s

५८ म्यानपावरलाई कारबाहीको सिफारिस

होम कार्की

वैदेशिक रोजगारका लागि कतार पठाउने ५८ म्यानपावर कम्पनीलाई कारबाही गर्न यहाँस्थित नेपाली दूतावासले सरकारलाई सिफारिस गरेको छ । यससँगै तोकिएको सर्त पूरा नगरी नेपालीलाई काममा लगाउने ५७  कतारी कम्पनीलाई कामदार आपूर्ति गर्न समेत कडाइ गरिएको छ । कामदारलाई भनेको अनुसार तलब, सेवासुविधा दिलाउन नसक्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको हो । 'हामीले दूतावासमा पीडितले उजुरी दिएको आधारमा गलत गर्ने म्यानपावरको सूची बनाएका छौं,' राजदूत मायाकुमारी शर्माले कान्तिपुरसँग भनिन्, 'ती म्यानपावरलाई कम्पनीलाई कारबाही गर्न परराष्ट्रमार्फत विभागमा पठाइसकेको छौं ।'

उनका अनुसार तलब नदिने, कामदारलाई अलपत्र पार्ने र घर फिर्नबाट वञ्चित गर्ने यहाँका रोजगारदाता कम्पनीलाई समेत निगरानीमा राखिएको छ । त्यस्ता कम्पनीमा यहाँको ठूलो कम्पनीसमेत परेको छ । 'सम्झौताअनुसार कामदारलाई व्यवहार नगर्ने रोजगारदाता कम्पनीलाई नेपाली कामदार नदिनका लागि निगरानीमा राख्न विभागलाई समेत पठाएकी छु,' उनले भनिन्, 'यसमा आउने कामदारलाई श्रमस्वीकृति नदिन विभागका महानिर्देशकसँग समेत कुरा भएको छ ।'

श्रमसहचारी इन्द्रदेव पाण्डेका अनुसार कामदारलाई पीडित बनाउने म्यानपावर कम्पनी र रोजगारदाता कम्पनी दुवैको सूची बनाउन थालिएको छ । 'पीडितहरू निकै बढ्न थाले । यसलाई नियन्त्रण गर्न आवश्यक देखिएको छ,' उनले भने । तोकिएको सेवा सुविधा नपाएका कामदारहरूको ताँती दूतावासमा बढ्न थालेपछि दूतावास अग्रसर भएको हो । दूतावासमा दिनकै १ सयसम्म पीडित कामदारको उजुरी पर्ने गरेको छ । दूतावासमा ठाउँ अभाव भएकाले केही कामदार बाहिरै सडकमा बस्नसमेत बाध्य हुने गरेका छन् । राजदूत शर्माले निगरानीमा परेका रोजगारदाता कम्पनीले कामदार माग गरेमा अनुमति दिन कडाइ हुने बताए । दूतावासले म्यानपावरलाई कारबाही गर्नका लागि पीडित पक्षको बयान लिई कागजात बलियो बनाएर विभागमा पठाउने गरेको छ । यसअघि म्यानपावर कम्पनीलाई कारबाहीको सिफारिस भए पनि पीडित पक्षले दिएको बयान र बलियो कागजात नहुँदा कारबाही गर्न समस्या भएको थियो । 'हामीलाई दूतावासबाट कालोसूचीमा राखिदिन भन्दै म्यानपावरको नाम आउने गरेको थियो ।

Published on: 8 October 2012 | Kantipur Daily

Back to list

;