s

४३ नेपाली ८ महिनादेखि भारतीय जेलमा

खगेन्द्र अवस्थी 

खेतीपातीले घर खर्च धान्न नसक्दा मजदुरी गर्न भारत, हिमाञ्चल पुगेका डिलासैनी ४ का गोपाल साउद उतै जेल परेका छन् । ७ जनाको परिवारमा कमाउने एक्लो छोरा जेल पर्दा परिवारमा बिजोग छ । ‘घर खर्च नचल्दा भारत गएको हो, जेल पुगेको खबर आयो,’ बुबा धनसिंहले भने, ‘घर फर्कने अझै टुंगो छैन, नुनतेल जुटाउन नसकेका बेला उता गएर भेट्न सक्ने अवस्था पनि रहेन ।’

हिमाञ्चल प्रदेशको एक हाइड्रोपावरमा काम गर्ने ४३ नेपाली मजदुर गत जुलाईदेखि जेलमा छन् । साउदलगायत ती सबै मजदुर किन्नोर जिल्लाको पटेल इन्जिनियरिङ कम्पनीले निर्माण गर्न लागेको ४ सय ५० मेगावाटको समथङ हाइड्रोपावरमा काम गर्थे । उनीहरू सबैलाई उन्ना र विलासपुर जिल्लाका जेलमा राखिएको आफन्तले बताए ।

निर्माणाधीन जलविद्युत्को ड्याम निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्डअनुसार तलब, भत्ता, बिदा, ओभराटाइम सुविधालगायत माग राख्दै भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेन्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआईटीयू) को नेतृत्वमा मार्च २०१६ देखि हडताल गरेका थिए । ‘६ महिनासम्म काम गर्‍यौं, सरकारी मापदण्डअनुसार सुविधा मागेर भारतीयसँगै आन्दोलन गर्दा जेल पुगें,’ उक्त कम्पनीमा मजदुरी गरेर घर फर्केका तल्लादेहीका रतन पुजाराले भने, ‘कुटपिट र झगडा गरेको मुद्दामा थुनामा परे, छुटाउन धरौटी राख्न सक्ने अवस्था भएन ।’ 

जेलमा बैतडी, कञ्चनपुर, कैलाली, दाङ र चितवनलगायत १४ जिल्लाका नेपाली छन् । रोल्पाका सुनिल थापा मगर, सोलुखुम्बुका प्रशान्त राई लगायतका ५ नेपाली धरौटीमा छुटेको पुजाराले बताए । नियमित तलबसमेत नदिँदा समस्या भए पनि भारतीय मजदुरसित मिलेर आन्दोलन गर्न बाध्य भएको पुजाराले बताए । ‘४ महिनामा मासिक १० हजारका दरले ज्याला पाउँथ्यौं, सरकारी दरअनुसार २२ हजार र मासिक रूपमा पाउनुपर्ने माग थियो,’ उनले भने, ‘कम्पनीले नमान्दा उल्टै मुद्दा लगाएर जेल पुर्‍यायो ।’

उक्त निर्माण कम्पनीले आन्दोलन चलेकै बेला बाहिरबाट अन्य मजदुर बोलाएर काम गर्न थाल्दा आन्दोलनमा रहेका र नयाँ कामदारबीच झडप र कुटपिट भएको थियो । नयाँ मजदुरलाई काम गर्न नदिने भन्दै पुरानाले विरोध गरेका थिए । विरोधका बेला कुटपिट र झगडा गरेको आरोपमा आन्दोलनमा संलग्न करिब १ सय बढी नेपाली र भारतीय मजदुर पक्राउ परेका थिए । ५ जना नेपाली र केही भारतीय मजदुर धरौटीमा छुटेका छन् । अन्य नेपालीले धरौटी राख्ने व्यवस्था नहुँदा जेलमै बस्नुपरेको मजदुर संगठनका कुल्लु जिल्ला पूर्वउपाध्यक्ष तथा डिलासैनीका दानसिंह साउदले बताए । भारतमै आफन्त भए मात्रै धरौटीमा छुटाउन सकिने व्यवस्था छ । मजदुर संगठनले उनीहरूका पक्षमा मुद्दा लड्दै आए पनि रिहाइको एकिन नभएको दानसिंहले बताए । 

जेलबाट छुट्ने टुंगो नहुँदा परिवारमा अन्योल छ । उनीहरूले रिहाइको पहल गर्न माग गरेका छन् । मानव अधिकार आयोग, दिल्लीस्थित नेपाली दूतावास लगायतका निकायमा रिहाइको माग गरेको आफन्तले बताए । राम्रो कमाइ हुने आशामा हिमाञ्चल पुगेकाहरू उतै जेल परेपछि घर खर्च चलाउन समस्या भएको आफन्तले बताए । ‘घरमा छोराछोरी र महिला मात्रै छन्,’ डिलासैनीका धनदेव जोशीले भने, ‘कमाउन गएका घरमूली जेल पुग्दा खर्च चलाउन समस्या भएको छ ।’ 

३६ वर्षपछि जेल चलान
रुकुम– २०३७ साल कात्तिक ३ गते भएको भेरीडाँडा हत्या काण्डका अभियुक्त घटनाको ३६ वर्षपछि जेल चलान भएका छन् । चुनबाङ–४ भेरीडाँडामा भएको सामूहिक हत्याकाण्डमा सहायक अभियुक्त ठहर्‍याइएका रुँघा–६ का ६० वर्षीय धनबहादुर खत्री फागुन १ गते रुकुम कारागार चलान भएका हुन् । घटना भएको २२ दिनपछि २०३७ कात्तिक २५ गते रुकुम जिल्ला अदालतले मनबहादुर खत्री र धनबहादुरलाई थुनेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

 जिल्ला अदालतको फैसला बमोजिम ६ महिना जेल बसेका दुवैजना तत्कालीन क्षेत्रीय अदालतको आदेशले छुटेका थिए । क्षेत्रीय अदालतको फैसलाको पर्सिपल्ट २०३८ कात्तिक २१ गते सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेको थियो । २०४० जेठ ३१ गते रुकुम जिल्ला अदालते गरेको फैसलाअनुसार मनबहादुरलाई सवस्र्वसहित जन्मकैद तथा धनबहादुरलाई ५ वर्ष कैद फैसला सुनाएको थियो । रुकुम जिल्ला अदालतका अनुसार मनबहादुर खत्री अझै बेपत्ताकै सूचीमा छन् । २०४२ असार ३ गते सर्वोच्च अदालतको अन्तिम फैसलाले पनि जिल्लाकै फैसला सदर गरेको थियो । 

क्षेत्रीय अदालतको आदेशपछि छुटेका दुवै जना त्यसपछि भारत पसेका थिए । धनबहादुर फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई गत माघ २७ गते घरबाटै पक्रेको थियो ।

Published on: 15 February 2017 | Kantipur

Back to list

;