s

५ महिनामा पनि आएन राहदानी

दुबईबाट केही दिनका लागि बहिनीको बिहेमा घर आएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १८ खैरभट्टीकी मीना भण्डारी अझै दुबई फर्किन सकेकी छैनन् । घर आउँदा बाटामै राहदानी हराएपछि भदौमा नयाँ राहदानी बनाउन निवेदन दिए पनि बन्न नसक्दा उनी विदेश जान नसकेकी हुन् ।

'भदौमै जानुपर्ने थियो,' आइतबार राहदानी आए/नआएको बुभ्न जिल्ला प्रशासन पुगेकी भण्डारीले भनिन्, 'नयाँ राहदानी बनाउन निवेदन दिएको ५ महिनाभन्दा बढी भयो, अझै आएको छैन कसरी जानु ?' उनले दुबईबाट र्फकेलगत्तै भदौ पहिलो साता नै राहदानीका लागि निवेदन दिए पनि अझै नबनेको बताइन् ।

राहदानी आए/नआएको बुझ्न आउँदा पनि प्रशासनका कर्मचारीले समयमै जानकारीसमेत नदिने गरेको बताइन् । भण्डारीजस्तै राहदनी बनाउन निवेदन दिएका सयौंको ५ महिनादेखि राहदानी आएको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार साउन २८ पछि निवेदन दिनेको राहदानी नआएको हो । निवेदन दिएको लामो समयसम्म पनि राहदानी नआएकाहरू दिनहुँ प्रशासन धाउने गर्छन् ।  

वैदेशिक रोजगार तथा विभिन्न कामका लागि विदेश जानेहरूले निवेदन दिएर पनि समयमा राहदानी नआउँदा जिल्ला प्रशासनमा निवेदन दिने र राहदानी आए नआएको बारेमा बुझ्नेको भीड लाग्ने गरेको छ । 'दैनिक ६० जनाभन्दा बढीले राहदानीका लागि निवेदन दिने गर्छन्,' निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने, 'हामीले निवेदनहरू समयमै सिफारिस गरेका छौं, तर बनेर आउन किन ढिलाइ भइरहेको छ, त्यसबारे जानकारी आएको छैन ।'

Published on: 25 December 2013 | Kantipur

Back to list

;