित गरेको थियो। सोही क्रममा काभ्रे प्रहरीले चिनियाँ सामग्रीको ढुवानीमा संलग्न बा२ख ३३४१ नम्बरको कन्टेनरका चालक धनबहादुर श्रेष्ठ, बा२ख ४०४२ का चालक आनन्द थापा, ना३ख ७१२४ का चालक विनोद शेर्पा, सहचालक बच्चु अधिकारी र ना४ख ६४५८ नम्बरको कन्टेनरका चालक निमादोर्जे तामाङ र पेम्बा शेर्पालाई अनुसन्धानका लागि पक्रेको थियो।


तीन कन्टेनरका चालक र परिचालकलाई प्रहरीले आइतबार निर्दोष भन्दै छोडे पनि ना४ख ६४५८ नम्बरको कन्टेनरका चालक निमादोर्जे र सहचालक पेम्बा शेर्पा अझै हिरासतमा छन्। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उनीहरुको नाम र संलग्नता कतै उल्लेख छैन। प्रहरी अधिकारीले मौखिक रूपमा उनीहरुको संलग्नता नभेटिएको बताए। घटनाबारे जानकारी पाएका उनीहरुले जानकारी भने समयमै नदिएको अधिकारीले बताए। 


सम्मेलनमा दिइएको जानकारीअनुसार अहिले प्रहरीले ठोरी–६, पर्साका ४३ वर्षीय कृष्ण सुवेदी र किम्ताङ–६, नुवाकोटका २२ वर्षीय सुरेन्द्र तामाङलाई अभियोग लगाइ अनुसन्धान अघि बढाएको छ। उनीहरुमाथि अनुसन्धान गर्न बुधबार काभ्रे जिल्ला अदालतले पाँच दिनको समय दिएको छ। अभियुक्तद्वय बा३ख २७०० नम्बरको टोयटा हाइस गाडीका चालक र सहचालक हुन्। उनीहरुलाई सवारी ज्यान मुद्दा लगाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनीहरु खाडीचौरबाट काठमाडौं फर्कंदा दिएको गाडीको ठक्करबाट ठकुरीको ज्यान गएको थियो। प्रहरीका अनुसार अभियुक्तले घटना स्वीकार गरेका छन्।


थुनामा रहेका चालक–परिचालकलाई मंगलबारसम्ममा कानुनी प्रक्रिया पूरा गरेर छाड्ने मौखिक सहमति भएको इकाइ अध्यक्ष श्रेष्ठले बताए। ‘आन्दोलन फिर्ता लिएका छौं, प्रहरी कदम हेरेर मंगलबारसम्म चुप लाग्छौं,' उनले भने। बिनाआधार मजदुर पक्रेको र तत्काल सत्य, तथ्य सार्वजनिक गर्न दबाब दिँदै आयातमा संलग्न सबै मजदुर हडतालमा उत्रेका थिए। 


चिनियाँ सामग्री ढुवानीमा संलग्न १ हजार १ सयभन्दा बढी कन्टेनर, मिनिकन्टेनरका झन्डै २ हजार २ सय मजदुर हडतालमा उत्रिँदा नौ दिन आयात ठप्प भयो। मजदुर हडतालमा उत्रँदा जाडोयामका सामग्रीले भरिएका झन्डै ३ सय कन्टेनर नाकामा रोकिएका थिए। तातोपानी भन्सारको राजस्व असुली ठप्प भयो। हडतालअघि भन्सारले दैनिक औसत २ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो। 


जाँचपास भएर भन्सार यार्डमा रोकिएका ८० कन्टेनर सामग्री शुक्रबार साँझबाट काठमाडौं भित्रन थालेका छन्। खासाबाट चिनियाँ सामग्री लोड गरेर तातोपानी झर्दै गर्दा तिब्बती क्षेत्रमै थन्काइएका २ सय ५० भन्दा बढी कन्टेनर पनि झर्न थालेका छन्। चिनियाँ सामग्रीमा साना–ठूला गरी झन्डै १५ सय कन्टेनर संलग्न छन्। बाहिर रहेका करिब चार सयबाहेक सबै नाकामै रोकिएका थिए। 
मजदुर हडतालमा उत्रेपछि बुधबारदेखि राजस्व कारोबार प्रभावित भएको भन्सार अधिकृत विष्णु श्रेष्ठले बताए। ‘मजदुरले कन्टेनर नचलाउँदा राजस्व असुली शून्य भयो,' उनले नागरिकसँग भने। उनका अनुसार अहिले सिजनअनुसार कन्टेनरमा तयारी पोसाक, जुत्ता, चप्पललगायत जाडो मौसमका सामग्री आयात भइरहेका छन्।

Published 17 January 2015. Nagarik

Back to list

;