s

५८ नेपालीले युक्रेन छाडे, ९० जना सीमाक्षेत्रमा

 पर्शुराम काफ्ले

 

युद्धग्रस्त युक्रेनबाट आइतबार साँझसम्म कम्तीमा ५८ नेपाली छिमेकी पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी प्रवेश गरेका छन् । ९० नेपाली ती मुलुकको सीमाक्षेत्रमा पुगेका छन् । युद्धमैदान बन्न पुगेको राजधानी किभ, खार्किभलगायत विभिन्न ठाउँमा रहेका थप ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् । युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छाडेकासमेत हालसम्म दुई सय २८ जना नेपाली बर्लिनस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन् । हालसम्म ३४ नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काका अनुसार पूर्वी युक्रेनको खार्किभमा पाँच नेपाली छन् । दक्षिण–पश्चिमको बेलासेरकुवा र मारियोपोलमा तीन–तीनजना छन् । 

‘उनीहरू सुरक्षित छन्,’ खड्काले टेलिफोनमा भने । खार्किभमा आइतबार रुस र युक्रेनका सैनिकबीच भिडन्त भएको छ । खार्किभ र राजधानी किभमा सोमबार बिहानसम्म कफ्र्यु छ । त्यहाँबाट कफ्र्यु हट्नासाथ नेपालीहरू पश्चिम युक्रेनतर्फ जाने पर्खाइमा छन् । अधिकांश नेपाली भूमिगत मेट्रो स्टेसनमा बसेका छन् । राजदूत खड्काका अनुसार हालसम्म ३० नेपाली पोल्यान्ड प्रवेश गरेका छन् । ‘७० नेपाली पोल्यान्ड प्रवेशका लागि लाइनमा छन् । पोल्यान्डको मेडिका सीमाक्षेत्रमा ६० घन्टासम्म पर्खाइमा राखिएको हुनाले सबैलाई प्रवेश गर्न अझै समय लाग्छ भन्ने सूचना आएको छ,’ खड्काले भने, ‘गैरआवासीय नेपाली संघका साथीहरूले सम्बन्धित मुलुकमा समन्वय गरिरहनुभएको छ ।’ 

त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् । यीमध्ये दुईजना डाक्टर स्वदेश फर्किंदै छन् भने बाँकी रोमानियामै बसेका छन् । तर, उनीहरू दूतावासको सम्पर्कमा छैनन् । स्लोभाकियामा गैरआवासीय नेपाली संघले आइओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको जानकारी बर्लिनस्थित दूतावासलाई दिइएको छ । 

आइतबार साँझसम्म चार नेपाली हंगेरी प्रवेश गरेका छन् । ‘केही नेपाली त्यसतर्फ जाँदै हुनुहुन्छ भन्ने जानकारी पाएका छौँ,’ राजदूत खड्काले भने, ‘हंगेरी पुगेका विदेशी नागरिकलाई त्यहाँको सरकारले सेकेन्ड क्लास रेलमा घुमघामका लागि निःशुल्क टिकटको व्यवस्था गरेको छ । त्यहाँ पुगेकाले राम्रो आतिथ्य पाएको खबर दिनुभएको छ ।’ 

युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरिबहादुर मल्लले अधिकांश नेपाली युक्रेनका विभिन्न भूभागबाट पश्चिमी सिमानातर्फ  गइसकेको र अब थोरै मात्रै बाहिरिने प्रतीक्षामा रहेको बताए । लामो समयदेखि बस्दै आएका नेपालीले पनि युक्रेन छाड्न लागेको उनले बताए । ‘हामी लामो समयदेखि बसेका ४० जना पनि अब युक्रेन छाड्दै छौँ,’ मल्लले टेलिफोनमा भने, ‘किभ, खार्किभमा कफ्र्यु लागेको छ, लडाइँ भइरहेको छ । कुनै उपाय गरेर टर्की, जर्मनी वा अमेरिका जाने तयारीमा छु ।’ अन्य व्यवसायी पनि बाहिरिने योजनामा रहेको उनले बताए । ‘हाम्रो लाखौँ डलरको व्यवसाय छोडेर जानुपर्ने भयो, किनभने अब युक्रेनमा हाम्रो भविष्य सुरक्षित छैन,’ मल्लले भने, ‘पहिला ज्यान जोगाउनुपर्ने भयो, अब हामी बाहिर निस्किनुको विकल्प छैन । चाँडै नै हामी बाहिरिन्छौँ ।’ 

