s

५ लाख नेपाली मारमा

रामचन्द्र गिरी

मलेसियाली मुद्रा ‘रिंगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी नेपाली कामदार प्रत्यक्ष मारमा परेका छन् । रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो । सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो ।

नेपालसँग औपचारिक रूपमा करिब १६ वर्षे रोजगारी इतिहास बोकेको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मलेसियाको श्रम बजार यतिबेला संकटपूर्ण बनेको छ । मलेसियाली राष्ट्रिय बैंक ‘बैंक नेगरा’ को तथ्यांकअनुसार सन् २०१३ को सुरुवाती दिनमा एक अमेरिकी डलरको खरिददर ३ दशमलव १० रिंगिट रहेकोमा हाल करिब ४ दशमलव ४५ रिंगिट हाराहारीमा छ । त्यतिबेला प्रतिरिंगिट ३३ रुपैयाँ सटहीदर भएकोमा हाल झरेर २३ रुपैयाँ ५० पैसा पुगेको छ ।

नेपालमा बढ्दो महँगी र मलेसियामा घट्दो रिंगिटको दोहोरो मारमा यहाँ कार्यरत नेपाली परेका छन् । मुलुकमा बेरोजगारीको बाबजुद आफ्नो कमाइमै आश्रित परिवार धान्न गाह्रो परिरहेको मलेसियामा कार्यरत नेपाली बताउँछन् । ‘पहिला हजार रिंगिट पठाउँदा करिब ३३ हजार रुपैयाँ हुन्थ्यो,’ बाङसारस्थित एक रेस्टुरेन्टमा कार्यरत चितवनका हरि लामिछानेले भने, ‘अहिले त्यति नै पठाउँदा करिब १० हजार रुपैयाँ घटी रकममात्र नेपाल पुग्छ । कसरी परिवारको घरखर्च धान्ने ? कसरी बालबच्चाको लालनपालन र पढाइ चलाउने ?’

हरिजस्तै सबै नेपाली कामदार रिंगिट गिरावटले मर्कामा परेका छन् । रिंगिट कमजोर हुँदा यता मलेसियामा पनि आयातित सामानको मूल्य वृद्धि भएको छ । मलेसियामा नेपालीको मासिक न्यूनतम पारिश्रमिक हजार रिंगिट हो । त्यसमध्ये सरकारलाई तिर्नुपर्ने लेभी रकम र होस्टलबापत मासिक करिब डेढ सय रिंगिट कम्पनीले कटौती गर्न पाउने प्रावधान छ । त्यसबाहेक अधिकांशले खाना आफ्नै खर्चले खानुपर्ने हुन्छ । त्यसैले ओभरटाइम नभएको खण्डमा मासिक ६ देखि ७ सय रिंगिट (१७ हजार रुपैयाँ) मात्र बचत हुन सक्छ । 

अघिल्ला वर्ष सार्वजनिक बिदाका दिन नेपालीको थामिनसक्नुको भीड हुने गरेको क्वालालम्पुरको कोताराय बजारमा अचेल नेपालीको चाप खासै हुँदैन । मुद्रामा आएको गिरावटका कारण मलेसियामा कार्यरत नेपालीमात्र होइन, नेपाली लक्षित व्यवसायमा पनि मन्दी आउने जोखिम बढेको छ । मुद्राको अवस्था नसुध्रिए मलेसिया आउने नेपाली घट्ने र त्यसको प्रत्यक्ष असर व्यवसायमा पनि पर्ने चिन्ता उनीहरूको छ । मलेसियाली मुद्रामा आएको गिरावटले यहाँबाट नेपाल भित्रिने रेमिट्यान्ससमेत घटदै छ ।

