s

५१ हजार ४ सय ४१ नेपाली स्वदेश फर्किए

तुलसी सुवेदी

काठमाडौं : वैदेशिक रोजगारीमा अलपत्र परेका ५१ हजार भन्दा नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ ज्ना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

सरकारले नेपाली राजदूतावास, कूटनीतिक नियोग र संघसँग सहकार्य गरी अलपत्र परेका कामदारलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण  लकडाउन जारी भएपछि विदेशमा अलपत्र नेपालीलाई कामदारकै पैसामा फर्काइरहेको छ ।

सरकारले विदेशमा अति समस्यामा परेका कामदारलाई सरकारी कोषबाट फिर्ता ल्याउने निर्देशिका समेत तयारी गरिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई हजार पाँचलाई निःशुल्क फिर्ता गराउन निवेदन दिएका छन् । अलपत्र नेपालीलाई विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

सरकारले दैनिक ५ सयलाई मात्रै स्वदेश फर्काइरहेको छ । सुरुमा १ हजार ५ सयजनालाई स्वदेश फर्काउँदै आएको थियो । दैनिक ५ सय जनालाई मात्रै ल्याउने सरकारी नीतिले फर्कन चाहेका कामदार आउन पाएका छैनन ।

विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने गैरआवासीय नेपालीले जनाएको छ ।

संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक एवम् उपाध्यक्ष डा. बद्री केसीलृ मध्यपूर्वमा हजारौंको संख्यामा रहेका  अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपाली फर्कन नपाएपछि निराश बनेको बताए । मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ ।

नेपालीको जनघनत्व मलेसिया र खाडी मुलुकमा छ तर सरकारले ती देशबाट कामदार फर्काउन चाहेको देखिदैँन । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो स्वदेश फर्काउनुपर्नेमा वेवास्ता गरेकोमा खाडी मुलुकमा कार्यरत कामदार चिन्तित भएको केसीले बताए ।

सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको छ । तर अहिलेसम्म कामदार आफ्नै पैसामा फर्किएका छन् ।

कोरोनाको जोखिम घट्टदै

विदेशमा रहेका नेपाली विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मुक्त हुँदै गएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ । विदेशमा कोरोनाबाट १ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिवार साँझसम्म  भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य भन्दा केही बढेको छ । अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायतका देशमा रहेका नेपालीको ज्यान गएको हो ।

हालसम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण भएका छन् । सक्रमित मध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले बताए ।

२४६ शव नेपाल ल्याइयो

पछिल्लो समयमा विदेशमा मृत्यु भएका ४९४ जनाको निधन भएको छ। तीमध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन सकिएको छैन । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को समयमा विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव स्वदेश ल्याइएको छ । १७२ जनाको शव गन्तव्य मुलुकमै अत्येष्टी गरिएको छ ।

Published on: 16 August 2020 | Annapurna Post

Link

Back to list

;