s

५२७ जनासँग रकम लिएर म्यानपावर सञ्चालक फरार

 
होम कार्की

मकाउ पठाउने भन्दै ५ सय २७ जनासँग रकम उठाएर अपच्र्युनिटी म्यानपावर सर्भिस प्रालिका सञ्चालकहरू बेपत्ता भएका छन् । उनीहरूलेे मकाउ जान इच्छुक कामदारसँग पचास हजारदेखि दुई लाखसम्म असुलेका थिए । 

उक्त म्यानपावरको काठमाडौं लाजिम्पाटस्थित मुख्य कार्यालय चार दिनदेखि बन्द भएपछि वैदेशिक रोजगार विभागले बुधबार छापा मारी राहदानी, नगद रसिद, कामदारको मेडिकल रिपोर्टलगायत आवश्यक कागजात बरामद गरेको छ । पीडितहरूले दिनभर कार्यालयबाहिर धर्ना दिए ।
 
म्यानपावर कम्पनीका अध्यक्ष केशबहादुर गुरुङ, प्रबन्धक निर्देशक पुष्पमाया गुरुङ र निर्देशक देववहादुर गुरुङ सम्पर्कमा छैनन् । अध्यक्ष केशबहादुरका पुष्पमाया श्रीमती र देववहादुर भाइ हुन् । यो कम्पनीले तीन वर्ष अघिदेखि कामदार पठाउन सुरु गरेको 
 
हो । पीडितहरू बुधबार बेलुकी काठमाडौं बुढानीलकण्ठस्थित केशबहादुरको घर समेत घेराउ गर्न पुगेका थिए । तर उनीहरूले त्यहाँ कसैलाई पनि भेट्टाएनन् । 'पीडितले यहाँ उजुरी दिएकाले हामीले आवश्यक अनुसन्धान सुरु गरिसकेका छौं,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'म्यानपावरको सबै बैंक खाता रोक्का गर्ने कार्य अघि बढिसकेको छ ।' विभागका अनुसन्धान अधिकृत पुरुषोत्तम खतिवडा र नायब सुब्बा हरि भट्टराईले म्यानपावरमा पुगी छापा मारेका हुन् । उनीहरूले म्यानपावर सञ्चालकहरूलाई २४ घन्टाभित्र विभागमा सम्पर्क राख्न आउनू भनेर कार्यालयमा सूचना टाँसेका छन् । उक्त कम्पनीले गएको वैशाखदेखि नै मकाउ लैजाने भन्दै रकम उठाउन थालेको थियो । ८ महिनामा उसले पटक पटक गरी विभागसँग पूर्व स्वीकृति लिई कामदारको माग गरेको थियो । पहिलोपटक वैशाखमा ९०, असारमा एक सय २० र साउनमा ३ सय २० गरी ५ सय २० जना कामदार मागेको थियो । 
 
सञ्चालकले डिसेम्बर ४ सम्म उडाउने भनेकाले पीडितहरू पर्खेर बसेका थिए । 'डिसेम्बर ४ सम्म उडाउने र त्यतिखेर नसकेको खण्डमा पैसा फिर्ता दिने भनेका थिए,' सुरक्षागार्डका लागि रकम बुझाएका प्रकाश शिवाकोटीले कान्तिपुरसँग भने, 'भदौदेखि हामीलाई झुलाइरहे । कहिले असोजभित्र उडाउँछु, कहिले कात्तिकमा जसरी पनि उडाउछु भन्दाभन्दै पर्खेर बस्दा त पछि फरार भए ।'
 
म्यानपावरले सुरक्षा गार्ड, हाउसकिपिङ, वेटर, बाउन्सरमा लैजाने र आकर्षक तलब हुने प्रलोभन देखाएको थियो । 'मलाई मकाउको गलेक्स होटलको क्यासिनोमा बाउन्सरमा जाने भन्दै पैसा लिए । त्यसका लागि तीन लाख रुपैयाँ मागेको थियो,' ५० हजार बुझाएका सिन्धुलीका पर्शुराम कार्कीले भने, 'जाने बेला दुई लाख र मकाउ पुगेपछि एक लाख रुपैयाँ दिनुपर्ने कुरा भएको थियो ।' ६ महिनाअघि ५० हजार रुपैयाँ बुझाएका दोलखाका 
 
महेश सुवेदीले आफूलाई बोलाएकै दिन कार्यालयमा पुग्दा बन्द भइसकेको 
 
बताए । 'निकै समयदेखि झुलाइरहेकोले उसको नियतमाथि शंका भएको थियो', उनले भने 'नभन्दै त्यही भयो ।'
 
म्यानपावरले आफ्नो बेवसाइटमा देशभर ३६ वटा शाखा भएको जनाएको छ । तर विभागका अनुसार कानुनी रूपमा उसले शाखा कार्यालय सञ्चालन गर्न अनुमति लिएको छैन । यो म्यानपावर 'अपच्र्युनिटी नेपाल'को भगिनी संस्था हो । एक करोड चुक्ता पुजी रहेको म्यानपावर उद्योग मन्त्रालयमा समेत दर्ता छ । यसले व्यापार र सप्लाई गर्ने उद्देश्य राखेको छ ।  अपच्र्युनिटी नेपाल अन्तर्गत ६ वटा व्यापारिक संस्थाहरू छन् । जसमा अपच्र्युनिटी टुर्स एन्ड ट्राभल, अपच्र्युनिटी मनी एक्सचेन्ज, अपच्र्युनिटी हाउजिङ, अपच्र्युनिटी मेडिकल सेन्टर, काठमाडौं ल्याङ्ग्वेज टे्रनिङ सेन्टर र वमन मार्टियल आर्ट क्लब छन् ।
 
Published on: 8 December 2011 | Kantipur 

Back to list

;