s

५२ दिनपछि खुल्यो स्वदेशको ढोका, भित्रिए तीन सय ७१ जना

तेजराज भट्ट

 

सीमावर्ती भारतीय बजार पलियाको क्वारेन्टाइनमा बसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, का काशीराम जोरा ५० दिनपछि स्वदेश फर्कन पाउँदा निकै खुसी देखिन्थे ।

भारतको गुजरातमा एक होटेलमा काम गर्ने उनलाई पलियासम्म आइपुग्न निकै कष्ट भोग्नुपऱ्यो । भोकभोकै सात दिन पैदल हिँडेर पलिया आइपुगेका उनले स्वदेशनजिक आइपुगे पनि थप ५० दिन उतै क्वारेन्टाइनमा बिताउनुपर्‍यो ।

‘क्वारेन्टाइनमा धेरैजनालाई एकै ठाउँमा कोचेर राखिएकाले कोरोना लागेर उतै मरिन्छ कि भन्ने लागेको थियो,’ कैलालीको त्रिनगर नाकाबाट शुक्रबार स्वदेश भित्रिएका जोराले भने, ‘ढिलो भए पनि घर फर्कन पाउँदा बाटोमा भोगेको दुःख भुलेको छु ।’ लकडाउनका कारण आफूले काम गर्ने होटेल बन्द भएको र मालिकले आफ्नो व्यवस्था आफैँ गर्न भन्दै होटेलबाट जान भनेपछि पैदलै हिँडेर फर्किएको उनले बताए ।

एउटै होटेलमा काम गर्ने जोरा र नाताले उनको भाइ पर्ने कृष्णपुरकै प्रेम जोराको पलियासम्म आइपुग्दा जुत्ता फाटेका थिए । गुजरातबाट सात दिनसम्म पैदल हिँडेर राजस्थानसम्म पुगेको र त्यहाँबाट ट्रक, ट्याम्पो हुँदै पलिया आइपुगेको प्रेमले बताए । काम गर्न थालेको दुई महिनामै फर्केका उनीहरूले पैसा बाटोमै सकिएको बताए ।

कञ्चनपुरकै पुनर्वास नगरपालिकाका किसन विक दुई नाबालक छोराछोरी र श्रीमतीसहित लकडाउनकै समयमा पुनर्वासको बीचफाँटा नाकासम्म आइपुगेका थिए । तर, सीमा बन्द भएको भन्दै प्रहरीले उनीहरूलाई फर्कायो । उनीहरूलाई पनि भारतीय प्रहरीको समन्वयमा पलिया लगेर क्वारेन्टाइन राखियो । १७ दिन क्वारेन्टाइनमा बसेपछि चारजनाको उनको परिवारले शुक्रबार स्वदेश फर्कन पाएको छ । उनले भने, ‘युद्ध जितेर आएकोजस्तै खुसी लागेको छ ।’

धनगढीबाट करिब ४५ किलोमिटरको दूरीमा पर्ने भारतीय बजार पलियास्थित क्वारेन्टाइनमा रहेका र सीमासम्म आइपुगेका तीन सय ७१ जना नेपालीलाई शुक्रबार स्वदेश भित्र्याइएको हो । उनीहरूमध्ये केही ५२ दिनदेखि क्वारेन्टाइनमा बसिरहेका पनि थिए । कोरोना संक्रमण भित्रिन सक्ने भन्दै सीमा नाका बन्द गरिएपछि १२ चैतदेखि नाकाबाट कसैलाई पनि आउन दिइएको थिएन ।

शुक्रबार भित्रिएकाहरूको सीमा नाकामा कोरोना र ज्वरो जाँच गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । दुई सय २१ जनाको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । क्वारेन्टाइनमा नबसेका ५० जनालाई भने धनगढीमा छुट्टै क्वारेन्टाइनमा राखिएको र पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आए मात्र घर पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

कैलाली र कञ्चनपुर घर भएकालाई शुक्रबार नै सम्बन्धित स्थानीय तहमा पठाइएको छ भने अन्य जिल्लाकालाई शनिबार पठाइने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । स्वदेश फर्किएका सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ । सीमानाका बन्द हुँदा धनगढीमा थुनिएका आठ सय २४ जना भारतीय नागरिकलाई पनि त्रिनगर नाका भएर भारत पठाइएको छ । उनीहरूमध्ये ६० जना क्वारेन्टाइनमा बसेका थिए भने अन्य कैलालीकै विभिन्न स्थानमा काम गर्नेहरू हुन् ।

Published on: 15 May 2020 | Nayapatika

Link

Back to list

;