s

५० लाख नेपाली किन विदेशिए ?

प्रवासी नेपालीको गुनासो– समस्या सुनियो, समाधान गरिएन

बसन्त रानाभाट

विभिन्न कारणले ५० लाख नेपालीहरु विदेशिनु परेको छ । यही मेसोमा यूरोपेली मुलुक लम्जम्बर्गको हिल्टन होटलमा बसेर गैरआवासीय नेपालीहरुले नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता र सांसदहरु माझ विदेशिनुको पीडा र आफ्ना समस्याका फेहरिस्थ प्रस्तुत गरे ।

लाखौं नेपालीहरु विदेशिनु पर्नाको बाध्यताबारे चर्को बहस भयो । कतिपयले अवसरको खोजीमा माइग्रेसन हुनुलाई स्वाभाविक ढंगले व्याख्या गरे । तर, विदेश पुग्ने क्रममा हुने मानव तस्करीका घटना, दुव्र्यवहार लगायत अमानवीय घटनाहरु रोक्न राज्य सचेत हुनुपर्नेमा सबैको जोड रह्यो । एनआरएनएको ११ औं युरोपेली बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथिका रुपमा सहभागी भए पनि माइग्रेसन सम्बन्धी सेसनका लागि भने उनी ड्यासमा थिएनन् । तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सांसद रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीहरुका समस्याबारे राज्यका तर्फबाट जवाफ दिएको अनुभूति दिलाए ।

युरोपमा बढ्दो मानवतस्करी, मध्यपूर्व र खाडी मुलकहरुमा महिलाका समस्याबारे बहस हुँदा समस्याहरु छताछुल्ल पोखिए । एनआरएनए महिला संयोजक रजनी प्रधानले खाडीका महिलाहरुले भोगेका पीडा र समस्याहरु सुनाइन् । उनले बीचैमा महिलाहरु अलपत्र पर्ने गरेका घटनाहरु प्रस्तुत गरेकी थिइन् । महिलाका पीडा सुन्दा सहभागीहरु केही भावुक देखिन्थे ।
 
यूरोपका नाममा पोल्याण्ड, पोर्चुगल, चेक गणतन्त्र, स्पेन लगायतका मुलुकहरुमा युवाहरु आउँदाको पीडा पनि कम छैन । लाखाैं रकम बिचौलियाले कुम्लाएको पीडा यो वर्ष पनि सुनिए । सामुद्रिक मार्ग हुँदै इटाली छिर्ने घटना होस् वा स्थलमार्ग हुँदै टर्कीमा बन्धक बनेकाहरुको पीडा किन नहोस्, अवस्था निकै भयावह छ ।
 
तीन दशकदेखि पोल्याण्डमा बस्दै आएका चिकित्सा डा. बोधराज सुवेदीले पोल्याण्ड आउने नेपालीहरुका पीडा सुनाउने क्रममा भने, त्यसैले त म भन्छु, सके नेपालीलाई सहयोग गराैं, नसके कम्तिमा दुःख त नदिउँ । उनले यसो भनिरहँदा ‘नेपालीका लागि नेपाली’ मूलमत्र रोजेको एनआरएनएलाई फाइदा उठाउँदै विदेशबाट नै कोही यस्ता गलत काममा संग्लग्न त छैनन् ? सधैं सचेत र सजक रहन घुमाउरो अनुरोध पनि थियो ।
 
पूर्वप्रधानमन्त्री भट्टराईले माइग्रेसनबारे आफ्नो विचार निकै सकारात्मक ढंगबाट सुरु गरेका थिए । अन्त्यतिर भने जंगिए । माइग्रेस स्वाभाविक हो, हामी सबै घुमन्ते हाैं भनेर सुरु गरेका भट्टराईले अन्त्यतिर भने’ बाहिर पठाउने नाममा गलत गर्ने व्यवसायीहरु दलाल नै हुन् । यो शब्दमा अन्यथा नमान्नु होला, म त दलाली नै भन्छु । गैरकानुनी ढंगबाट उनीहरुले राज्यको नियम मिचेका छन् । सर्वसाधारण नेपालीहरुको शोषण गरेका छन् ।’
 
हुन त एनआरएनएले हरेक बर्ष यूरोपमा यस्तै बहस चलाउँदै आएको छ । पटक–पटक यस्ता समस्याहरु बारे गम्भीर छलफल हुन्छन् । दुर्भाग्य भन्नुपर्छ, तर समस्या हिजोभन्दा आज झन् झन् बढ्दै गएको छ । गत वर्ष जर्मनीको फ्रयाङ्कर्फटस्थित एक होटलमा पनि यूरोप आउने नेपालीहरुबारे त्यस्तै बहस भयो । कार्यक्रम सकियो । न त एनआरएनले फलोअप गर्‍याे, न त राज्य नै गम्भीर देखियो । त्यसैले यसलाई कतिपयले बहस गर्ने र कागजमा लेख्ने कार्यक्रम पनि भन्ने गरेका छन् ।
 
सम्मेलनका नाममा यसो घुमघाम समेत गर्ने र बैठकमा सहभागिता जनाउने भीआइपीहरु पनि धेरै छन् भन्ने आरोप पनि सुनियो सम्मेलन स्थलमा ।
यद्यपि,लकजम्बर्ग बैठकमा माईग्रेसन मुद्दाबारे गम्भीर बहस भयो । यतिमात्र हैन, मानव तस्करीको भयावह अवस्थालाई रोक्न सरकारलाई सजग समेत गराएको छ ।
 
Published on: 31 July 2018 | Onlinekhabar

Back to list

;