s

५ वर्षयता श्रम बजार धराशायी

योगेश खतिवडा

जीवनस्तरमा सुधार हुने अपेक्षा सहित सर्वसाधारणको व्यापक सहभागितामा भएको दोस्रो जनआन्दोलन र त्यसले जन्माएको संविधानसभा निर्वाचनपछि स्वदेशी श्रम बजारमा नकारात्मक असर देखिएका छन् ।

यस अवधिमा मुलुकमा रोजगारी नपाएर बिदेसिनेको संख्यामा घट्नुको साटो अनपेक्षित रूपमा बढेकाले औद्योगिक विस्तार र अवसर संकुचित भएको देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०६३/६४ देखि हालसम्ममा १६ लाख ३५ हजार नेपाली कामको खोजीमा बिदेसिएका छन् । विभागका अनुसार आव ०६३/६४ बाट वाषिर्क रूपमा बिदेसिने कामदारको संख्या लगातार बढेको छ । आव ०६३/६४ मा दैनिक औसत ५ सय नेपाली बिदेसिने गरेकामा चालू आर्थिक वर्षको पहिलो १० महिनामा दैनिक एक हजारको औसतमा कामदार बिदेसिएका छन् ।
 
दोस्रो जनआन्दोलन र त्यसपछि भएको संविधानसभाको निर्वाचनपछि मुलुकको अवस्थामा सुधार आउने धेरैले आशा गरेका थिए । तर यस अवधिमा बढेको अस्थिर राजनीतिक वातावरणका कारण औद्योगिक क्षेत्रमा देखिएको नकारात्मक असरले नयाँ रोजगारी सिर्जना भएन । अझ भएका उद्योग समेत बन्द हुँदा नेपालमा काम गरिरहेका पनि बिदेसिएको वैदेशिक रोजगारी व्यवसायी बताउँछन् ।
अर्कोतिर बढ्दो श्रम समस्याले लगानीमैत्री वातावरण बन्न नसक्दा नयाँ लगानी पनि एकदमै कम भित्रियो । सरकारले यस अवधिमा विकास बजेट पनि खर्च गर्न सकेन । ५ वर्षयता ४ वटा बजेट समयभन्दा ढिला गरी सार्वजनिक भए । अर्कोतिर बजेट समयमै आएका वर्षमा पनि विकास बजेट खर्च हुन सकेन । विज्ञहरू विकास बजेट खर्च नहुँदा धेरै सम्भावित रोजगारी सिर्जना नभएको बताउँछन् । सरकारले रोजगार सिर्जनाका लागि दीर्घकालीन योजना बनाउन नसक्दा पनि बिदेसिनेको संख्या बढेको हो ।
 
विभागका अनुसार आर्थिक वर्ष ०६३/६४ देखि ०६७/६८ सम्म वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या १३ लाख २२ हजार रहेको थियो । चालू आर्थिक वर्षको पहिलो १० महिनामा ३ लाख १३ हजार नेपाली कामको खोजीमा बिदेसिए । वैदेशिक रोजगार व्यवसायीका अनुसार यस अवधिमा साना व्यवसाय गर्ने र दैनिक कमाइ गर्नेहरू बन्द हडताल जस्तो कारणले कमाइ घटेको भन्दै बिदेसिएका पनि छन् । कम्पनी बन्द भयो भन्दै बिदेसिने नेपालीको संख्या पनि यस अवधिमा बढेको छ । यसले आर्थिक क्षेत्र ओरालो लागेको प्रस्टाउने अर्थशास्त्रीहरू बताउँछन् ।
 
व्यवसायीका अनुसार खाइरहेको जागिर फुस्किएर बिदेसिनेको संख्या पनि प्रशस्तै छ । यस्तै दक्ष र उच्च शिक्षा हासिल गरेको कामदार पनि बिदेसिन थालेका छन् । उच्च शिक्षा हासिल गरेको युवाहरू सुपर मार्केट, होटल, सर्भिस क्षेत्रमा जाने गर्छन् । यस्तै डाक्टर, इन्जिनियर र प्राविधिक जनशक्ति पनि खाडी र मलेसियातिर जान थालेका छन् । बिदेसिने प्रक्रिया र कमाइको बारेमा गाउँसम्म जानकारी पुगेकाले पनि संख्या वृद्धिमा सघाएको उनीहरूको भनाइ छ ।
 
यसरी बिदेसिनेको संख्या बढ्नुको कारण बन्द, हडताल, अस्थिर राजनीति लगायतका कारणले बिगि्रएको लगानी वातावरणको कारण गुम्दै गएको रोजगार अवसर गुम्नु रहेको विज्ञको भनाइ छ । चालू आवको पहिलो १० महिनामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी युवा कामको खोजीमा बिदेसिका छन् ।
 
विभागको तथ्यांक अनुसार आव ०६३/६४ मा कामको खोजीमा २ लाख ४४ हजार नेपाली बिदेसिए । आव ०६४/६५ मा यो संख्या बढेर २ लाख ४९ हजार पुग्यो । त्यसपछि ०६५/६६ मा भने केही घटेर २ लाख १९ हजार नेपाली कामको खोजीमा बिदेसिए । आव ०६६/६७ मा यो संख्या बढेर २ लाख ९४ हजार पुग्यो । गत आवमा यो संख्या अझै बढेर ३ लाख ५४ हजार पुगेको विभागले जनाएको छ । १० महिनाको तथ्यांक हेर्दा यस वर्ष अर्को नयाँ रेकर्ड कायम हुने निश्चित भएको छ ।
 
विभागका अनुसार आव ०६७/६८ सम्म १२ लाख ८८ हजार पुरुष कामको खोजीमा बिदेसिए । यस अवधिमा ३४ हजार महिला बिदेसिएका छन् । यस अवधिमा सबैभन्दा बढी कामदार जाने मुलुक कतार बनेको छ । ०६३/६४ देखि वैशाखसम्ममा ४ लाख ७१ हजार नेपाली कतार गएका छन् । यस्तै मलेसिया जाने कामदारको संख्या ४ लाख ५२ हजार पुगेको छ ।साउदी अरब जानेको संख्या ३ लाख २८ हजार ८ सय ५ छ । संयुक्त अरब इमिरेट्स जानेको संख्या २ लाख २७ हजार रह्यो । यस अवधिमा ५० हजार नेपाली युवाहरू श्रम गर्न कुवेत पुगे ।  
०६३/६४ पछि बढी कामदार जाने मुलुक
मुलुक    संख्या
कतार     ४७१४७१
मलेसिया     ४५२००१
साउदी अरब    ३२८८०५
संयुक्त अरब इमिरेट्स    २२७६८७
कुवेत    ५०२८६
कुन वर्ष कति गए
आव     संख्या
६३/६४    २ लाख ४४ हजार
६४/६५    २ लाख ४९ हजार
६५/६६    २ लाख १९ हजार
६६/६७    २ लाख ९४ हजार
६७/६८    ३ लाख ५४ हजार
चालू आवको १० महिनामा     ३ लाख १३ हजार
 
Published on: 28 May 2012 | Kantipur

Back to list

;