पोल्यान्ड पुगेकी धरानकी सीता राई भन्छिन्– युद्धबाट बाँचियो

हामी १३ नेपाली युद्धक्षेत्र खार्किभबाट पोल्यान्ड आइपुगेका छौँ । यहाँ नेपालीको तीन समूहमध्ये एउटामा हामी छौँ । महँगोमा ट्याक्सी रिजर्भ गरेर तथा पाँच घन्टाभन्दा बढी हिँडेर आइतबार कष्टसाथ यहाँ आइपुगेका छौँ । रातभर सीमाक्षेत्रमा कुरेर बिहान २ बजेपछि मात्रै पोल्यान्ड प्रवेश गर्‍यौँ । मसँग काठमाडौं, बुटवल, धादिङका साथीहरू हुनुहुन्छ । हामीलाई अहिले पोल्यान्डको एउटा ठूलो घरमा क्याम्पमा राखिएको छ । खाने, बस्ने र फेरफारे कपडाको बस्दोबस्त छ । पासपोर्टमा छाप लगाइएको छ, तर कहिलेसम्म भन्ने उल्लेख गरिएको छैन । हामी हिँड्दा खार्किभमा गोली चलिरहेको थियो, जसोतसो बाँचेर आइपुगेका छौँ । युद्धबाट बाँचियो, खुसी छौँ । 

युक्रेनबाट काठमाडौं आइपुग्यो चारजनाको एक नेपाली परिवार

युक्रेनको युद्धग्रस्त क्षेत्रबाट जनकपुर घर भएका डाक्टर जितेन्द्र यादव परिवारसहित आइतबार काठमाडौं आइपुगेका छन् । ओडेसामा बस्दै आएको यादवको परिवारले १२ फागुनमा युक्रेन छाडेको थियो । सन् २००९ मा अध्ययनका क्रममा युक्रेन गएका उनी जर्मनी र युक्रेनमा बसेका थिए । पछिल्लो सात महिनादेखि उनी युक्रेनमा थिए । ‘तीन दिनको यात्रापछि श्रीमती र दुईजना छोराछोरीसहित आइपुगेँ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘ओडेसाबाट मोल्डोभा, रोमानिया, कतारको दोहा हुँदै आइपुगेँ । युक्रेनको ओडेसाबाट रोमानियाको बुखारेस्टसम्म गाडीमा र त्यहाँबाट कतार हुँदै १३ घन्टा प्लेनमा आइपुगेको छु ।’ 

युक्रेनमा चिकित्सा क्षेत्रमा स्थापित भएका यादवले घर आइपुगेकोमा खुसी व्यक्त गरे । तर, भविष्यबारे चिन्ता लागेको पनि बताए । ‘युद्धक्षेत्रबाट आफ्नो घर आएको छु, एक तरिकाले खुसी छु,’ यादवले भने, ‘तर, सेफ जोनमा त आएँ, अब के गर्ने भन्नेमा छु । युक्रेनमा जे–जति थियो, छाडेर आएको छु । अबको योजनाबारे अलमलमा छु ।’ उनी बसेको स्थानमा रुसी सैनिक पुगेका छैनन् । तर, नजिकै आक्रमण र बमबारी भएका कारण उनी परिवारलाई सुरक्षित बनाउन बाहिरिए । 

‘सुरुमा सैन्य बेसहरूमा आक्रमण भएको थियो, मिसाइल र प्लेनबाट आक्रमण भएको थियो,’ यादवले भने, ‘अहिले बल्ल रुसको सैनिक प्रवेश गरेका छन् ।’ युक्रेनमा रहेका विद्यार्थीहरू आर्थिक अभावमा रहेको सूचना पाइरहेको उनले बताए । ‘विभिन्न ह्वाट्सएप ग्रुपमा विद्यार्थीहरूले आर्थिक अवस्था बिग्रेको छ, भूमिगत रेल्वे स्टेसनमा अड्किएर बसेका छौँ भनेर लेखिरहेका छन्,’ यादवले भने ।

Published on: 28 February 2022 | Nayapatrika

Link

Back to list

;