s

४७ दिनपछि टुंगियो चिया मजदुरको आन्दोलन

श्रम ऐनअनुसार मजदुरले ज्याला पाउने

ख्याम भुजेल

सरकारले तोकेको तलब सुविधा दिन व्यवसायीहरू तयार भएपछि चिया मजदुरको आन्दोलन टुंगिएको छ । चिया विकास निगमले इलामको कन्याम र इलाम चिया बगानका मजदुरलाई तलब सुविधा दिन तयार भएपछि चिया मजदुरको आन्दोलन सकिएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा निगम सञ्चालक सुवास सांघाईले सरकारले तोकेको तलब सुविधा दिने प्रतिबद्धता जनाएपछि मजदुर काममा फर्किन तयार भएका हुन् ।

सरकारले तोकेको न्यूनतम ज्याला उद्योगीले नदिएको भन्दै १७ चैतदेखि मजदुरहरू आन्दोलित भएका थिए । श्रममन्त्री विष्टकै समन्वयमा समस्या समाधान भएपछि ४७ दिन लामो आन्दोलन टुंगिएको हो । बिहीबार साँझ इलाम आएका मन्त्रीले चिया मजदुर तथा उद्योगीसँग भेटघाट गरेपछि मजदुरले श्रम ऐनअनुसारको ज्याला पाउने भएका हुन् । नयाँ श्रम ऐनले तोकेको नौ महिनाको ज्याला दिनसमेत उद्योगी तयार भएका छन् । विगतको रकम भने किस्तामा भुक्तानी दिने उद्योगीहरूले बताएका छन् । त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुने भएको छ ।
 
सरकारले १ साउनदेखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोकेको थियो । तर, अहिलेसम्म मजदुरले दुई सय ६५ देखि ३ सय ८ रुपैयाँसम्म मात्र पाउँदै थिए । उद्योगमा काम गर्ने श्रमिकलाई दिनको ४२ रुपैयाँ थपेर ४ सय २७ रुपैयाँ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला ६ हजार ४ सय ६९ रुपैयाँ र महँगी भत्ता ४ हजार ३ सय ८१ रुपैयाँ तोकिएको छ । 
 
Published on: 19 May 2019 | Naya Patrika

Back to list

;