s

४५ भारतीय मजदुरको उद्धार

सप्तरीको पथ्थरगाढास्थित इँटा भट्टामा मजदुरीका लागि बन्धक बनाइएका ४५ जना भारतीय नागरिकको उद्धार गरिएको छ । भारत बिहारको नालन्दा र नवादा जिल्लाबाट आएका उनीहरूलाई सप्तरी प्रहरीले बिहीबार उद्धार गरेको हो । 
 
उद्धार गरिएकाहरूमा आमा वाबुसँगै १ देखि १५ वर्षका बालबालिका १८ र महिला १५ जना छन् । आफन्तले बिहार प्रशासनसमक्ष उजुरी दिएपछि भारतीय विदेश मन्त्रालयको चासो र भारतीय प्रशासनको आग्रह पछि प्रहरीले मुक्त गरेको हो । उनीहरूलाई सदरमुकाम राजविराज ल्याएको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्विवेदीले बताए । लामो समयदेखी भट्टा मालिकको प्रत्यक्ष निगरानीमा काम गर्नुपर्ने, कहीँ कतै जान नपाउने, घर जान खोज्दा जान नदिने, राति सुत्दा पहरा राख्नेलगायतका कार्यबाट आफूहरू पीडित भई बधुवा मजदुरसरह जीवन काटिरहेको ती मजदुरहरूले बताए । 
 
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार बिहीबार दिउँसो भारतीय प्रशासनले आफ्ना ४५ नागरिक बन्धक बनाइएकोबारे जानकारी गराएपछि प्रहरी परिचालन गरी सबै मजदुरलाई मुक्त गराई सदरमुकाम ल्याइएको हो । पीडितहरूले आफूहरूलाई नेपालसम्म ल्याउने भारतीय ठेकेदार विनोद रामले भट्टा मालिमसमक्ष बिक्री गरी फरार भएको आरोप लगाए । 
 
Published on: 23 June 2017 | Kantipur

Back to list

;