s

रेमिट्यान्सले दसैं रमाइलो

राजेन्द्र मानन्धर

मैनापोखरीमा मुख्यालय रहेका सहकारीहरूले दसैंपछि हिसाबकिताब निकाल्दा वैदेशिक रोजगारबाट मासिक करिब २ करोड रुपैया गाउँ भित्रिएको पाएका थिए ।

सहकारीले उँभो लगाएको गाउँ भनेर देशभर परिचित जिल्लाका पूर्वी बस्तीहरूको व्यापारिक थलो मैनापोखरीका सहकारीले रेमिट्यान्सलाई दसैं लक्षित गर्दा झनै बढी रकम विदेशबाट प्राप्त गरे । झन्डै १० हजार सदस्य भएको जनमुखी बचत ऋण सहकारीको साधारणसभामा यस वर्ष १ हजार ५ सय परिवारको दसैं रेमिट्यान्सले चल्ने जानकारी दिइयो । विभिन्न ७ गाउँ र बजारहरूका बासिन्दाबीच कारोबार काम गर्ने ५ वटा ठूला सहकारीहरूले पछिल्लो पटक १ हजार ५ सय जनालाई विदेश जान ऋण लगानी गरेको जनमुखीका अध्यक्ष माधव दाहाल बताउँछन् । कार्यक्रममा यस भेगको जेठो सहकारी मानिने जनसचेतनका अध्यक्ष यज्ञराज ढुंगेलले आफ्नो सहकारीबाट मात्र मासिक १ करोड २० लाख रुपैयाँ विदेशबाट भित्र्याउने गरेको जानकारी दिए । जनसचेतनबाट ऋण लिएर ७ सय जति युवा बिदेसिएका छन् ।

दसैंको बिदा हुनु अघिल्लो दिनसम्म सहकारीहरूले विदेशमा बस्ने आफन्तबाट आएको रकम धमाधम बाँड्दै थिए । 'यस पटकको दसैं श्रीमान्ले विदेशबाट पठाएको पैसाले चल्यो,' काब्रे-८ कि बिन्दा दाहालले जनमुखी काउन्टरबाट रकम झिक्दै भनिन् । सहकारीकै ऋणबाट श्रीमान् टीकाप्रसाद विदेश गएका छन् । उनले विदेशबाट रकम आउन थालेको जानकारी दिइन् । 'दसैंकै लागि भनेर खर्च पठाएपछि घर सिँगार्न, कपडा किन्न, मासु र खानेकुरा किन्न सजिलो भयो,' बिन्दाले थपिन् ।

मैनापोखरी वरपरका बासिन्दामा सहकारीहरूले अर्बभन्दा बढी लगानी गरेका छन । सबैभन्दा बढी लगानी व्यापारमा छ । त्यसपछि वैदेशिक रोजगारमा जानेलाई ऋण लगानी गरेको छ ।

जनमुखी सहकारीबाट ऋण झिकेर विदेश गएर पनि फर्केका नाम्दुका तीर्थबहादुर घिमिरे आफ्नो जीवनमा सहकारीले ठूलो गुन लगाएको सम्झन्छन् । 'अहिले ५ वटा भैंसी र कुखुरा पालनमा पनि सहकारीकै लगानी छ,' गाउँ फर्केर व्यवसाय थालेका उनले भने ।

सहकारी ऋणले बिदेसिने क्रम बढ्दा सामाजिक समस्या थपिए पनि रेमिट्यान्सले गाउँघरको दसैं पैसा अभावले दुःखमा बितेको गुनासाहरू नसुनिएको नवीन खतिवडा बताउँछन् । रेमिट्यान्स आउन थालेपछि घर सुधार्ने, टेलिभिजन, मोबाइल, मोटरजस्ता सञ्चार र यातायातका साधन जोड्ने र राम्रा विद्यालयमा पढाउने क्रम बढेको छ । घरका साधनहरूमा परिवर्तन आएकाले गाउँले जीवनशैली सुविधामुखी हुँदै गएको र दुःखकष्टहरू धेरैका घरहरूबाट बिदा हुने क्रममा रहेको जनमुखी शिक्षा उपसमित सदस्य नवीन दाबी गर्छन् । उनको स्मरणमा दसैकै लागि भनेर महँगो ब्याजमा ऋण लिने क्रम सहकारीले अन्त्य गरिदिएको छ ।

Published on: 18 October 2013 | Kantipur

Back to list

;