s

४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास, दूतावास भन्छ- डराउनुपर्दैन

११ फागुन, काठमाडौं । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् ।

कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको दूतावासका श्रम कन्सुलर डिल्लिराम बास्तोलाले जानकारी दिए ।

‘अहिलेसम्म कुनै नेपालीमा यस्तो संक्रमण भएको खबर छैन,’ उनले भने, ‘देशभर आइतबार मध्यान्हसम्म ५५६ जना संक्रमित भेटिएका छन् । ४ जनाको मृत्यु भएको छ । संक्रमण फैलिन सुरु गरेपछि सरकारले उच्च सतर्कता आपनाएको छ, हामी पनि नेपालीहरुलाई सचेत बनाउन लागेका छौं ।’

अहिले कोरोना प्रभावित शहरमा सरकारले नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ । भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सार्वजनिक स्थानहरु सुनसान बन्दै गएका छन् । सरकारले सञ्चार माध्यमार्फत बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न, मिचेर हात धुन आह्वान गर्दै सूचना र विज्ञापनहरु बजाइरहेका छन् ।

आइतबार नेपाली दूतावासले पनि कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ ।

कसैलाई स्वास्थ्यमा समस्या आए तुरुन्तै त्यहाँको हटलाइन १३३९मा कल गर्न आह्वान गरिएको छ । मोबाइलमा लगातार सचेतनामुलक सन्देशहरु पनि आइरहेको छ । शंकास्पद बिरामीलाई तुरुन्तै अस्पतालमा लगेर चेकजाँच गराउने काम सुरु भएको छ ।

कोरियाका पूर्वश्रम कन्सुलर अनिल गुरुङ कोरियामा कार्यरत कामदारलाई सचेत रहन सुझाव दिन्छन् । संयमित भएर त्यहाँको प्रशासनले आग्रह गरेबमोजिम गर्न कामदारलाई उनको आग्रह छ ।

के छ तयारी ?

कोरिया सरकारले नै उच्च सतर्कता अपनाएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको नेपाली दूतावासले बताएको छ । कुनै समस्या आए तुरुन्तै सरकारको हटलाइनमा खबर गर्न आग्रह गरिएको श्रम कन्सुलर बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।

‘आज बेलुका हामी सचेतनाका लागि के-के गर्ने भनेर गैरआवासीय नेपाली संघसँग पनि छलफल गर्दैछौं, हामीले फेसबुकमा कोरोनाबारे सचेतना दिने ग्रुप पनि बनाएर सन्देश प्रावाहित गर्न थालेका छौं,’ उनले भने । कुनै व्यक्ति संक्रमित पुष्टी हुनासाथ उसको सम्पर्कमा आएका सबै व्यक्तिलाई चेकजाँच गर्न थालिएको छ ।

कोरियामा हाल ४४ हजार नेपालीको बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरु छन् भने विद्यार्थीसहित अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेकाहरु पनि छन् ।

अहिले बढी प्रभावित थेगु आसपासका क्षेत्रका कम्पनीहरुले कामदारलाई बाहिर जान रोकेका छन् । त्यहाँका बजारहरु सुनसान बनेका छन् । कतिपय उपभोग्य सामानहरु पाइन छाडेको गुनासो सुनिन थालेको छ । थेगु र आसपासका शहरहरुमा करिब ७ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

कन्सुलर बास्तोलाले संक्रमण फैलन थालेपछि दूतावासमा बाक्लो मात्रामा कामदारहरुको फोन आउन थालेको जानकारी दिए । उनीहरुलाई दूतावासले सुरक्षित रहने उपायहरु सुझाइरहेको छ ।

‘हामी विज्ञसहितको हटलाइन राख्ने कि भन्ने सोचमा छौं, निर्णय भएको छैन,’ उनले भने, ‘एनआरएनएसँग छलफलपछि सचेतना फैलाउन अरु केही कदम चाल्न सकिन्छ कि भनेर पनि विचार गर्छौं ।’

दूतावासले अहिलेसम्म कुनै आपतकालीन अवस्था आए के गर्ने भन्ने योजना भने बनाएको छैन । कोरिया सरकारले नै पर्याप्त सचेतता अपनाएकाले हतार नगरिएको दूतावासको भनाइ छ ।

श्रम कन्सुलर बास्तोला कोरियामा कामदार रहेका आफन्तलाई नआत्तिन आग्रह गर्छन् । उनले कोरियाली सरकारले विदेशी कामदारलाई पनि स्वदेशीजत्तिकै सुरक्षित राख्ने गरी विभिन्न प्रयास गरेकाले डराइहाल्न नपर्ने उनको दाबी छ ।

‘कुनै आपत आइहाले के गर्ने भन्ने विषयमा कार्यवाहक राजदूतसहित हामी सबै पक्षले छलफल गर्दैछौं,’ उनले भने, ‘अहिले आंशका गर्ने भन्दा पनि चेतना फैलाउने समय हो, हामी त्यतापटि्ट बढी केन्द्रित छौं ।’

Published on: 23 February 2020 | Onlinekhabar

Link

Back to list

;