s

५ वर्षमा पनि क्षतिपूर्ति पाएनन्

 प्रशान्त माली
 
वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा दुर्घटनामा परि मृत्यु भएका किरण गोलेको परिवारले ५ वर्ष बित्दा पनि क्षतिपूर्ति पाउन सकेको छैन । महांकाल गाउँपालिका २ का गोलेको २०६९ मंसिरमा मृत्यु भएको थियो ।
 
उनी मात्र नभई साउदीमा रोजगारीका क्रममा मृत्यु भएका महांकाल ३, गोटिखेलका उद्धव दुलाल र कोन्ज्योसोम गाउँपालिका, चौघरेका बुद्ध धोङ्बा तामाङको परिवारले पनि क्षतिपूर्ति पाएका छैनन् । दुलालको २०७१ र तामाङको २०७० मा मृत्यु भएको थियो ।
 
‘सुरुमा मृतक किरणको क्षतिपूर्ति प्रक्रियाका लागि कन्सुलर शाखा, त्रिपुरेश्वरमा बोलाइयो,’ स्थानीय बुद्ध नेगीले भने, ‘त्यहाँ मृतकको भिसा, कम्पनीको करार अवधि, वैधानिक प्रमाणपत्र, नाता, मृत्यु प्रमाणपत्रदेखि सबै कागजात पेस गरियो । कन्सुलरले क्षतिपूर्तिका लागि १/२ वर्ष लाग्ने बतायो ।’ उनका अनुसार ६ महिनापछि जाँदा ‘छिटो आउनुभयो’ भनेर फर्काइयो । ‘पछि समय बित्दै गएपछि अहिले ५ वर्ष भइसकेको छ, कन्सुलरमा बुझ्न जाँदा केस पुरानो भइसक्यो भन्ने जवाफ दिइयो,’ उनले भने, ‘क्षतिपूर्ति आउँदै नआउने भए पहिला नै कारणसहित स्पष्ट भन्नुपथ्र्यो । सरकारी निकायबाट अनाहकमा हैरानी दिइयो ।’ 
 
रियादस्थित नेपाली दूतावासमा बुझदा ‘क्षतिपूर्तिका लागि मुद्दा हालिएको’ भनेर जवाफ आएको उनले बताए । ‘तर मुद्दा हालेको रिपोर्ट भने हामीलाई दिइएको छैन । मुद्दा हालेको हो/होइन हामी अनविज्ञ छौं,’ नेगीले भने, ‘अहिले परराष्ट्रमन्त्रीसमक्ष गुनासो राखेका छौं । पुरानो कागजात ल्याउनुस् भनेर भन्नुभएको छ ।’ 
 
वैदेशिक रोजगारीका लागि साउदी गएका कालेश्वरका कृष्णबहादुर स्याङ्तानको डेढ महिनाअघि मात्रै मृत्यु भयो । महांकाल गाउँपालिका ४ का स्याङ्तान ७ वर्षअघि बिदेसिएका थिए । ‘अरूले बिदेसिएर घरजग्गा जोडेको र सन्तानको शिक्षादीक्षामा खर्च गरेको देखेर दाजु पनि विदेश गए,’ भाइ टंकबहादुरले भने, ‘सबै सपना चकनाचुर भयो ।’ उनका अनुसार पहिला साउदीबाट दाइ बिरामी हुनुहुन्छ भनेर खबर आएको थियो । ‘पछि एक्कासि मृत्युको खबर आयो,’ उनले सुनाए, ‘महांकालमा वैदेशिक रोजगारीका सिलसिलामा दुईजनाको मृत्यु भएको छ तर कसैले क्षतिपूर्ति पाएका छैनन् ।’ उनीहरूले साउदी कम्पनी तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट क्षतिपूर्ति तथा आर्थिक सहायता नपाएका हुन् ।
 
सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका आफन्तजनलाई क्षतिपूर्ति दिन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई जिम्मा दिएको छ । बोर्डले भने श्रम स्वीकृतिको म्यादभित्र मृत्यु हुने कामदारलाई मात्रै क्षतिपूर्ति दिने गरेको छ । 
 
श्रम स्वीकृतिको म्याद सकिए पनि बस्ने र एउटा कम्पनी छाडेर अन्यत्र काम गर्नेलाई भवितव्य घटनाबाट पाउने जीवन बिमाको रकमका साथै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट पाइने आर्थिक सहायता नपाइने बोर्डले जनाएको छ । मृतक स्याङ्तान साउदीस्थित अब्दुलाजित अल्माना ट्रान्सपोर्टेसन कम्पनीमा ज्यालादारी मजदुरका रूपमा कार्यरत थिए । वल्र्ड वाइड म्यानपावर कम्पनीबाट विदेश गएका उनका दुई छोरा छन् ।
 
बिचौलियाले समस्या
 
विदेशबाट फर्केकाहरूले अहिले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । उनीहरूले कृषि, व्यापार, पर्यटन र सीपमूलक कार्यमा लगानी गरिरहेको देखेर आफू पनि उस्तै लगानी गर्न पैसा कमाउन विदेशिएका धेरै नेपाली छन् । यिनैमध्येका हुन् गोदावरी नगरपालिकाका १२ का सुरेश महर्जन । मासिक डेढ लाख रुपैयाँ पाउने आसमा महर्जन सेक्युरिटी गार्डमा मलेसिया गए । ३ लाख रुपैयाँ खर्चेर पुगेका उनले आश्वासनअनुसार केही पाएनन् । काठमाडौंको म्यानपावरमार्फत ३ वर्षका लागि गएका उनी सडक खन्ने काममा परे । गोदावरी नगरपालिका १२ कै कान्छा महर्जनको समस्या पनि उस्तै छ । उनी पनि बिचौलियाको सूचनाकै भर परि कतार जाँदा दु:ख पाएर फर्किएका छन् । ‘यहाँबाट भनेको कम्पनीमा परेन,’ उनले भने ।
 
Published on: 28 October 2017 | Kantipur

Back to list

;