s

४५ हजार म्यादी प्रहरी राख्न स्वीकृति

काठमाडौ, भाद्र २८ -

सरकारले चुनावका लागि गृह मन्त्रालयलाई ४५ हजार म्यादी प्रहरी नियुक्त गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले गृह मन्त्रालयलाई म्यादी प्रहरी राख्न स्वीकृति दिएको हो ।

निर्वाचन आयोगले समेत सरकारलाई मतदान केन्द्रको सुरक्षाका लागि लागि आवश्यक संख्यामा म्यादी प्रहरी राख्न सहमति दिइसकेको छ । गृहले छिट्टै सार्वजनिक सूचना जारी गरी ७५ वटै जिल्लामा आवश्यकताअनुसार म्यादी प्रहरी भर्ना गरी तालिम दिने र चुनावमा परिचालन गर्ने जानकारी गृहका अधिकारीले दिए ।

गृहसचिवमा नेपाल 

मन्त्रिपरिषद्ले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जनार्दन नेपाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ । गृहसचिव नवीन घिमिरेले ५८ वर्ष उमेर पूरा गरी शुक्रबार अनिवार्य अवकाश पाएपछि उनको ठाउँमा नेपाललाई लगिएको हो । चुनावमा उम्मेदवारलाई निर्वाध प्रचार-प्रसार गर्न तथा मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने व्यवस्था गर्न प्रभावकारी सुरक्षा योजना बनाई लागू गर्नुपर्ने बेला गृह प्रशासनको कुनै अनुभव नभएका नेपाललाई गृहसचिवको जिम्मेवारी दिइएको हो ।

नेपाल शिक्षा सेवाका कर्मचारी हुन् । गृहका अनुभवी सचिवहरू सुशील घिमिरे, ध्रुव शर्मा, जयमुकुन्द खनाल, विश्वप्रकाश पण्डित र माधव रेग्मी हुँदाहुँदै सरकारले नेपाललाई गृहसचिव बनाएको हो ।

खतिवडाको राजीनामा स्वीकृत यसैबीच मन्त्रिपरिषद्ले शान्ति मन्त्रालयका सचिव धरणीधर खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

Published on: 14 September 2013 | Kantipur

Back to list

;