s

५४ दिनपछि खुल्यो गड्डाचौकी नाका, साढे दुई हजारभन्दा बढी नेपाली भित्रिए

माेहन विष्ट

 

कञ्चनपुरको गड्डाचौकी नाका ५४ दिनपछि सोमबार खुलेको छ । १९ चैतदेखि बन्द भएको नाका खुलेको पहिलो दिनमै साढे दुई हजारभन्दा बढी नेपाल प्रवेश गरेका छन् । ६ घन्टाको अवधिमा दुई हजार सात सय ५४ जना नेपाल प्रवेश गरेका छन् ।

जिल्ला सुरक्षा समिति कञ्चनपुरको आइतबार बसेको बैठकले भारतमा अलपत्र परेका नेपालीलाई सोमबारदेखि गड्डाचौकीबाट प्रवेश गराउने निर्णय गरेको थियो । सोमबार साँझ ६ बजेसम्ममा साढे दुई हजारभन्दा बढी नेपाली सीमा क्षेत्रमा पुगेका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले दिउँसो १२ देखि साँझ ६ बजेसम्ममा कञ्चनपुरसहित सुदूरका पहाडी जिल्ला, कर्णाली र प्रदेश ५ का बासिन्दा नेपाल भित्रिएको बताए । बनबासा हुँदै गड्डाचौकी पुगेकालाई सम्बन्धित जिल्ला र पालिकामा पठाइने उनले बताए । ‘सीमा क्षेत्रमा पुगेकाहरूको स्वास्थ्य परीक्षण गरिसकेका छौँ,’ उनले भने, ‘कसैमा समस्या छैन ।’

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल प्रवेश गरेका सबैलाई खाना खुवाएर सोमबार नै सम्बन्धित पालिका र जिल्लामा पठाइने बताए । मंगलबार बिहान ८ देखि १० र साँझ ५ देखि ७ बजेसम्म अलपत्र नेपालीलाई भिœयाइने उनको भनाइ छ । भारतबाट फर्किएका नेपाली नागरिकको भीमदत्त नगरपालिका, निड्स नेपाल र महेन्द्रनगरका युवा व्यवसायीले खाना, पानी, मास्कको व्यवस्थापन गरेका छन् ।

नेपाल प्रवेश गर्दा युद्ध जितेको अनुभव

भारतका विभिन्न सहरबाट हिँडेका नेपाली निकै दुःख र कष्टका साथ सीमा क्षेत्र आइपुगेका छन् । भारतबाट पैदलै, भोकभोकै आएको र नहरको फोहोर पानी पिउन बाध्य भएको उनीहरूको भनाइ छ । मातृभूमि टेक्दा युद्ध नै जितेर आएजस्तो लागेको उनीहरू बताउँछन् । बिन्दासैनी नगरपालिका–१ दैलेखका बालाराम आचार्य लुवाघाटमा मजदुरी गर्थे । उनी पैदलै टनकपुर पुगेका थिए । ‘लुवाघाटबाट भोकभोकै पैदलै टनकपुर आइपुग्यौँ,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले हामीलाई क्वारेन्टाइनमा राख्यो, क्वारेन्टाइनको बसाइ पनि राम्रो थिएन, अहिले उद्धार भएपछि खुसीको सीमा नै छैन ।’

भारतको बागेश्वरमा मजदुरी गर्दै आएका भगवती जिसीको काखमा तीन वर्षीय छोरा छन् । ‘गुजारा चलाउन सन्तान लिएर ६ महिनाअघि भारत पसेकी थिएँ,’ उनले भनिन्, ‘लकडाउनका कारण काम बन्द भएपछि स्वदेश फर्किएँ ।’ सात दिन हिँडेरै बनबासा पुगेको बताउँदै उनले नेपाल टेक्न पाएकोमा खुसी व्यक्त गरिन् । सानो सन्तानको स्याहारसुसार गर्दै र भारतीय प्रहरीको अवरोध छिचोल्दै बनबासा आइपुग्न निकै कठिन भएको उनले बताइन् । बनबासा पुग्दा खानेपानी नपाएरै नहरको फोहोर पानी खानुपरेको उनी बताउँछिन् ।

Published on: 26 May 2020 | Nayapatrika

Link

Back to list

;