s

४ दिनदेखि दशगजामा बास

भवानी भट्ट

कञ्‍चनपुर — भारत उत्तराखण्डको नैनीतालमा मजदुरी गर्ने कैलाली नारायणपुरका इन्द्र साउद लकडाउनका कारण कोठामै थुनिएका थिए । साँझ र बिहानको खाना अभाव हुन थाले पनि लकडाउनमा घर फर्कन सकिने अवस्था थिएन । जसोतसो कोठामै बसेका थिए, वृद्ध आमा बिरामी भएको खबर पाए । त्यसपछि हिँडेरै भए पनि घर फर्कने निधो गरे । 

कपडाको झोला पिठ्युँमा बोकेर एक्लै हिँडेका उनी तेस्रो दिन गत आइतबार कञ्चनपुरको सीमावर्ती बजार वनबासा पुगे । त्यहाँबाट वनबासा पुल हुँदै उनलाई महाकालीपारिको दोधारा चाँदनीको महाकाली नगरपालिकातर्फको बाटो पठाइयो । केही तल नेपाल–भारत सीमानजिकै पुगेपछि उनलाई सशस्त्र टोलीले अघि बढ्न दिएन, रोकिहाल्यो । नेपालतर्फ प्रवेश नपाएपछि उनको बास चार दिनदेखि दशगजामै भएको छ । उनी अगावै पुगेका चार जना नेपाली त्यहीं अलपत्र थिए ।

‘चार दिनदेखि दशगजामै बास भएको छ, पानी परेपछि कोही ह्युम पाइपभित्र पस्छौं, कोही पाल टाँगेर बस्छांै,’ आफूसमेत पाँच जना दशगजामा अलपत्र परेको सुनाउँदै साउदले भने,

‘नैनीतालबाट वनबासा पुग्दासम्म धेरै ठाउँमा प्रहरीले रोक्यो, सबैलाई घरमा आमा बिरामी भएको भनेपछि आउन दिए । आफ्नै देशमा पुगेपछि भने नाकामै रोकिएँ ।’ नैनीतालबाट वनबासासम्मको करिब डेढ सय किलोमिटरको यात्रा खानै नखाएर उनले पानीको भरमा पूरा गरेको बताए ।

उनी तीन महिनाअघि मात्रै मजदुरीका लागि नैनीताल पुगेका थिए । त्यहाँ डेढ महिनामात्रै काम गर्न पाए । त्यसपछि लकडाउन सुरु भएका कारण सबै क्षेत्रमा काम बन्द भएपछि उनी कोठामै थुनिएका थिए । महाकाली नगरपालिका–१ मा पर्ने महाकाली नदी किनारको बयलबन्दमा बसिरहेका उनीहरूलाई वडा कार्यालयले खानाको व्यवस्था गरेको छ । तर बस्नका लागि भने ओत छैन । 

‘मेरो त घरबाटै कपडा र पाल आएको छ, त्यसैले केही सजिलो भएको छ,’ चार दिनअघि रुद्रपुरबाट हिँडेर दशगजामा पुगेका महाकाली–३ पीपल चौताराका महेश जोशीले भने, ‘सुरुको दिन त ओढ्ने–ओछ्याउने पनि केही थिएन । यहाँ पुग्नेबित्तिकै ठूलो हावाहुरीसहित वर्षा भयो, हामीले ह्युम पाइपभित्र गएर ज्यान जोगायौं ।’

भारत उत्तरप्रदेशको बरेलीनजिकै शाहजहाँपुरमा मार्केटिङको काम गर्ने उनीसहित तीन जना एक महिनाअघि घर फर्कन खटीमा पुगेका थिए । भारतीय सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएर पन्तनगरमा क्वारेन्टाइनमा राखेको थियो । करिब २० दिन पन्तनगरमा राखेपछि रुद्रपुर पुर्‍याइयो । रुद्रपुरमा पनि एक साता क्वारेन्टाइनमा राखेपछि उनीहरूलाई प्रमाणपत्र दिएर घर जान भनियो ।

‘रुद्रपुरबाट ३६ घण्टा हिँडेर बल्ल यहाँ पुग्यौं, यहाँ पुगेपछि हामीलाई दशगजामै रोकियो,’ जोशीले भने, ‘सुरुमा गाडीमै सीमासम्म छाड्छौं भनेका थिए तर पछि बाहिर निकालेर घर जाऊ भनेर छाडिदिए ।’ ३६ घण्टासम्म केही नखाई यात्रा गरेको उनले बताए । उनीसँगै बैतडीका सुरेश घटाल र भीमदत्त नगरपालिका–१८ का राकेश विष्ट पनि रुद्रपुरबाटै पैदल हिँडेर नाकासम्म आइपुगेका हुन् ।

बैतडी दोगडाकेदार गाउँपालिकाका राजेन्द्र धामीलाई त यसअघि दुई पटक नाकाबाट फर्काइएको हो । गुजरातमा काम गर्ने उनी लकडाउन सुरु भएपछि घर फर्कन लागेका हुन् ।

‘भारतले सजिलै आउन दियो, आफ्नै देशमा बगरमै बस्नुपरेको छ,’ धामीले भने, ‘दुई/दुई पटक फर्काएर क्वारेन्टाइनमा बसेको पनि महिना दिनभन्दा बढी भयो । अब पनि हामीले घर जान कति दिन कुर्नुपर्ने हो ?’ नाकाबाट भित्र्याएर नेपालमै जति दिन क्वारेन्टाइनमा राखे पनि बस्न तयार रहेको उनले बताए । 

चार दिनदेखि दशगजामा रोकिएका उनीहरूलाई तत्काल नेपाल भित्र्याउन नसकिने सशस्त्र प्रहरीले जनाएको छ । उनीहरू सबै भारतले कोरोनाको ‘रेड जोन’ मा राखेको क्षेत्रबाट आएका कारण तत्काल भित्र्याउन नसकिने सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी वीरसिंह साहुले बताए । उनका अनुसार माथिल्लो निकायबाट आदेश नआएसम्म उनीहरू दशगजामै रहनेछन् । भारतका विभिन्न क्षेत्रमा क्वारेन्टाइनमा रहेका २ सय ४२ जनालाई भने आइतबार र सोमबार राति भित्र्याइएको थियो । उनीहरूलाई भारतीय पक्षले मध्यरातमा दशगजामा ल्याएर छाडेको थियो ।

यसअघि शनिबार राति दोधारा–चाँदनीकै सीमा क्षेत्रबाट फर्काइएका ३ सय जना नेपालीहरू खटीको एक विद्यालयमा राखिएका छन् । उनीहरू पनि रेड जोनमै भएका कारण भारततिरै फर्काइएको प्रहरीले जनाएको छ ।

Published on: 14 May 2020 | Kantipur

Link

Back to list

;