s

४७ वर्षपछि घर सम्झिए प्रेमबहादुरले

बेसीसहर नगरपालिका दुई, भकुण्डे खत्रीगाउँका एक व्यक्ति ४७ वर्षपछि घर फर्कनुभएको छ । बाल्यकालमै भारत गएर २४ वर्षको उमेरमा घर आई पुनः भारत गई बेपत्ता भएका ७० वर्षीय प्रेमबहादुर खड्का घर फर्कनुभएको हो ।  भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जङ्गलमा गाई फार्ममा काम गर्दैआएका प्रेमबहादुर बुढ्यौलीसँगै अशक्त भएपछि घर फर्कनुभएको हो । उहाँका आफन्तका अनुसार घर फर्कदै गर्दा सात जनाको समूहले उहाँलाई कुटपिट गरेका थिए । 
 
त्यस्तै साथमा रहेको २३ हजार भारतीय रुपियाँ पनि लुटिएको छ । कुटपिट गरेर जङ्गलमा फालिदिएपछि मेघालयका स्थानीय गाउँलेले फेला पारेर बचाएकोे खड्काले बताउनुभयो । मर्ने गरी कुटे । लुटे पनि । उनीहरू को हुन् थाहा छैन, उहाँले हिन्दी लवजमा भन्नुभयो । 
 
धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले बेवारिसे अवस्थामा पुगेका उहाँलाई खर्च हालेर लमजुङको बसमा चढाइदिएको र बसबाट ओर्लिए पछि सोधखोज गर्दै गाउँसम्म आउनुभएको आफन्तले बताएका छन् । 
 
आफूलाई सहयोग गरेर ल्याउने व्यक्तिले घर धमिलिकुवा भने तापनि नाम भने थाहा नभएको खड्काले बताउनुभयो । उहाँका खुट्टा, शरीरको विभिन्न भाग कुटपिटका कारण सुन्निएको छ । बाँचेर आउँछु भन्ने लागेको थिएन । सबैसँग भेट हुँदा खुसी लाग्यो, उहाँले भन्नुभयो । खड्कासँग नागरिकता छैन । आफ्नो बाबुआमाले पनि नागरिकता नबनाएको उहाँले बताउनुभयो । खड्काका कान्छी आमा पट्टीकाको भने नागरिकता रहेको छ । 
 
यहाँ ७० वर्ष पुगेपछि भत्ता पाइँदोरहेछ । नागरिकता बनाउन पाए सजिलो हुन्थ्यो की ? उहाँले भन्नुभयो । नेपाल पत्रकार महासङ्घ लमजुङका पूर्वअध्यक्ष समेत रहनुभएका खड्काका छिमेकी कृष्ण केसीका अनुसार गाउँ आउँदा केहिले मात्र खड्कालाई चिनेका थिए । धेरैले उनलाई चिनेनन् । बुढापाकाले मात्र चिने । मलाई समेत चिन्न गाह्रो पर्यो, उहाँले भन्नुभयो । २००४ साल वैशाख १४ गते आफ्नो जन्म मिति बताउने खड्का बाल्यकालदेखि नै कामको शिलशिलामा भारतमा रहनुभएको थियो । २०२८ सालमा बाबु चन्द्रबहादुरको निधन हुँदा १४ दिन कारजकिरियाको लागि घर आए पनि त्यसपछि भारत फर्किनुभएको थियो । 
 
बाबुको निधनपछि आमा पनि अन्यत्र विवाह गरेर गएको उहाँले बताउनुभयो । खड्का अहिले कान्छी आमा पट्टीका छोरा अर्थात भाई तिलकबहादुर खड्काको परिवारसँग बसेका छन् । धेरैसमय पछि दाजु प्रेमबहादुरलाई देख्दा खुसी लागेको भाई तिलकबहादुरले बताउनुभयो ।  दाई, धेरै समय बेपत्ता हुनुभो । कसैको सम्पर्कमा आउनुभएन । अहिले आँखै अगाडि देख्दा अचम्म लाग्यो, उहाँले भन्नुभयो । दाजु घर फर्किएपछि घरपरिवारमा खुसी छाएको उहाँले बताउनुभयो ।
 
Published on: 30 July 2018 | Gorkhapatra

Back to list

;