यसअघि वैदशिक रोजगारीको आकर्षक गन्तव्य रहँदै आएकामा पछिल्लो समय मुख्यतया रिंगिटको गिरावट, सरकारी नीतिमा फेरबदल एवं मलेसियाका रोजगारदाताले माग गरेअनुसार नेपाली रोजगार व्यवसायीले लैजान नसकेका कारण मलेसिया आउने नेपाली घट्न थालेका छन् । सामाजिक सञ्जालहरूमा ‘मलेसिया रोजगारी’ बारे वास्तविकताभन्दा बढी आउने कतिपय नकारात्मक प्रचारप्रसार पनि यसको अर्को कारण हो । अन्यत्र भएका नराम्रा गतिविधि र समस्यालाई पनि मलेसियामा भएको भन्दै सामाजिक सञ्जालमा आउनाले पनि मलेसियाप्रति नेपालीको सोचाइ नकारात्मक हुने गरेको छ ।

प्रशस्त माग पत्र लगे पनि कामदार पाउन मुस्किल पर्ने गरेको एक नेपाली रोजगार व्यवसायीले बताए । ‘सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ नीति ल्याएपछि पनि माग नआएका होइनन्,’ ती व्यवसायीले भने, ‘तर यता आउने कामदार पाउन मुस्किल परिरहेको छ ।’ मलेसियाले उत्पादन गरेको तेललगायत विभिन्न निर्यातजन्य सामानको मूल्यमा गिरावट आयो । किनकि उसले धेरैजसो निर्यात गर्ने गरेको मुलुक अमेरिका आफैंले तेलको उत्पादन बढायो, जुन पहिलेको तुलनामा अधिक हो । त्यसै कारण अमेरिकालगायत विभिन्न मुलुकमा सीमित मात्र तेलको माग रह्यो । त्यही सीमित मागका कारण पनि तेलको मूल्यमा ह्रास आयो । यसको असर मलेसियाली अर्थतन्त्रमा पनि पर्‍यो । 

मलेसियाको ४० प्रतिशतभन्दा बढी ऋण लगानी विदेशी लगानीकर्ताको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ अर्थतन्त्रको प्रभाव पनि मलेसियामा पर्ने गरेको छ । मलेसियाका लागि चीन एक ठूलो निर्यातकर्ता सारथी पनि हो । त्यसैले मलेसियाली मुद्रा चिनियाँ मुद्रा युआनबाट पनि प्रभावित हुने गर्छ । गतवर्ष चिनियाँ अर्थतन्त्रमा भएको गिरावटको असर पनि मलेसियाली मुद्रामा पर्‍यो । मलेसियाली मुद्रा कमजोर हुँदै जाँदा खासगरी आयातजन्य कतिपय उद्योग/व्यवसाय बन्द भए भने कतिपय उद्योग अन्य मुलुकमा सरे । यसका कारण स्थानीय पुँजी लगानी (लोकल एसेट) पनि रिंगिटको दबाबमा परेको छ भने यसको प्रभाव मलेसियाको अर्थतन्त्रमा पनि परिरहेको छ ।

वैधानिक रूपमा करिब ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको ठानिएको मलेसियाको मुद्रा ‘रिंगिट’ कहिले तंग्रिने हो भन्ने यकिन छैन । मलेसियाली राष्ट्रिय बैंक ‘बैंक नेगरा’ को तथ्यांकलाई आधार मान्ने हो भने मलेसियाली मुद्रा गिरावट हुँदै हाल झन्डै ३० प्रतिशत कम भाउमा खुम्चिएको छ । विदेशी विनिमय दर (फरेक्स) सम्बन्धी विश्लेषण गर्ने कम्पनी ‘नोमुरा’ को एक प्रक्षेपणअनुसार यसै वर्ष अन्त्यसम्ममा मलेसियाली मुद्रा करिब ४ दशमलव ७० रिंगिटसम्म पुग्न सक्ने अनुमान छ । आउँदो वर्षबाट भने क्रमिक सुधार हुन सक्ने प्रक्षेपण छ ।

Published on: 2 April 2017 | Kantipur

Back to list

;